‘गोल्ड मेडलिष्ट' भोजराजः जगेडादेखि मुख्य सचिवसम्म
व्यक्तित्व
श्रावण ११, २०७६

लामो समय सरकारी सेवामा व्यतीत गरेका डा. भोजराज घिमिरेको व्यक्तित्व अनेक रूपमा फैलिएको छ । सरकारी सेवामा विशिष्ट (उच्च) तहमा रहेर निवृत्त भएका घिमिरेले कूटनीतिक दक्षतासमेत पुष्टि गरिसक्नु भएको छ, राजदूतका रूपमा । उहाँको साहित्यकारिता अर्को पाटो रहेको छ । कविता, गीत, गजलका साथै कथा र उपन्यासलेखनमा पनि उहाँ सक्रिय हुनुहुन्छ ।

डा.घिमिरेका विविध आयामबारे लोकसंवादले डा. घिमिरेका फरक फरक व्यक्तित्व उत्खनन् गर्ने जमर्को गरेको छ ।

जन्म, बाल्यकाल र शिक्षा

मध्यमवर्गीय किसान परिवारमा जन्मिनु भएको हो डा. घिमिरे । बुबा पंडित पद्मलाल र आमा लीलादेवीबाट झापामा वि. सं. २०१४ मा जन्मिनु भएका घिमिरेले त्यहीँको विद्यालयबाट ९ कक्षासम्मको शिक्षा लिनुभयो । विक्रमको २० को दशकको अन्त्यतिर सरकारले नयाँ शिक्षा लागू गरेपछि निजी स्रोतबाट चलिरहेको उहाँ पढिरहेको विद्यालय खारेज गरियो । त्यसपछि उहाँ इलामको करफोक पुग्नुभयो, बाँकी पढाइ पूरा गर्न ।

अर्धवार्षिक परीक्षा सकिइसकेको थियो कक्षा ९ को । करफोकको विद्यालयले उहाँलाई भर्ना लिन मानेन । उहाँका भाञ्जाको पहलमा प्रधानाध्यापकलाई ‘कन्भिन्स’ गरेर भर्ना लिने वातावरण त बन्यो तर विद्यालयले शर्त राख्यो– अब सुरु हुने त्रैमासिक परीक्षामा भोजराजले राम्रो गर्नुपर्नेछ । त्यसका लागि तयार  हुनुुभयो धिमिरे । 

नभन्दै त्यसपछिको त्रैमासिक परीक्षामा उहाँ प्रथम नै हुनुभयो ।  विद्यालयले उहाँको भर्ना गरिदियो । अब रजिष्ट्रेशनको सवाल बाँकी नै थियो । रजिष्ट्रेशन गर्न जिल्ला शिक्षा कार्यालय जानुपर्ने भयो । जिशिकाले उहाँको रजिष्ट्रेशन लिन मानेन । प्रधानाध्यापकले सल्लाह दिएका थिए– जिशिकाले रजिष्ट्रेशन लिन मानेन भने सिधा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पठाउनु । उहाँले त्यही गर्नुभयो अर्थात् परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पठाउनुु भयो, रजिष्ट्रेशनका लागि ।

उहाँले करफोकमा गएर पढ्न थालेको र रजिष्ट्रेशन पनि त्यहीँबाट भरेपछि उहाँले झापामा पढेको विद्यालयलाई प्रष्टीकरण सोधिएछ–अवैधानिक रूपमा किन विद्यालय सञ्चालन गरेको भनेर ।

२०३० सालमा एसएलसी दिनुभयो घिमिरेले  । एसएलसीपछि उहाँ काठमाडौँ हान्निनुभयो, उच्चशिक्षा अध्ययनका लागि । अमृत साइन्स क्याम्पसमा आईएस्सी भर्ना  हुनभयो । आईएस्सी पढिरहँदा २०३१–२०३३ मा बन्द र हड्तालका कारण परीक्षाको टुंगो भएन । चार महिनापछि परीक्षाको सूचना निस्कियो तर विद्यार्थीहरूले उक्त सूचना पत्याएनन् अर्थात् परीक्षा त्यही मितिमा हुन्छ भन्ने विश्वास गरेनन् । केही साथी रातभर तास खेलेर बसे तर भोलिपल्ट परीक्षा भयो । अन्ततः उहाँ परीक्षामा फेल हुनुभयो अर्थात् एउटा विषय लाग्यो उहाँलाई । अहिलेको भाषामा भन्दा उहाँलाई ‘व्याक’ लाग्यो । परिपक्व भइसकेपछि फेलको पहिलापटक अनुभव भयो  । 

