खगोलविज्ञान र १०८ को मिथ

खगोलविज्ञान र १०८ को मिथ

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण १०, २०७६

विज्ञान विषयक लेखनको आनन्द र शून्यता (म आनन्दको विपरीत दुःख भन्दिनँ) गजबकै महसुस हुन्छ । लेखिसकेपछि मलाई आनन्द होइन, शून्यता अनुभव हुन्छ । आनन्द त ‘प्रोसेस’मै हुन्छ । अर्थात् लेखन अवधिभर आनन्दित अनुभव गरिरहेको हुन्छु । तर, शून्यता सधैं हात लाग्छ भन्ने निश्चित हुन्न । अलिकति ‘भल्गर’ भएकोमा क्षमा गर्नुहोला, यतिखेर मस्तिष्कमा अन्य कुनै बिम्ब आउन सकेन । विज्ञान लेखन मेरा लागि रतिक्रीडा हो । सन्दर्भ सामग्री र तत्सम्बन्धी तथ्य खोज्न इन्टरनेटको महाभुमरीमा संयम र अधीरताका साथ चञ्चल मेरो चेतना विचरण षोडषीको नख–शिख मर्दन सदृश्य नै हो । यहाँ चेतना र ऊर्जाको ऊध्र्व र ऊध्र्वगमन मात्रै हुन्छ । 

तान्त्रिक रतिक्रीडा र सामान्य रतिक्रीडामा यही त भेद छ । सामान्यजनले यस्ता क्रियाकलापमा स्खलनपछि सुखानुभूति गर्छन्, ऊर्जाको बहिर्गमनमा सुख अनुभव गर्छन् । तर, तन्त्रवेत्ताले प्रत्येक क्रीडामा स्खलन हुन दिन्नन् । क्रीडाको चरम विन्दुसम्म पुगेर अन्तिम घडीमा ऊर्जा संरक्षण गर्ने होश राख्छन् । उनीहरूका लागि आनन्द ‘प्रोसेस’मै रहेको हुन्छ । महिना वा १५ दिन कहिलेकाहीँ ऊर्जा बहिर्गमन गरेर शून्यता अनुभव लिन्छन् । 

तनाव दुःखमा मात्रै होइन, सुख र आनन्दमा पनि एक किसिमको तनाव हुन्छ । हजुर, आनन्दमा पनि तनाव हुन्छ ! जान्नेहरूले यस कारण नै समाधिका दुइटा भेद गरेका छन् । शून्य परम हो, शून्यावस्था नै तनावरहित अवस्था हो । 

विज्ञान लेखन मेरा लागि शून्यताको यात्रा हो । कुनै–कुनै लेख पूर्ण हुँदा म शून्यता अनुभव गर्छु । तीन–चार दिनसम्म मस्तिष्कमा कुनै विचारले आकार ग्रहण गर्न पाउँदैनन् । यस्तोमा अर्को कुनै लेख लेख्ने ‘तानाबाना’ नै बन्दैन । 

यस्तो बेला सहायक हुन्छन् मेरा मित्रहरू, जसले कुनै विषयमा गफ, चर्चा र विवाद गरेर लेख्ने ‘टपिक’ जुराइदिन्छन् । फेसबुकका मित्रहरू पनि यस कार्यमा मलाई यथेष्ट सहयोग गर्छन् । यस्तै, फेसबुकमा एक जना मित्र हुनुहुन्छ, प्रदीप श्रेष्ठ । उनले ‘पोस्ट’ गरेको एउटा फोटोले मलाई एउटा लेख्ने ‘टपिक’ दियो । 

चित्रमा केही खास छैन, एउटा निर्जन स्थानमा कुकुर माटो अथवा बालुवा खोस्रिरहेको छ । चित्र सामान्य नै हो । लाग्छ– पृथ्वीको कुनै स्थान होला । तर, त्यो चित्रको आकाशमा देखिएको आकाशीय पिण्डको अवलोकन गर्दा परिस्थिति फरक हुन जान्छ । अब यो चित्र पृथ्वीको हो भन्ने अवस्था ओझेल हुन्छ । किनकि चित्रको आकाशमा देखिएको खगोलीय पिण्ड स्वयं पृथ्वी नै हो । 

