लोकगीतः इतिहासको मौखिक स्रोत

लोकगीतः इतिहासको मौखिक स्रोत

यमबहादुर दुरा  |  लोकरञ्जन  |  श्रावण १०, २०७६

समय रहस्यमय छ । यसको आदि  छैन, न त अन्त्य नै । समय सतत् प्रवाहमय छ । समय अदृश्य छ । तर, पनि यसले आफ्नो बाटोमा कुनै न कुनै पदचिह्न छाडेको हुन्छ । 

समयले छाडेको पदचिह्न नै सम्भवतः इतिहास हो । इतिहास सर्वव्यापक भए पनि यसलाई सजिलै पहिचान गर्न सकिन्न । यसका लागि निश्चित आधारहरू ठम्याउनुपर्छ । 

जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेको पत्रमा भनेजस्तै इतिहासका सन्देश बुझ्का लागि आपूm पारिवरिका अव्यक्त वातावरण र परिवेशकालाई व्याख्या–विश्लेषण गरेर अर्थ निकाल्नुपर्ने हुन्छ । 
इतिहास बुझ्नका लागि व्याख्या–विश्लेषण गर्नुपर्ने असंख्य वस्तुको सूचीमा लोकगीत पनि पर्छ । लोकगीत इतिहासको महत्वपूर्ण स्रोत मानिन्छ । अनलाइन विश्वकोश ‘इसाक्लोपिडिया ब्रिटानिका’ ले लोकगीतलाई इतिहासको मौखिक स्रोत मान्दै लोकगीतको अध्ययनबाट ऐतिहासिक पक्षलाई उजागर गर्न सकिने तथ्य अघि सारेको छ । 

लोकगीतसम्बन्धी पुस्तक ‘इन सर्च अफ द ब्लुज’ का लेखिका प्राध्यापक मेरिबिथ ह्यामिल्टन लोकगीत र इतिहासको अन्तरसम्बन्धबारे बोलेर थाक्दिनन् । लोकगीतलाई इतिहासको स्रोत मान्छिन् । उनी भन्छिन्, ‘इतिहास अध्येताहरूका लागि महत्वपूर्ण स्रोत हो ।’

‘लोकसाहित्य र संस्कृतिका केही पाटाहरू’ पुस्तकमा लोकगीतको ऐतिहासिक पक्षको महत्वबारे  मनोहर लामिछाने लेख्छन्, ‘समाज परिवर्तन हुँदा विभिन्न कालखण्डका घुम्तीहरूमा सत्यतथ्य लुकेको पाइन्छ । लोकजीवनमा चलेका सामाजिक मूल्यमान्यता सस्कृति, सभ्यता र परम्पराहरू लोकभाकामा उतारिएका हुन्छन्’ (पृ.१०) ।

नेपाली लोकगीतमा पनि स्वाभाविक रूपमा इतिहासका असंख्य झलकहरू पाइन्छन् । 

एक समयका रेडियो नेपाल एउटा गीत खुब गुञ्जन्थ्यो । गीतको एउटा हरफ यस्तो थियो, ‘घुरुमा घुरुमा परेवा घुर्‍यो बार्दली–कौसीमा, नब्बे है सालमा भुइँचालो गयोे सोमबारे औंशीमा’ । गीतको यस हरफले १९९० साल माघ २ गते सोमबारका दिन आएको तिथिमिति र परिवेशबारे प्रभावकारी तरिकाले वर्णन गरेको पाइन्छ ।

सन् १८१६ मा नेपालको एक तिहाइ भूभाग गुम्ने गरी नेपाल र इष्ट इन्डिया कम्पनीबीच असमान सन्धि भयो । यसप्रति रोष प्रकट गर्दै त्यस समयमा गीत तथा कविता रचिएका थिए भन्ने इतिहासका पानामा उल्लिखित छ । हाल ती रचना संग्रहमा नभएकाले कस्ता थिए भन्नेबारे यसै भन्न सकिने अवस्था छैन । 

प्रथम तथा दोस्रो विश्वयुद्ध ताका हजारौं भोका–नाङ्गा नेपाली युवाहरू पराइ भूमिमा अनाहकमा ‘बलिको बोको’ बने । मृत्युको मुखमा पुगेर फर्केकाहरूले युद्धका गीत गाए । यता, गाउँघरमा पर्खिएर बसेका आफन्तजन र साथीसंगीले पनि विरहमा युद्धको गीत गाए ।

त्यो समयमा पनि युद्ध–विभीषिकाले निम्त्याएको पतझडपनबारे थुप्रै लोकगीत रचिए–गाइए । ‘गाइ पाल्यो रेलिमै वनैको बाघलाई, छोरो पाल्यो रेलिमै जर्मनको धावालाई’ लाई त्यसबेला गाइएका गीतको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