आईएस्सी सकेर उहाँ बीएस्सी पढ्न त्रिचन्द्र क्याम्पस भर्ना हुनुुभयो । सहज रूपमा बीएस्सी उत्तीर्ण गर्नुभयो । २०३५–२०३८ मा उहाँले जुलोजीमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गर्नुहुन्छ– प्रथम श्रेणीमा प्रथम भएर अर्थात् ‘गोल्ड मेडलिष्ट ।’

शिक्षामा एमएस्सीपछि 'जागिरे जीवनकै क्रममा अर्थशास्त्रमा विद्यावारिधिसमेत गर्नुभयो घिमिरेले

‘बदमासी’ टिम

उहाँ एमएस्सी पढ्दा पूर्वकूटनीतिज्ञ मधुरमण आचार्य लगायतका उहाँका सहपाठी थिए । क्षमतावान् सहपाठीहरू उस्तै ‘अराजक’ स्वभावका पनि भएका उहाँ बताउँनु हुन्छ । आफ्ना अडान र मान्यताप्रति उहाँहरूको जिद्दीका कारण उहाँहरूको व्याचलाई विश्वविद्यालयका प्राध्यापकहरूले ‘बदमास व्याच’ भन्ने गर्थे रे ! तर आफूहरूले भौतिक र अन्य क्षति हुने बदमासी भने नगरेको बताउँनुहुन्छ घिमिरे । ‘विद्यार्थी जीवनका

स्वाभाविक उट्पट्याङ गरियो सायद त्यसबेला तर ठूला हानि नोक्सानी हुने बदमासी भने गरेनौँ’, घिमिरे भन्नुहुन्छ । 

‘बदमासी’का कारण पाइएन जागिर

उहाँलगायतका केही साथीहरूले गरेका बदमासीका कारण उहाँले र मधुरमण आचार्य, जो उहाँसँगै एमएस्सीमा ‘टपर’ भएका थिए, त्रिविमा पढाउन पाउनुु भएन । त्यसअघिसम्म टपरले विश्वविद्यालयमै पढाउन पाउँथे ।

भएछ के भने, त्यसबेला जुलोजी विभागका प्रमुख रहेछन्, युगलविक्रम मल्ल । मल्लले पढाउने विषयको पुस्तक मल्लसँग मात्र रहेछ, पुस्तकालयमा पनि नपाइने । एक पटक साथीहरू सल्लाह गर्नु भएछ– उक्त पुस्तक लुकाइदिने । 

पुस्तक ल्याएर पियनले बेञ्चमा राखेर हिँडेछ, भोजराज र केही साथी मिलेर उक्त पुस्तक लुकाइदिनु भएछ । प्राध्यापक मल्ल पढाउन आए तर पुस्तक भेटेनन् । उहाँ रिसाएर खोजीनीति गरे तर कसैले बताएनन्, पुस्तकबारे । ‘सायद मल्ल सरले संकेत पाइसक्नुभएको थियो हामीले लुकाएको तर केही नभनी नपढाई फर्कनुभयो’, ऊबेलाको उट्पट्याङ सम्झनुु हुन्छ घिमिरे ।

हो,यही घटना उहाँले त्रिवि टप गरेर पनि विश्वविद्यालय पढाउन नपाउनुको कारण ठान्नुहुन्छ घिमिरे । उहाँसँगै मधुरमणले पनि विश्वविद्यालय पढाउन पाउनुभएन ।

तर डिन कार्यालयले उहाँहरूलाई अमृत साइन्स क्याम्पस, जहाँ आईएस्सी पढउनु थियो, त्यहाँ पढाउन पठाइयो करारमा । केही समय पढाउनु भयो त्यहाँ ।

