सर्भाइबल फाउण्डेशनले  दुई हजार ५०० सर्बसाधरणालाई ठगी !

सर्भाइबल फाउण्डेशनले  दुई हजार ५०० सर्बसाधरणालाई ठगी !

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण १०, २०७६

काठमाडौँ । सर्भाइबल फाउण्डेशन नामक स‌ंस्था  एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि  पाँच हजार आउँछ भन्दै पैसा भनी सङ्कलन गरी ठगी गर्ने  स‌ंस्थाका पदािधकारीहरुलाई गिरफ्तार गरेको छ ।  

स‌ंस्थाकाे यस्तो कार्यबाट  दुई हजार ५०० भन्दा बढी स्थानीय पीडित बन्न पुगेका छन् । घटना काठमाडौँस्थित कोटेश्वरको हो । सर्भाइबल फाउण्डेशन नामक संस्थाले बालबालिकालाई पठनपाठनका लागि विदेशबाट पैसा आउने लोभ देखाएर हरेक व्यक्तिसँग  एक–एक हजारका दरले रकम उठाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म उनीहरूबाट झन्डै २५ लाख उठाइ सकिएको  पाइएको छ । अन्य सयौँ व्यक्तिसँग पनि  एक हजारका दरले लाखौँ पैसा उठाएको भन्ने जानकारी आएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 'पैसा लिएको भनेर धेरैको निवेदन आएको छ, ठग्ने मनसायले नै गरिबसँग पैसा लिएको देखिन्छ, अनुसन्धान पछि धेरै कुरा बाहिर आउँला', बोगटीले भन्नुभयो । नेटवर्किङ व्यवसायको नाममा करोड रुपैयाँ ठगी गरेको घटना यसअघि पटक पटक भएको थियो । त्यस्ता घटना अहिले अलि सेलाएको छ । यस पटक अलि फरक किसिमबाट गरिब तथा विपन्न समुदायलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ सङ्कलन गरेको घटना सार्वजनिक भएको छ ।

सर्भाइबल फाउण्डेशनले बालबालिकाको रजिष्ट्रेशनका लागि भन्दै व्यक्तिबाट रु एक हजारका दरले पैसा असुलेको हो । विदेशबाट पैसा आएपछि  पाँच हजारका दरले दिने भनेकाले आफूहरूले कागजपत्रसहित एक हजार दिएको बानेश्वर प्रहरी वृत्तमा पैसा फिर्ता माग गर्दै आइपुग्नु भएकी एक महिलाले बताउनुभयो । सयौँ महिला पैसा र कागजात फिर्ताको माग गर्दै प्रहरीमा आइपुगेका छन् । कुनै पनि संस्थाले यसरी पैसा उठाउन पाउने कानुनी प्रावधान नभएको प्रहरीको दाबी छ । 

स्थाविरुद्ध ठगी गरेको भन्दै केही व्यक्तिले उजुरी गरेपछि प्रहरीले संस्थाका चार जना पदाधिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेका संस्थाका अध्यक्ष आइस्था परियार, प्रमुख कार्यकारी अधिकृत ईश्वरसिंह राउत, उपाध्यक्ष सोमरसिंह घलान र कोषाध्यक्ष विष्णुमाया दाहाल छन् । उनीहरूलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । 

संस्थाका महासचिव तेजबहादुर कार्की फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाले सबै काम कार्कीले गरेको भनेर बताइरहेको प्रहरीले बताएको छ । उक्त संस्थाले बढी पैसा आउने भन्दै रजिष्ट्रेशन शुल्कको नाममा पैसा असुलेको पाइयो, अहिलेसम्म झन्डै दुई हजार ५०० को नाम दर्ता भएको फाइल हामीले बरामद गरेका छौँ, ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान गर्दछौँ”, वृत्तका प्रहरी नायव उपरीक्षक रेग्मीले भन्नुभयो । 

स्थानीयका अनुसार झन्डै चार हजार व्यक्तिसँग पैसा असुल गरिएको छ । कतिलाई रसिद दिइएको छ भने कतिबाट त्यसै पैसा सङ्कलन गरिएको छ । प्रहरीको अनुसन्धानले रु २५ लाख रकम उठाएको अनुमान छ । उनीहरू पक्राउ परेपछि पैसा बुझाएका रकम र बुझाइएको व्यक्तिगत विवरण फिर्ताको माग गर्दै प्रहरीमा पुगेका छन् । संस्था भने समाज कल्याण परिषद्मा गैरनाफामुखी भनेर एक वर्षअघि दर्ता भएको पाइएको छ । बालबालिकाको विवरण पठाएपछि विदेशबाट पैसा आउने र त्यही पैसा वितरण गर्ने लोभमा गरिब परिवारले पैसा दिएको पाइएको प्रहरीले जनाएको छ ।