तर, धेरैजसो गीत समयको भाषमा हराए । ती गीत बचेको भए विश्वयुद्धले तत्कालीन ग्रामीण समाजको मनोविज्ञान तथा सामाजिक–सांस्कृतिक वास्तविकता बुझ्न सहज हुने थियो । 

गन्धर्व समुदायले कख्याउँदै आएको र हाल विरानो बन्दै आएको कर्खा परम्परालाई पनि जिउँदो इतिहास मानिन्छ । कर्खा घटनाप्रधान गीत हो । यसमा राजा–महाराजाका जीवनगाथा, युद्ध, बाढीपहिरो जस्ताप्राकृतिक प्रकोपको वितण्डा, आपराधिक घटना आदि समेटिएको पइन्छ । 

कर्खाले इतिहासका अनेकौं खजना पस्किरहेको छ । गन्धर्व समुदायले जंगबहादुरको बेलायत यात्रा, सिंहदरबार आगलागी काण्ड तथा स्थानीय महत्वका असंख्य कर्खा गाए । कास्की हेम्जाकी हीरादेवी गाइनेनीले माथरसिंह बस्नेतको कर्खा गाएको प्रसंग लोकसांस्कृतिक वृत्तमा अझै पनि चर्चित छ ।

समयको विभिन्न कालखण्डमा गाइएका प्रत्येक कालखण्डमा इतिहास सञ्चित भएका छन् । तत्कालीन समयका मौखिक समाचारका रूपमा रहेका यी कर्खा मौखिक इतिहास हुन् । प्रत्येक कर्खामा अन्वेषणीय इतिहास छ । 

अंग्रेजी ‘बलाड’ शब्दको हाराहारी मानिने सवाई इतिहासको अर्को भरपर्दो स्रोत हो । नेपाली भाषामा आएका भोट लडाइँको सवाई, भुइँचालोको सवाई, मणिपुर लडाइँको सवाईजस्ता विविध सवाईमा नेपाली समाजको तत्कालीन इतिहास छचल्किन्छन् ।

तत्कालीन समयमा सवाई भन्नेहरूमा लालबहादुर आउमासी, तुलाचन आले, वचगुनी गुरुङ, धनवीर भण्डारी आदिको नाम श्रद्धापूर्वक लिइन्छ । इतिहासको पाना पल्टाउँदा सवाई भन्नेमा पूर्वाेत्तर भारतका नेपालीभाषीहरू अगाडि देखिन्छन् । 

लोकगीतमा स्थानीय पहिचानसहितको इतिहास भेटिन्छन् । त्यो पनि सर्वसाधारण नागरिकको इतिहास । ‘गयो माया मस्र्याङ्दी तिरैतिर, सञ्चो छ कि बिसञ्चो लाग्छ पीर’, ‘सेती खोला चाइनेजो फनक्कै घुमेको, माछा छैन चइनेजो जाल केलाई बुनेको’ आज जस्ता गीतमा स्थानीय पहिचानसहितको इतिहास भेटिन्छन् । 

‘यो मायाले दिएको सिरौंला, कि त खाउँला कि पैंचो तिरौंला’ । यो गीत कहिले रचियो, कसले रच्यो भन्ने सम्बन्धमा कुनै निश्चित समयरेखा भेटिँदैन । यसले हाम्रो परिकार र खाद्य संस्कृतिको इतिहास बोलिरहेको छ । 
सङ्गीत अध्येता लिण्डा डिजुरसले हरेक गीतमा कथा हुन्छ । डिजुरसले भनेजस्तै हाम्रा लोकगीतमा पनि कथैकथा लुृकेका छन् । ‘धानको बाला कोदोको कपनी, दिनको झल्को रातिको सपनी’ भन्ने गीतले कृषि युग र मायामोहको कथा कथा बोलेको छ ।

अरबको खाडीमा पुगेर पसिनाले निथ्रुक्कै भिज्दै घर–परिवारका लागि दुई पैसा पठाउने श्रमजीवी नेपाली, कार्गिल युद्धमा प्राणोत्सर्ग गर्ने सिपाहीका कथा गीतमा उनिएका छन् । 

यी सबै गीतमा वास्तविक जीवनका वास्तविक कथा लुकेका छन् । यी कथामा इतिहास तत्व छरपष्ट भएको पाइन्छ ।  तर, त्यसमा रहेका इतिहास तत्व देख्नका लागि हामीसँग तेस्रो आँखा हुनुपर्छ । 

वास्तवमा, लोकगीत इतिहासको महत्वपूर्णं खजना हुन् । हाम्रा लोकगीत भण्डारमा रहेका असंख्य गीतमा इतिहास तत्व सल्बलाएका छन् । गीतमा विद्यामा इतिहासलाई समेटेर इतिहासम्बन्धी ज्ञान उत्पादन गर्न सकेमा हामी सबैलाई गुन लाग्नेछ ।