त्यसपछि विद्यालयमा सधैँ प्रथम

कक्षा १ र २ मा पढ्दा उहाँ अर्धवार्षिक परीक्षामा फेल हुनुभयो । रिजल्टका दिन उहाँ फेल भएको थाहा पाएपछि विद्यालयको मञ्चमै उहाँका दाजुले चड्कन दिनुभयो । उहाँलाई निकै नरमाइलो लाग्यो । त्यसपछि उहाँले सोच्न भयो , अब प्रथम नै हुन्छु । जब कक्षा ४ मा पुग्नुभयो, उहाँ सधैँ प्रथम हुनुभयो विद्यालयमा । ‘सायद दाजुको चड्कनले मलाई पहिलो हुनुपर्छ भन्ने ज्ञान दियो’, घिमिरे भन्नुहुन्छ –‘त्यसपछिका दिनमा मेरो पहिलो प्राथमिकता नै पढाइ भयो ।’

सरकारी जागिर

करारमा अमृत साइन्स क्याम्पसमा पढाउँदै गर्दा लोकसेवाले शाखा अधिकृत माग्यो । अल्छी मान्दै लोकसेवा परीक्षा दिनु भयो घिमिरेले । रमाइलो के भयो भने, जम्मा छवटा प्रश्न गेस गरेर तयारी गरेकामा पाँचवटा परीक्षामा सोधियो । अब ‘कन्फर्म’ भयो उहाँको जागिर भन्ने लगभग थाहा भइहाल्यो । हुन पनि त्यही भयो । उहाँलाई केही दुविधा पनि लाग्यो– विश्वविद्यालय पढाएर प्राध्यापक बन्नतिर लाग्ने वा निजामती सेवामा जाने ? अन्ततः सोच्नुभयो–अस्थायी जागिरमा अल्झिनुमा भविष्य निश्चित छैन । र, उहाँ छिर्नुभयो निजामती सेवामा– शाखा अधिकृतका रूपमा, २०३९ सालतिर ।

उहाँलाई निजामती सेवा फापसिद्ध नै भयो । शाखा अधिकृत भएको छ वर्षपछि सहायक सचिवमा भिड्नुभयो, सफल हुनुभयो । सहायक सचिवलाई नै पछि उपसचिव बनाइयो । उहाँको जागिरे जीवनले पनि अप्रत्यासित फड्को मार्दै गयो । 

उपसचिव भएको छ वर्षपछि सहसचिव खुल्यो– राजश्व, परराष्ट्र र प्रशासनमा । राजश्वको परीक्षाको अघिल्लो रात घिमिरे बिरामी पर्नुभायो । परीक्षा दिने मुडमा हुने कुरै भएन । मित्र मधुरमण आचार्य उहाँकहाँ आउनुभयो र परीक्षा दिन जान कर गर्नुभयो । उहाँले आफू अस्वस्थ भएकाले परीक्षा दिने तयारीमा नरहेको बताउनु भयो  । मधुरमणले नै सिटामोल खाएर भए पनि परीक्षा दिन करबल गर्नुभयो र मोटरसाइकलमा राखेर लैजानुभयो । 

जगेडामा रहेका १५ महिना संगीत सिक्नमा प्रयोग गर्नु भयो । मन्त्रिपरिषद् कार्यालयमा एउटा कोठा जगेडाका सचिवका लागि छुट्याइएको थियो । त्यहीँ हाँजिर गरेर उहाँ सांस्कृतिक संस्थान जानु हुन्थ्यो, हारमोनियम सिक्न । ‘तर १५ महिनामा पनि कुनै उपलब्धि भएन संगीतमा’, घिमिरे भन्नुहुन्छ  ‘खाली समय सदुपयोग गर्ने काम भने भयो ।’

