महिलाको पेटबाट गरगहना तथा सिक्का निस्किएपछि

महिलाको पेटबाट गरगहना तथा सिक्का निस्किएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७६

काठमाडौं, एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको बीरभूम जिल्लाको एउटा सरकारी अस्पतालले एकजना महिलाको पेट सर्जरी गरेर डेढ़ किलो गरगहना तथा ९० वटा सिक्का निकालेको छ । पेट दुखेर अस्पताल ल्याइएकी उक्त महिलाको पेटको अल्ट्रासाउंड गर्दा उनको पेटमा यी सबै चिज देखिएका हुन् । अपरेशन गरेर डाक्टरले उनको पेटबाट यी सबै चिज बाहिर निकालेका हुन् । 
 
रामपुरहाट सरकारी मेडिकल कलेज तथा अस्पतालका सर्जरी विभाग  प्रमुख सिद्धार्थ बिस्वासले बताए, २६ वर्षकी  महिलाको पेटबाट ५ रुपैयाँ तथा १० रुपैयाँको  नब्बे सिक्का, सिक्री, बाला, झुम्का, चुरा, पाउजु, तथा घडि निकालिएको थियो । धेरैजसो गहना तामा, पित्तलका थिए भने केही सुनका पनि थिए । 

महिलाको आमाका अनुसार, ‘उनका घरका धेरै गहना हराएका थिए । र, जब परिवारका सदस्यले उनीसँग सोध्न थाल्थे उनी रुन थाल्थिन् । पछिल्लो समयमा भने उनी खाना खाने बित्तिकै उल्टी गर्थिन् ।’ 

‘उनी भाईको पसलबाट पनि सिक्का लेराउने गर्थिन । हामीले भने उनले किनेर ल्याएको होला भन्ठानेका थियौं तर उनले त त्यो खाने गरेकी रहिछन्,’ उनकी आमाले भनिन । 

परिवारका अनुसार, महिला दुई महिना देखि बिरामी थिइन् । उनलाई कैयौं डाक्टरकहाँ लगेपनि सञ्चो भएको थिएन । तर, सरकारी अस्पतालका डाक्टरले जाँच गरेर सर्जरी गरेपछि उनको पेट दुखाइको कारण पत्ता लागेको हो ।