‘आमा ! मेरी आमा’ लोकार्पण

‘आमा ! मेरी आमा’ लोकार्पण

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १०, २०७६

काठमाडौं । नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ! मेरी आमा’को लोकार्पण भएको छ । 

नेपाली समाजमा अचेल वृद्ध माता-पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । छोरा-छोरी, बुहारीलगायतसँग न माता-पिताप्रति सम्मानभाव छ र न त समयसँग नै । समाजमा वृद्धाश्रमको संख्या बढ्नु निश्चय पनि कुनै व्यक्ति, समाज वा राष्ट्रका लागि गौरवको कुरा हुन सक्दैन । तर, वास्तविकता यही छ, वृद्ध माता-पिताले वृद्धाश्रमको एकान्तमा जीवन निर्वाह गर्नु परिरहेको विवशता सबैका सामु छर्लंग नै छ । 
यस्तो सामाजिक परिवेशमा स्वर्गीय शोभा तिवारी निश्चय पनि शौभाग्यशाली थिइन् भन्नुमा दुईमत हुन सक्दैन । 

उनका दुई छोरी ऋचा शर्मा तिवारी र स्मृति थपलिया एवम् छोरा बुहारीले उनको स्मृतिमा ‘शोभा-अर्जुन संगीत कोष’ गठन गरी मातापिताप्रति साचो श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसै संगीत कोषले शोभा तिवारीद्वारा लिखित कविता संकलित गरी काव्यकृति ‘आमा ! मेरी आमा’ प्रकाशमा ल्याएका छन् । 

प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच संस्कृतिविद् डा. तुलसी दिवसको प्रमुख आथित्यमा उक्त पुस्तकको लोकार्पण सम्पन्न भएको छ । पुस्तक लोकार्पण कार्यक्रममा हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, मञ्जु काँचुली, इन्जिनियर किशोर थापा र डा. तुलसी दिवसले स्वर्गीय शोभाको संगीत क्षेत्रमा योगदान र काव्यकृतिमाथि चर्चा गरेका थिए । 

उक्त कार्यक्रममा ललित कला क्याम्पसका दुई जना विद्यार्थीलाई संगीत कोषको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।