अन्ततः उहाँ सहसचिवमा पास हुनु भयो । विभिन्न मन्त्रालय र निकायमा रहेर इमान्दारीपूर्वक कर्तव्य (सेवा) गर्नुभयो घिमिरेले । विभिन्न स्थानमा र जिम्मेवारीमा रहेर कार्य गर्दाका तीतामीठा अनुभव अरूमा जस्तै घिमिरेमा पनि प्रशस्त छन् । ती अनुभव र अनुभूतिलाई कुनै बेला संस्मरणका रूपमा ल्याउने सोचमा पनि हुनुहुन्छ उहाँ । ‘कुनै बेला ती संस्मरण बाहिर ल्याऊँझैँ लाग्छ, फेरि होस्, लेख्दिनँ भन्छु’, घिमिरे भन्नुहुन्छ, ‘ल्याउनुपर्छ भन्ने कुराले जित्यो भने पक्कै ती संस्मरण तपाईंले पढ्न पाउनुहुनेछ ।’

सहसचिव भएको पाँच वर्षपछि नै घिमिरे सचिवमा बढुवा हुनुभयो ।  महेश आचार्य कृषिमन्त्री थिए । आचार्यले घिमिरेलाई मनपराउँथे । उहाँले नै भन्नुभएको थियो–‘तपाईं कृषि मन्त्रालयमा आउनुपर्छ ।’ शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । कांग्रेसभित्र आन्तरिक किचलो र विवाद कायम थियो । मन्त्रिपरिषद्ले निर्णय गरे पनि पदस्थापन भने भएन । मुख्यसचिव केशवराज राजभण्डारीले पनि ‘तपाईंको पोष्टिङ कृषिमै हुन्छ’ भने पनि हुन नसकेको घिमिरे बताउँनुहुन्छ । 

त्यही बेला पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ह्विप जारी गरेर कांग्रेसका मन्त्रीलाई राजीनामा दिन भने । तर, महेश आचार्यले मात्र राजीनामा दिए । ‘त्यसपछि मेरो पोष्टिङ राष्ट्रिय योजना आयोगमा भयो’, घिमिरे भन्नुहुन्छ ।

त्यसपछि राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएको समयको कुरा हो यो । राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए । डा. विमल कोइराला मुख्य सचिव हुनुहुन्थ्यो । प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । विमल कोइरालाले भनेर घिमिरेलाई उद्योग मन्त्रालयमा पठाउने भएछन् । तर यो पनि संभव भएन । घिमिरेको बुझाइ छ ‘सायद दरबारबाट स्वीकृति मिलेन ।’

उद्योग र अर्थ मन्त्रालयमा लामो समय काम गर्नुभएका घिमिरे त्यसपछिका दुई वर्ष चार महिना राष्ट्रिय योजना आयोगमा बस्नुभयो । 

पछि एमाले–कांग्रेसको संयुक्त सरकार थियो । ईश्वर पोखरेल उद्योगमन्त्री हुनुभयो । पोखरेलले पनि उहाँलाई रुचाएका थिए तर उद्योगमा लान भने सक्नुभएन वा मिलेन । आखिरमा उहाँलाई पर्यटन मन्त्रालय सरुवा गरियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई चित्तबुझेन भने । ‘देउवाले सरकारले निर्णय गरेपछि जानू भन्नुभयो‘, घिमिरे भन्नुहुन्छ, ‘पर्यटनमन्त्री दीप दाइ (दीपकुमार उपाध्याय)लाई पनि गुनासो गरेँ तर उहाँले पनि अब मलाई सहयोग गर्नुस् भन्नुभयो र त्यहीँ बसेँ ।’

‘जगेडा’मा 

पर्यटनसम्बन्धी बैठकमा भाग लिन घिमिरे बंगलादेशको ढाकामा हुनुहुन्थ्यो । ‘भिजिट’कै क्रममा एक जना श्रीलंकाली साथी एउटा खाल्डामा परेछन् । त्यो देखेर अचानक घिमिरे हाँस्नुभएछ । फर्केर त्यही बाटो आउँदा त्यहाँ खाल्डो छ भन्ने घिमिरेले बिर्सनुभएछ । उहाँ पनि त्यही खाल्डोमा पर्नुभएछ ।  उहाँलाई त्यसबेलै ‘केही अनिष्ट हुँदै छ’ भन्ने संकेत आएको भन्ने लाग्यो रे !

नभन्दै उहाँ भोलिपल्टै नेपाल फर्कनुभयो । बेलुका नै टीकादत्त निरौलाले फोन जानकारी दिनुुभयो– सरुवा भएको बारे । बिहान अफिस पुग्नुभायो र फाइल हातमा लिएर पल्टाउनुभयो । उहाँलाई लाग्यो– आखिर सरुवा नै भएको भए त किन फाइल खोल्नु ?

