स्ट्रोक आउनै नदिनु बुद्धिमानी हुन्छ

प्रा. डा. रविन्द्र श्रेष्ठ, 

प्रमुख, न्यूरोलोजी विभाग, काठमाडौं मेडिकल कलेज

स्नायु तथा मस्तिष्क सम्बन्धि रोगका दिनानु दिन बढ्दै गइरेहका छन । पछिल्लो समयमा अस्पतालहरुले यस रोगलाई अलग्गै विभाग बनाएर नै उपचारलाई प्रथामिक्ता दिन थालेको अवस्थामा काठमाडौं मेडिकल कलेजका प्रा.डा रविन्द्र श्रेष्ठसँग लोकसंवाद डट कमले स्नायु तथा मस्तिष्क सम्बन्धि रोगमा केन्द्रीत रहेर छोटो कुराकानी गरेको थियो । प्रस्तुत छ उक्त कुराकानीको मूलअंशः

अहिले हामीकहाँ न्युरो रोगकोे समस्या कुन अवस्थामा   छ ?

न्युरोलोजी अथवा स्नायु तथा मस्तिष्क सम्बन्धि रोग पहिले आम जनरल मेडिसिन अन्र्तगत राखेर हेर्ने गरिन्थ्यो । त्यसैले गर्दा विशेषज्ञ उपचारको रुपमा नै लिने गरिएको थिएन । तर आजभोली यो हदसम्म विरामी बढे कि हरेक अस्पतालहरुले विभाग नै खडा गर्नुपर्ने अवस्था सृजना भएको छ । म कार्यरत कलेजले अहिले काठमाण्डौ मेडिकल कलेजमा न्युरोलोजी विभाग अन्र्तगत स्पेशल ब्रान्च नै राखिएको छ । त्यसको चिफको रुपमा म कार्यरत छु । छुट्टै डिर्पाटमेण्टको रुपमा रहेपछि स्नायु रोगलाई गहिरोसंग हेर्ने र उपचार गर्ने विधिको शुरुवात भएको छ ।

बिमारी बढ्ने क्रम कस्तो छ ?

हामीसंग पुष्टि नै हुने खालको तथ्यांक त छैन । तर जसरी अहिले अरु रोगहरुमा वृद्धि देखिएको छ यसमा पनि त्यस्तै वृद्धि  हुने क्रम देखिन्छ ।

वृद्धि हुनुको कारण के हो  ?

प्यारालाइसिस अथवा स्ट्रोक (रोग) संसारकै मृत्युको दोश्रो कारण हो । कुनै पनि हस्पिटल अथवा मेडिकल कलेजमा भर्ना भएका रोगमा ४० प्रतिशत जति स्ट्रोकको कारण देखिन्छ । २० प्रतिशतको जतिको देहान्त हुन्छ भने बाँच्नेहरु मध्ये ५० प्रतिशत जतिको अंगभंग हुनेगर्छ । जसमा प्यारालाइसिस हुने, बोली बन्द हुने, पिसाब गडबड हुने, खान नसक्ने आदि समस्या झेल्नु पर्नेहुन्छ । स्नायु रोगमा सबैभन्दा भयानक समस्या चांहि स्ट्रोकलाई नै मानिन्छ । १ लाख मानिसमा  १८० देखि ३०० जना सम्मलाई यो समस्या हुने गर्छ । यो समस्या वा रोग देखा पर्नुमा  ब्लड प्रेसर, सुगर र तनाव यसको मूख्य कारण मानिन्छ । त्यसमा धुम्रपान, मद्यपान र कोलेस्ट्रोल पनि अर्को कारण हो । जीवन शैलीमा आएको परिवर्तन, खानपान, तनाव र व्यायाम नहुनुलाई यसको मुख्य कारण हुन ।

तौल धेरै नभएको मानिसमा पनि यो समस्या देखिने गरेको छ यसको कारण चाँही के हो ?

मोटोपन धेरै कारणहरु मध्ये एउटा कारण हो । अघि भनियो धुम्रपान, मद्यपान, तनाव, व्यायामको कमी आदि कारणले यो स्ट्रोक हुने गर्छ । पहिले ६० वर्षको हाराहारीका मान्छेमा यो धेरै देखिन्थ्यो भने अहिले युवा तथा ४० वर्षको हाराहारीमा यो रोग देखिने गरेको छ ।

हामीले यसलाई शिक्षाका रुपमा किन समावेश गर्न सकेनौं ?

हामी डाक्टरहरु पनि निदान भन्दा पनि उपचार तिर लाग्यौं । एउटा कमजोरी त त्यो पनि होला । रोकथामका कार्यक्रमहरु पनि तिव्रताका साथ अगाडी बढाउनु पर्ने देखिन्छ ।

स्ट्रोक  नआउने वा रोकथामका रुपमा हामीले के गर्नुपर्ला ?

विद्यालयको पाठ्यक्रममा रोकथामका उपायबारे जानकारी दिने तथा स्वस्थ जीवन यापन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी मात्रै नभएर एउटा अभियान नै चलाउनु आवश्यक छ । त्यसले यो मात्रै होइन अन्य रोग लाग्न दिंदैन र यसका कारणहरु नै नभएपछि त स्ट्रोक हुने भन्ने सम्भावना नरहने भयो ।

२०वर्ष मुनिकाहरुलाई स्ट्रोक हुने सम्भावना कत्तिको हुन्छ ?

नहुने नै त होइन तर अत्यन्त कम हुन्छ । यदि उनीहरुको स्नायुमा जन्मैदेखि असामान्य तरिकाले विकास भएको छ भने हुने सम्भावना रहन्छ अन्यथा हुँदैन ।

चिकित्सा शिक्षा त छँदैछ यसमा रोकथामका कुरामा कमि छ कि छैन ?

हाम्रो मूख्य चासो भनेको त उपचार नै हो । तर अब भने उपचारको पाटो मात्र नभएर रोकथामको कुरामा पनि जोड दिने त्यस सम्बन्धि चेतना फैलाउनु जरुरी छ ।

हामीले शिक्षामा बढी जोडदिनु पर्ने देखिन्छ उसो भए ?

शिक्षाले एकदमै ठूलो भूमिका खेल्छ । अहिले भएको भन्दा बढी नै जोड हामीले रोकथाममा दिनुपर्ने देखिन्छ ।

सामान्य मानिसलाई कत्तिको उपचार गर्न सम्भव छ यो ?

उपचारका हिसाबले भन्नुपर्दा यो रोग महंगो नै छ । अर्को कुरा यसमा जो बाँच्छ उसको अंगभंग हुने हुनाले काम गर्न सक्दैन भने अरुले हेरविचार गर्नुपर्ने हुनाले थप बोझ पनि थपिन जान्छ ।

आम मान्छेलाई यसबाट जोगिन के अपिल गर्न सकिन्छ ?

मूख्य भनेकै आफ्नो जीवनशैलीमा सुधार गर्ने । स्वस्थ खाना खाने । धुम्रपान, मद्यपानबाट टाढा रहने । तनाव व्यवस्थापनका उपाय अपनाउने । यदि प्रेसर, सुगर आदि जस्ता विमारी छ भने बेला बेलामा जचाएर जानकारी लिने आदि गरेमा पनि यसबाट जोगिन धेरै मद्दत गर्छ ।