उपत्यकामा अपहरण तथा हत्या

ढीलो भएपनि अपराधी समातिए

उपत्यकामा अपहरण तथा हत्या

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १६, २०७५

विवेक लुइटेल अपहरण 
आजभन्दा १० बर्ष अघि आठ बर्षीय बालक विकेक शर्मा लुइटेलको अपहरणपछि हत्याले मुलुकलाई नै त्रसित बनाएको थियो । माओवादी शान्ति प्रकृयामा आएपछि भएको योे घट्नाले शहरमा ठूलै त्रास फैलिएको थियो भने अभिभावकहरुले आफ्ना बालबालिको असुरक्षित भएको महशुस गरेका थिए । यस घट्नाले गृहमन्त्रालय सरकार प्रहरी प्रशासनको निकै ठुलो आलोचना भएको थियो । 
आठ बर्षीय विवेक लुइटेलको शव अपहरणपछि हत्या गरी बोरामा हालेर फयाँकिएको अवस्थामा चाबहिलस्थित धोबी खोलाको किनारामा भेटिएको थियो ।
अपहरण तथा हत्यामा संलग्न भिखारी खान अन्सारी, पप्पु मण्डल र पटेनी लामा, मोहम्मद पक्राउ परेर हाल सजाय भोगिरहेका छन् । 
संसदमा समेत यस घट्नाले ठुलै स्थान पाएको थियो । अपहरणकारीलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्ने सफलता पाएकोे थियो । अपहरणकारीहरूले २० लाख फिरौती माग गर्दै लुइटेललाई कोटेश्वरबाट अपहरण गरेका थिए । 

मेघा देवकोटा अपहरण 
काठमाडौ उपत्यकामा २०६५ साउन १८ गते मेघा देवकोटाको अपहरण भएको थियो । सातजनाको समूहले वरिष्ठ न्यूरो चिकित्सक स्व.उपेन्द्र देवकोटाकी १६ बर्षीया छोरी मेघा देवकोटाको अपहरण गरेको थियो । यो अपहरण शहरका चर्चित व्यक्तिहरुमाथि प्रहार गर्ने गरी गरिएकोे अपराधिक घट्नाका रुपमा लिइन्छ । मेघा देवकोटाको अपहरणपछि प्रहरी प्रधानकार्यालयले एआइजीको नेतृत्वमा अनुसन्धान टोली बनाएको थियो । अपहरणकारीले मेघालाई कब्जामा लिएपछि ९ करोड फिरौती मागेको र एक करोड ३० लाख लेनदेन पछि २२ साउन ०६५ राती साढे ११ बजे पाटन अस्पताल छेउवाट रिहा गरेको थियो ।  देवकोटा परिवारले मेघालाई गौशालामा बुझेको तथ्य त्यसवेला नै सार्वजनिक भएको थियो ।
  
यस अपहरणमा हेम मगर, सिद्धार्थ लामा, राजु लामा, केशव दर्लामीमगर, राजु थापा र गोकुल गिरी र कृष्ण छारा राइ संलग्न रहेको तथ्य सार्वजनिक भएको थियो । उनीहरुमध्ये एक कृष्ण दर्लामी मगर हालसम्म पनि फरार रहेका छन् । अन्य व्यक्तिहरु पक्राउ परी सजाय भोगी रहेका छन । काठमाडौं उपत्यकामा त्यो बेला सबैभन्दा बढी फिरौती रकम बुझाइएको रुपमा यस अपहरण काण्डलाई लिइन्छ । त्यसअघि एक सुन व्यवशायीको छोरा अपहरणमा परेका भएपनि उनले कति रकम फिरौती बुझाएको भन्ने प्रहरीले जनकारी पाउन सकेन । 

व्यवसायी बाबुराजा रावलको अपहरण 
व्यवसायी बाबुराजा रावलको अपहरण संगठित अपराधिक समूहले गरेको थियो । २०६५ मंसिरको अन्तिम साता अपहरण गरी १ करोड ५० लाख फिरौती लिएर छाडिदिएका थिए । 
२०६१ सालमा व्यापार गर्न नेपाल आएका भारतीय नागरिक उदय सेठ्ठीले नेपालमा अमर टन्डन समूहसँग मिलेर अपहरण धन्दा सुरु गरेका थिए । अमर समूहकै अन्य फरार अभियुक्तसँग व्यापारी बाबुराजा रावलको अपहरण गरी पाँच दिनसम्म बन्धक बनाएर एक करोड ५० लाख फिरौती उठाएर २०६५ पुस १ गते छाडिदिएका थिए । नयाँदिल्ली बसेर नेपालमा अपहरणकारी समूह परिचालन गर्ने सेठ्ठीलाई प्रहरीले २०६५ पुसमा पक्राउ गरी माघमा मुद्दा दायर गरेको थियो ।  सेठ्ठीसँगै प्रल्हाद महत पनि सो अपहरणमा संलग्न थिए । उनीहरुले टण्डनको योजनामा त्यसको १५ दिन अघि मात्रै निरज कक्षपतिको अपहरण गरी १ करोड भन्दा बढी फिरौति लिएपछि रावलको अपहरण गरेका थिए । सोही अपहरणमा काण्ड अन्य पाच जना पनि पक्राउ परेका थिए । 
ख्याति अपहरण तथा हत्या 
 