सौर्यमण्डलका ज्ञात सबै पिण्डहरूको धरातलबाट आकाशमा देखिने पृथ्वीको आकारले गर्दा सहजै ज्ञान हुन आउँछ– यो चित्र कुन खगोलीय पिण्डको हो । देखिनलाई जसरी पृथ्वी सतहबाट हामी सौर्यमण्डलका सबै पिण्ड बुध, शुक्र, मंगल, बृहस्पति, शनि र चन्द्रमा देख्छौं, त्यसरी नै ती पिण्डको धरातलबाट पृथ्वी देखिन्छ । पृथ्वीको धरातलबाट आकाशमा देखिने समस्त आकाशीय पिण्डहरूमा दुइटा पिण्ड अन्य पिण्डहरूको तुलनामा अत्यन्त ठूला देखिन्छन् । यी दुई पिण्ड ठूलो देखिनुको कारण एकको सन्दर्भमा दूरी र अर्काको सन्दर्भमा कारण भने उसको विशालकाय आकार हुनु हो ।  

पहिला संक्षिप्त चर्चा दोस्रो पिण्डबारे गरौं । पृथ्वी र यस दोस्रो पिण्डका बीच सरदर दूरी १४ करोड ९६ लाख किमि छ । यो दूरी यति छ कि यसका मध्य पृथ्वीको आकारको ११ हजार ७ सय ४० संरचना अट्न सक्छन् । 

सम्पूर्ण सौर्यमण्डलमा प्रकाशको स्रोत एकमात्र यही पिण्ड हो । यसबाट उत्सर्जित हुने प्रकाशले नै पृथ्वीलगायत यावतका अन्य पिण्डमा उज्यालो र ताप सम्भव भएको हो । यसको आकारबारे बुझ्नुस्, हामी बसेको पृथ्वीको डायमिटर १२ हजार ७ सय ४२ किमि छ भने यसको (सूर्यको) डायमिटर १३ लाख ९२ हजार किमि छ । पृथ्वीरूपी गोलो गुच्चाको तुलनामा सूर्यरूपी गुच्चा १ सय ९ गुणा ठूलो छ । सूर्यरूपी गुच्चामा बृहस्पति, शनि, अरूण, वरूण लगायतको ठूला ‘गुच्चा’ मात्रै होइन, अन्य सबै ग्रहरुपी गुच्चाका अतिरिक्त ज्ञात–अज्ञात सबै उपग्रह, क्षुद्रग्रह, उल्का, ग्रहिका (एस्टेरायड) धु्रमकेतु (कमेट) अटाएर पनि आधीभन्दा बढी खाली स्थान बाँकी रहन्छ । 

सम्पूर्ण सौर्यमण्डलको कुल द्र्रव्यमान (मास)को ९९.८ प्रतिशत द्रव्यमान सूर्यसँग नै रहेको छ । पृथ्वीसँग तुलना गर्दा सूर्यको द्रव्यमान ३ लाख ३२ हजार ९ सय ४६ गुणा बढी छ । सूर्यभित्र पृथ्वीजस्ता १३ लाख संरचना अट्न सक्छन् । हामी जसलाई जीवन भनी बुझ्छौं, त्यस्ता समस्तखाले जीवनको स्रोत सूर्यमा हुने नाभिकीय प्रक्रियाको परिणामस्वरूप हो । यस प्रक्रियामा हाइड्रोजनका दुइटा अणु जोडिएर हिलियममा रूपान्तरित हुन्छन् र अथाह ऊर्जा निष्कासित हुन्छ । सूर्यबाट उत्सर्जित यही ऊर्जा नै समस्तखाले जीवनको आधार हो । 

