एचआइभीकोे नयाँ उपचार पद्धति

एचआइभीकोे नयाँ उपचार पद्धति

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १०, २०७६

वैज्ञानिकहरूले भ्याक्सिनयुक्त एउटा यस्तो यन्त्र बनाउने सफलता प्राप्त गरेका छन्, जसलाई शरीरमा प्रत्यारोपित गरेर एक वर्षसम्म एचआइभी एड्सको जोखिमबाट जोगिन सकिन्छ ।

पेरिस, (एएफपी) । संसारभरका वैज्ञानिक एचआइभी एड्सको रोकथाम र यसको सफल उपचारका लागि निरन्तर प्रयास गर्दै आइरहेका छन् । उनीहरूको प्रयास एचआइभी एड्सग्रस्त रोगीलाई सकभर पूर्णतया निको बनाउनु रहेको छ । अब आएर यस दिशामा महत्वपूर्ण उपलब्धि प्राप्त भएको छ । वैज्ञानिकहरूले सलाइको काँटी आकारको भ्याक्सिनयुक्त एउटा यस्तो ‘डिभाइस’ विकसित गरेका छन्, जसलाई शरीरमा प्रत्यारोपित गरेर एक वर्षसम्म एचआइभी एड्सको खतराबाट मुक्ति पाउन सकिन्छ । 

यस आविष्कारले एचआइभी एड्स रोकथाम गर्ने दिशामा आशा पलाएको छ । एचआइभी एड्सका जुन रोगी ट्याब्लेट र इंन्जेक्सनको सहायताले बाँचिरहेका छन्, त्यस्ता रोगीका लागि यो उपचार पद्धति अति उपयोगी हुने बताइएको छ । 

मेक्सिको सिटीमा आयोजित १० औं अन्तर्राष्ट्रिय एड्स सोसाइटीको सम्मेलनमा एकत्रित भएका शोधकर्ताका अनुसार ‘सम्पन्न भएका ‘क्लिनिकल ट्रायल’को निष्कर्ष’ले यस पद्धतिबाट एचआइभी एड्स संक्रमणलाई रोक्न सकिन्छ । यो उपचार पद्धति विकसित गर्ने शोधकर्ताका अनुसार यस ‘डिभाइस’मा ‘एमके–८५९१’ नामक अणु उपयोगमा ल्याइएको छ । यो ‘डिभाइस’ बजारमा उपलब्ध एचआइभी एड्स प्रतिरोधी औषधिको तुलनामा १० गुणा बढी प्रभावकारी छ । 

‘ग्लोबल क्लिनिकल डेभलपमेन्ट फर वायरोलोजी’का निर्देशक राबर्टसनले भने– यस ‘डिभाइस’ले शरीरमा एक निश्चित मात्रामा विस्तारै औषधि वितरण गरिरहन्छ, यसले संक्रमण हुने खतरालाई लामो अवधिसम्म रोकथाम गर्छ । उनका अनुसार अहिले प्रचलित उपचार पद्धतिमा रोगीले प्रत्येक दिन एचआइभी एड्स प्रतिरोधक औषधि खानुपर्छ । तर, यस ‘डिभाइस’लाई शरीरमा प्रत्यारोपित गरेपछि एक वर्षसम्म कुनै औषधि खानुपर्दैन ।