सवा दश बजेतिर मुख्यसचिव डा. विमल कोइरालाले फोन गरेर बोलाउनुभयो । घिमिरे कोइरालाकहाँ पुग्नुभयो । कोइरालाले घिमिरेको सरुवा भएको बताए । ‘कहाँ ?’, घिमिरेले सोध्नुभयो  । ‘जगेडामा पठाइएको छ’, कोइरालाले जानकारी दिनुभयो । 

घिमिरेले भन्नुभयो– ‘खास्सा भयो, कम्तीमा भजन गाउनु त परेन अब ।’ यो भनाइमा सायद घिमिरेको व्यंग्य पनि थियो । उहाँले थप्नुभयो – ‘मैले खोजेकै भयो दाइ (विमललाई घिमिरे दाइ भन्नुुहुन्छ)!’

घिमिरेले भन्नुभयो– ‘खास्सा भयो, कम्तीमा भजन गाउनु त परेन अब ।’ यो भनाइमा सायद घिमिरेको व्यंग्य पनि थियो । उहाँले थप्नुभयो – ‘मैले खोजेकै भयो दाइ (विमललाई घिमिरे दाइ भन्नुुहुन्छ)!’

तर जगेडामा राखिए पनि जगेडाका सचिवहरूलाई गाडी र इन्धन सुविधा खोसिएन, मुख्यसचिवकै कार्यालयमा हाँजिर गराइयो ।

उहाँको कार्तिकमा पदस्थापन भयो, माघमा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । त्यसको एक महिनापछि फागुनमै उहाँलगायत छ जना सचिवलाई जगेडामा हालियो । 

सक्रियतापूर्वक काम गरिरहेका मानिसलाई कामविहीन बनाइनु निकै सकसपूर्ण नै हुन्छ । उहाँलाई पनि यस्तो भयो । तर घिमिरेले आफूलाई फरक ढंगले व्यवस्थित र क्रियाशील गराइरहनु भयो ।

उहाँले जगेडामा रहेका १५ महिना संगीत सिक्नमा प्रयोग गर्नु भयो । मन्त्रिपरिषद् कार्यालयमा एउटा कोठा जगेडाका सचिवका लागि छुट्याइएको थियो । त्यहीँ हाँजिर गरेर उहाँ सांस्कृतिक संस्थान जानु हुन्थ्यो, हारमोनियम सिक्न । ‘तर १५ महिनामा पनि कुनै उपलब्धि भएन संगीतमा’, घिमिरे भन्नुहुन्छ  ‘खाली समय सदुपयोग गर्ने काम भने भयो ।’

अन्त्यमा मुख्य सचिव

राजनीतिक परिवर्तन भयो । दोस्रो जनआन्दोलन सफल भयो । डा. रामशरण महत अर्थमन्त्री बन्नुभयो । महतले घिमिरेलाई आफ्नो मन्त्रालयमा आउन भन्नुभयो । घिमिरेले  ‘लोकमानसिंह कार्की(मुख्य सचिव)लाई हटाउने भए, म मुख्य सचिवको दाबेदार हुँ म अर्थमा जान्न भने‌’ भन्नुभयो । महतले अहिले अर्थ मन्त्रालयमै आएर सहयोग गर्न अनुरोध गर्नुभयो । त्यहीबीच लोकमानलाई हटाउने प्रक्रिया चल्यो, कायमुकायम मुख्य सचिव मुकुन्द शर्मा पौडेललाई बनाइयो ।

घिमिरे अर्थ सचिवकै रूपमा रहेर त्यस वर्षको बजेट बनाउनुभयो । त्यसबीचमा कुनै एक अखबारले टीकादत्त निरौलाका बारेमा प्रशंसा गर्दै घिमिरेको आलोचना गरेर लेख्यो । एक जना पत्रकार आएर घिमिरेलाई भने– ‘फलानो अखबारले तपाईंको नेगेटिभ कुरा लेखेछ, म पोजिटिभबाट लेख्छु ।’

