१० जना विपन्न एकल महिलालाई नयाँ घर र बाख्रा हस्तान्तरण

१० जना  विपन्न एकल महिलालाई नयाँ घर र  बाख्रा हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १२, २०७६

काठमाडौं । भुकम्पले भत्काएका घर पुननिर्माण गर्न नसकी गोठमा बसिरहेका घुमारचोक तामाङ बस्तिका १० जना अति विपन्न एकल महिलाले नयाँ घर पाउनु भएकाे  छ  ।  अमेरिकामा बस्दै  आउनुभएका  हेम पाठक र सरिता पाठक दम्पत्तीले स्थापना गर्नुभएकाे हेम सरिता पाठक एकेडेमीको पहलमा घुमारचोकमा १० वटा नमूना घर निर्माण गरि हस्तान्तरण गरिएकाे हाे । 

काठमाडौं स्थित शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारचोकका दशजना विपन्न एकल महिलालाई नगरपालिका मेयर सुवर्ण श्रेष्ठ र हेम सरिता पाठक एकेडेमीका संरक्षक हेम पाठकले एक समारोहबीच नयाँ घरको साँचो र जिविकोपार्जनका लागि भनि  बाख्रा समेत एक समाराेह बिच  हस्तान्तरण गर्नु भएकाे हाे  ।  

चारवटा बाख्रा डोहोर्‍याउँदै नयाँ घर प्रवेश गर्न उकालो चढ्दै गरेकी राममाया मोक्तानाले नयाँ घर बनाएर बस्ने आशा मरिसकेको बेला आफूले सपनामा पनि नसकेको घर पाएको  बताउनु भयाे । उनले अब नयाँ घरको अगाडि खोर बनाएर बाख्रा पाल्ने र खसी बेचेर जीवन गुजारा गर्ने योजना सुनाउँदै  हेम पाठक र सरिता पाठकलाई धन्यवाद  समेत  दिनुभयाे । 

अमेरिकामा बसोबास गर्ने हेम पाठक र सरिता पाठक दम्पतीले सामाजिक कामका लागि गठन गरेको हेम सरिता एकेडेमी,युएस नेपाल वेलकेयर सोसाइटी र गामाको आर्थिक सहयोगमा वडाध्यक्ष हितमान तामाङको अगुवाइमा  अति विपन्न एकल महिलाका लागि १० वटा नमूना घर निर्माण गरिएकाे हाे ।   

करीव ६ लाख रुपैयाको लागतमा भूकम्प प्रतिरोधी घर निर्माण भएको र लाभग्राही एकल महिलाको सूची वडा कार्यालय तथा स्थानीय अगुवा बसेर तय गरि हेम सरिता एकेडेमीलाई बुझाइएको  वडाध्यक्ष हितमान तामाङ जानाकारी  दिनुभयाे ।  बस्ने घर दिएपछि आयआर्जनको लागि केही सहयोग होस भनेर आफूले वडाध्यक्षलाईनै आग्रह गरेर प्रति परिवार ५ वटा बाख्राका पाठाको व्यवस्था गर्न लगाएको पाठकले जानकारी दिनुभयाे ।