काठमाडौको जुविलियन्ट कलेज एन्ड रिसर्च सेन्टरमा अध्ययनरत ख्याति श्रेष्ठको उनलाई नै पढाउने विज्ञान शिक्षक विरेन श्रेष्ठले अपहरण गरी हत्या गरेका थिए । २०६६ जेठ २२ गते छात्रा ख्याती श्रेष्ठको अपहरणपछि हत्या गरिएको थियो । हत्यापछि विरेन श्रेष्ठले उनको परिवारसँग १० लाख फिरौती मागेका थिए । श्रेष्ठले काठमाडौकी १६ वर्षीया मेरिना शाक्यको सहयोगमा उक्त अपहरण तथा हत्या गरेका थिए । कालिमाटीमा दस जोड दुई कक्षामा अध्ययनरत १८ वर्षीया ख्याती श्रेष्ठको अपहरण भएको १७ दिनपछि शव फेला परेको थियो । विराटनगरको स्थायी निवासी ख्यातीलाई मेरिनाले आकर्षक कार्यालयमा जागिर लगाइदिने प्रलोभनमा जेठ २२ मा पुतलीसडकमा बोलाई अपहरण गर्ने षड्यन्त्र रचेकी थिइन । अपहरणको दिन विरेनको कोठासम्म ख्यातिलाई मेरिनाले नै लगेको थिइन् । मेरिनाले बाहिरी कोठामा ख्यातिलाई अल्मल्याएर राखेपछि कफी बनाउँछु भन्दै विरेनले भान्छामा गएर एनजिट नामक लठ्याउने औषधी मिसाएर ख्यातिलाई खुवाएका थिए । कफी खुवाएर ख्यातिलाई ‘लो बेड’मा सुताएर विरेनले हातखुट्टा बाँधेर मुख पनि थुनि दिएका थिए । विरेनले यी सब काम गर्दा मेरिना सोफामा बसेर हेरिरहेकी थिइन् । ख्यातीको हत्य गरेपछि मेरिनाले उनकोे जुत्ता र खाली पर्स प्लास्टिकको झोलामा राखेर फालेकी थिइन् । ख्यातिको लास बाँध्न तन्ना ल्याउने, गन्हाएको लास धुन पानी ल्याउने अनि शरीरको टुक्रा प्लास्टिकमा राख्न विरेनलाई सहयोग गर्ने मेरिना नै थिइन ।  
ललितपुर बुङमती १ मा ख्यातिको टाउको, खुट्टा र हात नभएको जिउ र कपडा  प्लास्टिकमा पोको पारेर फयाँकेको अवस्थामा भेटिएको थियो । १६ दिनसम्म शव नभेटिदा यो घट्नाले देशव्यापी चर्चा पाएको थियो । 

डिआइजी रन्जन कोइरालाद्धारा पत्नी गीताको हत्या 
सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले २०६८ साल पुस २७ गते आफनै श्रीमती गीता ढकालको हत्या गरेका थिए । २०५० सालमा बिहे गरेका दुई छोराका बाबु रञ्जनले सम्बन्ध बिग्रेर अलग्गै बसेको ६ वर्ष पछि श्रीमतीको हत्या गरेका थिए । बूढानीलकण्ठस्थित घरबाट बेपत्ता भएकी गीताको शव रञ्जनले त्यही दिन मकवानपुरको टिष्टुङ–८ मित्राङमा लगेर जलाएका थिए । बुढानीलकण्ठस्थित घरैमा हिर्काउँदा लडेर गीताको मृत्यु भएको बयान रञ्जनले प्रहरीलाई दिएका थिए । त्यसपछि उनले गीताको शवलाई आफु चढ्ने प्रहरीकै गाडीमा हालेर टिष्टुङ पु¥याएका थिए । टिष्टुङका स्थानीयहरूले जलेको शवका टुक्राहरू फेला पारेका थिए । १६ भदौ २०६८ देखि एकवर्षे नेशनल डिफेन्स कोर्सका लागि चीन गएका रञ्जनले सशस्त्र प्रहरी मुख्यालयलाई थाहै नदिई नेपाल आएर यो अपराध गरेका  थिए । 