पृथ्वीबाट करोडौं किमि टाडा भए पनि सूर्य ठूलो देखिनुको कारण उसको भीमकाय आकारले गर्दा हो । तर, यो दूरी बढ्दै गएमा उसको (सूर्यको) आकार सानो हुँदै जान्छ, जस्तो ः सूर्य र बृहस्पति ग्रह बीचको औसत दूरी ७७ करोड ८५ लाख ४७ हजार २ सय किमि छ । पृथ्वीलाई सूर्यको परिक्रमा गर्न ३६५ दिन लागेजस्तै बृहस्पतिलाई सूर्यको एक परिक्रमा गर्न १० हजार ४ सय ७५ दिन (४ हजार ३ सय ३२ पृथ्वी–दिन)को समय लाग्छ । बृहस्पति ग्रहबाट सूर्यको देखिने आकार पृथ्वीबाट देखिने आकारको जम्मा २० प्रतिशत मात्रै हुन्छ, भनौं पाँच गुणा सानो देखिन्छ पृथ्वीबाट देखिने सूर्यको तुलनामा बृहस्पतिबाट देखिने सूर्य । 
ज्ञात सबैभन्दा टाढाको ग्रह (क्षुद्रग्रह) यम (प्लुटो)बाट देखिने सूर्यको आकार भने हामीले पृथ्वीबाट हेर्ने आकारको १/४० भाग मात्रै हुन्छ । भनौं, हामीले हेर्ने तारा आकारको मात्रै देखिन्छ, प्लुटोबाट सूर्यको आकार । र, प्लुटोमा पर्ने सूर्य प्रकाशको चमक पृथ्वीभन्दा १६ सय गुणा मधुरो हुन्छ । यो भनेको पृथ्वीमा हुने पूर्णिमाको चमकभन्दा २ सय ५० गुणा चम्किलो हो । 

बृहस्पति ग्रहको चन्द्रमाबाट देखिने सूर्यको आकार । 

सूर्य पृथ्वीबाट ठूलो देखिनुको कारण उसको ठूलो आकार हुनु हो । यसैगरी पृथ्वीबाट ठूलो देखिने अर्को खगोलीय पिण्ड चन्द्रमा पृथ्वीबाट नजिक भएका कारणले ठूलो देखिन्छ । चन्द्रमा र पृथ्वीको औसत दूरी ३ लाख ८४ हजार ४ सय किमि हो । चन्द्रमाले पृथ्वीको परिक्रममा गर्दा यो दूरी थपघट भइरहन्छ । पृथ्वीको नजिक हुँदा यो दूरी ३ लाख ५६ हजार किमि र टाढा हुँदा दूरी बढेर ४ लाख ६ हजार ७ सय किमि पुग्छ । चन्द्रमा पृथ्वीको नजिक हुँदा हुने पूर्णिमामा चन्द्रमाको आकार ठूलो देखिनुका साथै प्रकाश पनि बढी हुने गर्छ । 

हुनत चन्द्रमा पृथ्वीको आकारको झन्डै एक चौथाइ मात्रै हो । चन्द्रमाको डायमिटर ३ हजार ४ सय ७५ किमि छ । यो पृथ्वीको डायमिटरको तुलनामा २७.२७ प्रतिशत मात्रै हो । जसरी हामी पृथ्वीबाट दुइटा ठूलो पिण्ड सूर्य र चन्द्रमा हेर्न पाउँछौं । त्यसरी नै चन्द्र धरातलबाट दुइटा ठूला पिण्ड सूर्य र पृथ्वी देखिन्छन् । चन्द्रमाबाट सूर्यको दूरी पृथ्वी र सूर्यको दूरीको समतुल्य नै हो । त्यसकारण चन्द्रमाबाट देखिने सूर्यको आकार पृथ्वीबाट देखिने सूर्य जत्रै हुन्छ । तर, चन्द्रमाको धरातलबाट पृथ्वी भने पृथ्वीबाट देखिने चन्द्रमाको आकारभन्दा ठूलो हुन्छ । भनौं पृथ्वीबाट देखिने चन्द्र आकारभन्दा झन्डै चार गुणा ठूलो देखिन्छ पृथ्वी चन्द्र धरातलबाट । 

चन्द्रमाबाट देखिने पृथ्वीको रंग नीलो हुन्छ । चन्द्रमाबाट मात्रै किन जुनसुकै खगोलीय पिण्डबाट हेर्दा पनि पृथ्वी नीलो नै देखिन्छ । यसको कारण पृथ्वीमा रहेको पानीको अथाह उपलब्धता हुनु हो । पृथ्वीको कुल क्षेत्रफलमा ७०.८ प्रतिशत अर्थात् ३६ करोड ११ लाख ३२ हजार वर्ग किमिमा महासागरको उपस्थिति छ । भू–भाग भने २९.२ प्रतिशत अर्थात् १४ करोड ८९ लाख ४० हजार वर्ग किमि मात्रै छ । यसै पानीका कारण पृथ्वी बाहिरबाट हेर्दा पृथ्वी नीलो देखिन्छ । 

पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डमध्ये चन्द्रमामा मात्रै मानवले पाइला टेक्ने सफलता पाएको छ । ५० वर्षपहिला २१ जुलाई १९६९ का दिन निल आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्र धरातलमा टेकेका थिए । अहिलेसम्म १२ चन्द्र अमेरिकी नागरिकले चन्द्र धरातल टेक्ने सौभाग्य पाएका छन् । 

पृथ्वी र सूर्यको दूरी १४ करोड ९६ लाख किमिमध्ये १२ हजार ७ सय ४२ किमि डायमिटर भएको पृथ्वी एकमाथि अर्को राख्दै जाँदा ११ हजार ७ सय ४० पृथ्वी अट्छन् । यसैगरी यो दूरीबीच १३ लाख ९२ हजार किमि डायमिटर भएको सूर्य राख्ने हो भने १०७ सूर्य अटाउँछन् । यही हिसाबले सूर्यको डायमिटर १३ लाख ९२ हजारमा १२ हजार ७ सय ४२ किमि डायमिटर भएको पृथ्वीलाई ‘फेस टु फेस’ राख्ने हो भने १०९ पृथ्वी राख्न सकिन्छ । 

यो मिथ पनि तोडौं 

तपाईंहरूले विभिन्न धार्मिक महाशयहरूबाट १०८ संख्याको महत्वबारे अनेकन कथा सुन्नु/पढ्नुभएको होला । यस्तै १०८ को महत्व स्थापित गर्न उनीहरू प्रवचन गर्छन्– पृथ्वी र चन्द्रमाको दूरी बीच १०८ पृथ्वी अथवा चन्द्रमा अट्छन् । र, पृथ्वी र सूर्यको बीच १०८ पृथ्वी अथवा सूर्य अट्छन् । यो सब भनेर उनीहरू १०८ लाई अति पवित्र र महत्वपूर्ण संख्या दावी गर्छन् । उनीहरूको यस तर्कमा कुनै तथ्य छैन । आफै हेर्नुहोस्– 

पृथ्वी र सूर्यको दूरी १४ करोड ९६ लाख किमिमध्ये १२ हजार ७ सय ४२ किमि डायमिटर भएको पृथ्वी एकमाथि अर्को राख्दै जाँदा ११ हजार ७ सय ४० पृथ्वी अट्छन् । यसैगरी यो दूरीबीच १३ लाख ९२ हजार किमि डायमिटर भएको सूर्य राख्ने हो भने १०७ सूर्य अटाउँछन् । यही हिसाबले सूर्यको डायमिटर १३ लाख ९२ हजारमा १२ हजार ७ सय ४२ किमि डायमिटर भएको पृथ्वीलाई ‘फेस टु फेस’ राख्ने हो भने १०९ पृथ्वी राख्न सकिन्छ । 

पृथ्वी र चन्द्रमाको दूरी ३ लाख ८४ हजार ४ सय किमिमा १२ हजार ७ सय ४२ किमि डायमिटर भएको पृथ्वी एकपछि अर्को गर्दै राख्ने हो भने ३० पृथ्वी राख्न सकिन्छ । यसै दूरीमा ३ हजार ४ सय ७५ किमि डायमिटर भएको चन्द्रमा एकपछि अर्को राख्दै जाँदा यस ‘ग्याप’मा ११० वटा चन्द्रमा अटाउँछन् । 

र, पृथ्वीको डायमिटर १२ हजार ७ सय ४२ किमिमा ३ हजार ४ सय ७५ किमि डायमिटर भएको चन्द्रमा ३.६ मात्रै अट्छन् । धर्मगुरुले दाबी गर्ने गरेको १०८ को महत्व खगोलीय पिण्डहरूको सन्दर्भमा भने पूर्णतया निरर्थक छ ।