जब याचिका बोकेर भगवान् शिव अदालत पुगे

जब याचिका बोकेर भगवान् शिव अदालत पुगे

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १०, २०७६

हरिद्वार, दैनिक भास्कर । असामाजिक तत्वद्वारा गरिएको अवैध कब्जाबाट छुटकारा पाउन भगवान् शिव हरिद्वारस्थित जिल्ला अदालत पुग्नुभएको छ । 

यो हिन्दी चलचित्र ‘ओ माइ गड’को प्रसंग होइन । भारतको उत्तराखण्ड राज्यको अति पवित्र मानिने भारतका सात रहस्यमय सहरमध्येको एउटा सहर हरिद्वारस्थित कुशार्वतघाटको सुरक्षार्थ भगवान शिवले जिल्ला अदालतमा याचिका दायर गर्नुभएको छ । हरिद्वारको कुशार्वतघाटको निर्माण मध्यप्रदेश राज्यको इन्दोर सहरका पूर्वमहारानी अहिल्या बाईले गराएकी थिइन् । 

यस घाटमा भू-माफियाले गरेको अवैध कब्जा हटाई पाऊ भनी ‘भगवान् भोलेनाथ होलकर बारा कुशार्वत’को तर्फबाट सेवकत्रय वेदप्रकाश, अनिल पाल र अशोक भरद्वाजले अदालतमा याचिका दर्ता गरेका हुन् । अदालतले उनीहरूको याचिका स्वीकार गरेको छ । 

याचिकामा भगवान शिवको हवाला दिँदै भनिएको छ- मेरो परमभक्त इन्दौरका महारानी अहिल्या बाईद्वारा सन् १७७५ मा यस घाटको निर्माण गरी शिवलिंग स्थापित गरिएको थियो । यस घाटको हेरचाहका लागि सन् १९६२ मा खासगी ट्रस्ट गठन गरिएको थियो । सन्  २००९ मा यो सम्पत्ति राधवेन्द्र सिखौलाले ‘पावर अफ एटर्नी’ लिएर बेचिदिए । राधवेन्द्रले यो सम्पत्ति पत्नी निकिता सिखौला र भाइ अनिरुद्रका नाममा पञ्जीकृत गरिदिए । त्यसबेलादेखि मेरा भक्तलाई यहाँ पूजा उपासना गर्न बन्देज लगाइएको छ । मैले स्वयं मे २५ को राती आफ्ना भक्तहरूको सपनामा आएर उनीहरूलाई अदालत गएर न्यायका लागि याचिका दायर गर्न आदेश दिएको हुँ ।