पहाडको आलु भारतीय बजारमा लोकप्रिय

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १०, २०७६

वीरगन्ज । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हुँदै गएपछि यसको माग बढ्दै गएको छ । 

प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो ८-१० रूपैयाँसम्म सस्तो हुने भए पनि पालुङको नयाँ आलु खानमा स्वादिलो तथा मीठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुको थोक व्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताउनुभयो । 

यहाँ थोक व्यापारीहरु करिब १५ छन् र तिनीहरुले पालुङको आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुको माग बढ्दै गएपछि अहिले टाँगामा दैनिक १५ लाख मूल्य बराबरको करिब ५० टन पालुङको आलु सीमावर्ती रक्सौल बजारमा जाने गरेको व्यापारीहरू बताउँछन् । 

पहाडको आलु तराईमा लोकप्रिय हुँदै गएपछि ग्राहकहरूको मागलाई ध्यानमा राखी यहाँका व्यापारीहरू  पालुङमा उत्पादन हुने आलुलाई प्राथमिकतामा राखी यसको व्यापार गर्ने गर्छन् । अहिले पालुङका नयाँ आलु स्थानीय बजारमा प्रतिकिलो ४० रूपैयाँमा बिक्री हुँदै आएको समाचार राससमा छ ।