घिमिरेले भन्नुभएछ–‘कसैलाई नराम्रो देखाएर आफू राम्रो भइँदैन । उहाँ (टीकादत्त) मैले आदर गर्ने व्यक्ति हो, उहाँका बारेमा नराम्रो भनेर म राम्रो बन्न चाहन्नँ ।’

र, सँगै यो पनि भन्नुु भएछ घिमिरेले–‘अन्त्यमा मुख्य सचिव हुनेचाहिँ म नै हुँ ।’

अन्ततः २०६३ साउनमै घिमिरे मुख्य सचिव हुनुभयो  ।

घिमिरे त्यस्ता भाग्यमानीमध्ये पर्नुहुन्छ, जसले तीनवटा प्रमुख दलका शीर्षनेताले नेतृत्व गरेको सरकारमा मुख्य सचिव भएर काम गर्नुभयो । उहाँ कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा मुख्य सचिव भएर काम गर्ने अब्सर प्राप्त भयो  । 

त्यसबेलाका उहाँका तीतामीठा निकै धेरै अनुभव र अनुभूति छन् । तर ती उहाँ अहिले सार्वजनिक गर्न रुचाउँनु हुन्न । ‘समय आउला, जुनबेला मैले ती अनुभव र अनुभूति सार्वजनिक गर्ने अवस्था हुन्छ’, घिमिरे भन्नुहुन्छ, ‘त्यसबेला पुस्तककै रूपमा आउनसक्छ ।’

उहाँ यति भन्नुहसन्छ– ‘मेरो तीन जनासँगै कहिल्यै नराम्रो भएन, न त उहाँहरूले नै मलाई नराम्रो गर्नुभयो ।’

कूटनीतिक सेवा

मुख्य सचिवबाट उमेर छँदै (५१ वर्षमै) निवृत्त हुनुभयो घिमिरे । उहाँलाई अब लेखपढ गरेर बस्ने सोच थियो । तर उहाँलाई कतै रहेर फेरि सेवा गर्न प्रस्ताव आयो । माधवकुमार नेपाल नै प्रधानमन्त्री हुनुहुन्थ्यो  । उहाँलाई कुनै संवैधानिक निकायको नेतृत्व गर्न पनि प्रस्ताव आयो तर उहाँले त्यो स्वीकार गर्नु भएन प्रधानमन्त्री नेपालले नै कतै राजदूत भएर जान प्रस्ताव गर्नुभयो । घिमिरेले त्यसबेला खाली रहेका खाडीका देशदेखि अमेरिका, अस्ट्रेलियासम्म हेरिरहनु भएका थियो तर ती कुनैमा नजाने सोचमा हुनुहुन्थ्यो । ‘पुरानै ठाउँमा गएर त जागिर खानेजस्तो मात्र हुन्छ’, घिमिरे भन्नुहुन्छ,‘क्यानडामा नयाँ दूताबास खोल्ने कुरा थियो, त्यहीँ भए जान्छु, नयाँ केही गर्नसक्छु कि भनेँ ।’

त्यसपछि उहाँ क्यानडामा खुलेको नयाँ दूताबासमा राजदूत बनेर जानु भयो । तर उहाँको शर्त थियो– मुख्य सचिवभन्दा तल्लो हैसियतमा जान्नँ । त्यसै अनुसार  भयो ।

राजदूतबाट फर्किएर आउनुभयो उहाँ २०७१ सालमा । शिक्षामा एमएस्सीपछि 'जागिरे जीवन' कै क्रममा अर्थशास्त्रमा विद्यावारिधिसमेत गर्नुभयो घिमिरेले । त्यसपछि भने उहाँको दैनिकी साहित्यलेखन र अध्ययनमै बितिरहेको छ । यसमै उहाँलाई सन्तुष्टि पनि छ । भन्नुहुन्छ, ‘पठन र लेखन नै अबको मेरो काम हो ।’  घिमिरेका अहिले कथासंग्रह र उपन्यास प्रकाशनको तयारीमा हुनुहुन्छ । यसअघि घिमिरेका नै कवितासंग्रह, गजलसंग्रहहरू, गीत–गजल एल्बम प्रकाशन भइसकेका छन् ।