एजम्पसन चर्चमा बम विस्फोट 
२०६६ जेठ ९ गते ललितपुरको भनिमण्डलमा रहेको क्याथोलिकहरूको तीर्थस्थल द एजम्पसन चर्चमा बम विस्फोट भयो । 
करिब तीन सय क्रिस्चियन धर्मावलम्बी प्रभुको भक्तिमा लागिरहेका बेला अचानक बम पड्किएपछि  घटनास्थलमै १५ वर्षीया सेलिस्टी जोसेफ र दिपा पेट्रिकको ज्यान गएको थियो भने १५ जना अन्य घाइते भएका थिए । उपचारका क्रममा थप दुई जनाको ज्यान गएको थियो ।
प्रार्थना सुरु भएको करिब १५ मिनेटमै विष्फोट भएको थियो । यो वम विस्फोट घट्ना राजतन्त्रको वकालत गर्दे आएको डिफेन्स आर्मीको नामबाट भएको थियो । प्रहरीले प्रत्यक्षदर्शी बताएको हुलियाको आधारमा खोजीमा खटिएको१० दिनपछि विष्फोटन कारीलाई पक्राउ गर्यो । उनी थिइन् ३० वर्षीया सीता थापा श्रेष्ठ । उनको वयानबाट घटनामा नेपाल डिफेन्स आर्मीको संलग्नता पुष्टि भयो । उनलाई सो आपराधिक समूहका नाइके रामप्रसाद मैनालीले खटाएका थिए । हाल दुवै जना जेलमा रहेका छन् । 


रानीवारी हत्या काण्ड 
२०५९ साल, असार ३१ गते बिहान रानीबारीमा गीता खड्काको घरमा डेरा गरी बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जली श्र्रेष्ठको हत्या भएको थियो । प्रहरीले सो हत्या कसले र किन गरेको हो भन्ने बारेमा १२ बर्षसम्म पनि कुनै मेलो मेसो पाएन । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने नेपाली उखान झै २०७१ साल चैतमा भने मनराज गुरुङ र प्रमेश चौहानलाई सो घट्नामा संलग्न रहेको आरोपमा पक्राउ गरियो ।
यस घट्नामा श्र्रेष्ठ दम्पतिको  ६ वर्षीया छोरी आज्ञाश्री पनि घाइते भएकी थिइन् । घटना बिहान करि ६ देखि सवा ६ बजेबीच भएको थियो । दुईजना अपराध बिहानै श्रेष्ठ दम्पतीको डेरामा छिरेका थिए । घरधनी गीताले प्रहरीमा दिएको बयान अनुसार अञ्जलीले गेटमा गएर उनीहरूलाई भित्र लगेकी  थिइन् । हत्यापछि ती युवा रगतमा लतपतिएर निस्किएका थिए । करिब पाँच सय मिटरको दूरीमा रहेको धारामा रगत पखालेर उनीहरू ट्याक्सी चढी भागेको प्रत्यक्षदर्शीले बताएका थिए ।
माथिल्लो तलामा बस्ने घरधनी गीताले भने आफू बाथरुमको जाली काटेर भागेको बयान दिएकी थिइन् । घरबाट भागेर बाहिरबाट अरूलाई भनेर प्रहरी कन्ट्रोलमा खबर गर्न लगाएकी थिइन् गीताले । खबर गरेको करिब आधा घन्टामा प्रहरी घटनास्थलमा पुगेको थियो, त्यतिबेलासम्म श्रेष्ठ दम्पत्तिको मृत्यु भइसकेको थियो भने छोरी छटपटाइरहेकी थिइन् ।
यो हत्या काण्ड निकै लामो समयसम्म चर्चाको विषय बनिरह्यो । प्रहरीले १२ बर्षको अवधिमा निकै मिहिनेत गरेर अनुसन्धान गर्दे गयो । अन्नतः दुबै अपराधी पक्राउ गरेपछि अनुसन्धानका संलग्न अधिकारीहरुलाई सरकारले नगद पुरस्कार समेत दिएको थियो । 


रणबहादुर बम हत्या काण्ड 
सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रणबहादुर बमको हत्या २०६९ साल जेठ १८ गते ललितपुरको बंगलामुखी दर्शन गरेर फर्कनेक्रममा शंखमुलस्थित यूएन पार्कको नजिक भएको थियो ।  ‘सार्प सुटर’हरुले गोली हानी हत्या गरिएको सो हत्याले मुलुकको सुरक्षा अवस्थामाथि नै चुनौति दिएको थियो । रातो पल्सर मोटरसाइकलमा रहेका दुई जनाले बा ८ च ९८५३ नम्बरको सेतो कारमा सवार न्यायाधीश बमको हत्या गरेर निकै लामो समय फरार भइ रहयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सो हत्यामा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान टुङगोमा पु¥याएको थियो । 
भारतमा ‘होम मेड’ पेस्तोल किन्न पाइने भएकाले नेपालका आपराधिक समूहहरूले खुला सीमानाको फाइदा उठाए चुरे भावर पार्टीका नेता बाबु थापाले भारतबाट चारवटा पेस्तोल सजिलै काठमाडौंसम्म ल्याएर न्यायाधीश बमको हत्या गर्ने षड्यन्त्र गरेका थिए । घटनाको दुई वर्ष सात महिनापछि प्रहरीले न्यायाधीश बमका हत्यारा पक्राउ गरेको थियो । चुरे भावर पार्टीको आधिकारिता सम्बन्धी विवादमा न्यायाधीश बमले आफनो विपक्षमा फैसला गरेकाले बाबु थापाले सो हत्या गरेका थिए । बमलाई गोली हान्ने उनका सहयोगी शिव भनिने करण चौधरी, प्रेम खड्का र दीपक कर्ण ,भगवान भनिने सञ्जय इस्माली मगरलाई साउदी अरबबाट इन्टरपोल मार्फत पक्राउ गरी ल्याइएको थियो  । उनीहरु सबे सबै अपराधी जेलमा छन् । 


पवन संघाई अपहरण 
व्यापारी पवन संघाइको अपहरणमा पूर्व मन्त्री श्यामसुन्दर गुप्ताको संलग्नता पुष्टि भएपछि मुलुकभर राजनीतिक अपराधीकरण कसरी फैलिएको रहेछ भन्ने प्रष्ट भएको थियो । २०६८ पुस ७ विहान ५ बजे पवन संघाई कमलादीस्थित गणेश मन्दिरको दर्शन गर्न गएका बेला अपहरणमा परेका थिए । त्यही महिनाको २८ गते ८५ लाख रुपैया फिरौती लिएर संघाइलाई अपहरण मुक्त गरिएको थियो । संघाई अपहरणका मुख्य योजनाकारका रूपमा पूर्वमन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ता पक्राउ परे । उनी पक्राउ परेपछि संगठित अपराधमा संलग्न भई समातिएकाहरूलाई छुटाउनेदेखि गुण्डाहरूका संरक्षक रहनेसम्मका क्रियाकलापमा उनी संलग्न रहेको देखियो । ७ पुसको बिहान कमलादी गणेशको दर्शन गर्न गएका संघाईलाई ‘उठाउने’ आकाश लामा, विकास लामा (जीतबहादुर गोले), अमिर आचार्य र किशोर पाण्डेले प्रहरीलाई मुख्य योजनाकार ‘मन्त्री’ भएको बयान दिएपछि छोराको विवाहको तयारी गरिरहेका नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का अध्यक्ष गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो ।  शुरुमा २५ करोड मागिए पनि अपहरण भएको २० दिनमा संघाईलाई परिवारले ८५ लाख फिरौती दिएर छुटाएको थियो ।


बडिखेलमा परिवारै हत्या गर्ने पक्राउ 
दशैको अष्टमीको दिन ललितपुरको बडिखेलमा पुरै परिवारको हत्या गर्ने अपराधी आखिर १२ बर्षपछि समातिए ।
२०६० साल असोज १६। गते दशैंको अष्टमीको बेलुका ललितपुरको बडीखेल–८ खेल खेलगाउँमा हिरालाल भनिने भानु नगरकोटी, उनको श्रीमती धनकुमारी नगरकोटी, १० वर्षीया लुरी र ८ वर्षीया टुकुली तथा १३ वर्षका रविन्द्रको हत्या भएको थियो ।
हत्याको अनुसन्धानका लागी ११ अनुसन्धान अधिकृत र ५ अनुसन्धान समिति गठन गरिए पनि रहस्यको गुत्थी खुलेको थिएन । १२ वर्षपछी महानगरीय प्रहरी अपराध महाशाखाले नगरकोटी परिवारको हत्यामा संलग्न रहेको आरोपमा जेठान नाता पर्ने चन्द्रबहादुर पहरीलाई पक्राउ गरेको थियो ।