भारतीय चन्द्रयान–२ पृथ्वीको माथिल्लो आर्बिटमा : चन्द्रमाको झनै नजिक

भारतीय चन्द्रयान–२ पृथ्वीको माथिल्लो आर्बिटमा : चन्द्रमाको झनै नजिक

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण १२, २०७६

२२ जुलाई २०१९ मा प्रक्षेपित गरिएको भारतीय चन्द्र अभियान ‘चन्द्रयान–२’ को ‘आर्बिट’ सफलतापूर्वक परिवर्तन गरिएको छ । प्रक्षेपण गरिएको तेस्रो दिन (२४ जुलाई)मा पहिलो पटक र २६ जुलाईमा दोस्रो पटक चन्द्रयानको आर्बिट परिवर्तन गराएर यसलाई चन्द्रमाको झन् नजिक पुर्याइएको छ । 

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) का वैज्ञानिकहरूले ‘चन्द्रयान–२’को दोस्रो पटक आर्बिट परिवर्तन गरेका छन् । इसरोका अनुसार २६ जुलाई प्रारम्भ हुनासाथ अर्थात् १ बजेर ८ मिनेटमा चन्द्रयान–२ लाई पृथ्वीको माथिल्लो आर्बिटमा पुर्याइएको छ । यसअघि २४ जुलाई दिउँसो २ बजेर ५२ मिनेटमा पहिलो पटक चन्द्रयान–२ को आर्बिट परिवर्तन गरिएको थियो । 

इसरोका अनुसार चन्द्रयान–२ को दोस्रो पटक आर्बिट परिवर्तन गर्न चन्द्रयान–२ को मुख्य यान ‘आर्बिटर’को ‘प्रोपल्सन सिस्टम’लाई १४ मिनेट ४३ सेकेण्डका लागि प्रज्वलित गरिएको थियो । आर्बिटरको इञ्जिन दोस्रो पटक प्रज्वलित हुँदा ‘ल्याण्डर’ विक्रमलाई लिएर आर्बिटर पृथ्वीको ५४ हजार ८ सय २९ किमि माथिको आर्बिटमा पुगेको छ । अब आउने दस दिनभित्र चन्द्रयान–२ को आर्बिट अझै तीन पटक परिवर्तन गरिनेछ । 

कुनै पनि यानलाई पृथ्वीको जुनसुकै माथिल्लो आर्बिटमा गति गर्न इञ्जिन चलाइराख्नु पर्दैन । आर्बिट परिवर्तन गर्ने बेलामा मात्रै इञ्जिन प्रज्वलित गरिन्छ, प्रत्येक पटक इञ्जिन प्रज्वलित गर्दा चन्द्रयान झन् माथिल्लो आर्बिटमा स्थापित हुन पुग्छ । पाँचौं पटक इञ्जिन प्रज्वलित हुँदा चन्द्रयान–२ पृथ्वीभन्दा १ लाख ४३ हजार ९ सय ५३ किमि माथिल्लो आर्बिटमा स्थापित हुन पुग्छ । जति माथि गए पृथ्वीको गुरुत्वाकर्षण क्षीण हुँदै जाने हुनाले चन्द्रयानको ऊर्जा बढ्दै जान्छ र अन्ततः यो पृथ्वीको आर्बिट छाडेर चन्द्रमाको आर्बिटतिर हुत्तिन्छ । 

२२ जुलाई दिउँसो २ः४३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट ‘जिएसएलभी एमके–३’ रकेटबाट प्रक्षेपित गरिएको चन्द्रयान–२ प्रक्षेपण गरिएको १७ मिनेटमै पृथ्वीको तल्लो आर्बिटमा सफलतापूर्वक स्थापित भएको थियो । 

जिएसएलभी एमके–३ रकेटको काम चन्द्रयान–२ लाई पृथ्वीको तल्लो आर्बिटसम्म पुर्याउनु मात्र रहेको थियो । झण्डै ४० हजार प्रतिघन्टाको गतिले उड्ने जिएसएलभी एमके–३ रकेटले चन्द्रयानलाई १७ मिनेटमा झण्डै पृथ्वी सतहदेखि ११ हजार किमि माथिको आर्बिटमा स्थापित गरेको थियो । आर्बिटमा पुगेपछि चन्द्रयान–२ जिएसएलभी एमके–३ रकेटबाट विच्छेद भएर पृथ्वीको परिक्रमा गर्न थाल्यो । 

मानवविहीन चन्द्र अभियानमा खर्च कम गर्ने हेतुले चन्द्रयानलाई सोझै चन्द्रमाको यात्रामा पठाइन्न । पृथ्वीको तल्लो आर्बिटमा यानलाई स्थापित गरेर क्रमशः माथिल्लो आर्बिटमा पठाइन्छ । २६ जुलाईमा पृथ्वी सतहदेखि ५४ हजार ८ सय २९ किमिमाथिको आर्बिटमा रहेको चन्द्रयान–२ को इञ्जिनलाई आउँदो २९ जुलाईमा पुनः प्रज्वलित गरी अझ माथिल्लो आर्बिटमा पुर्याइन्छ । त्यसपछि पुनः २ अगस्त र ६ अगस्तको दिन चन्द्रयान–२ को इञ्जिन पुनः प्रज्जवलित गरी यसलाई पृथ्वीको सबैभन्दा माथिल्लो आर्बिटमा पुर्याइन्छ । माथिल्लो आर्बिटमा चन्द्रयान–२ ले ८ दिनसम्म रहेर पृथ्वीको परिक्रमा गरिरहन्छ । यसपछि १४ अगस्तमा पुनः यसको इञ्जिन प्रज्वलित गरी यसलाई चन्द्रमाको यात्रामा पठाइन्छ । 

६ दिनको यात्रापछि चन्द्रयान–२ ले २० अगस्तमा  चन्द्रमाको आर्बिटमा प्रवेश गर्नेछ । २० अगस्तदेखि ३ सेप्टेम्बरसम्म चन्द्रयान–२ ले चन्द्रमाको आर्बिटमा रही चन्द्र परिक्रमा गरिरहनेछ । ३ सेप्टेम्बरमा चन्द्र धरातलबाट १०० किमि माथिको आर्बिटमा चन्द्रयान–२ को आर्बिटरबाट चन्द्रमामा अवतरण गर्ने भाग ल्याण्डर विक्रम छुट्टिनेछ । आर्बिटरले भने चन्द्र आर्बिटमा रहेर चन्द्र परिक्रमा गरिरहनेछ । 
ल्याण्डर विक्रम आर्बिटरबाट बेग्लै भएर चन्द्रमाको झन्–झन् तल्लो आर्बिटमा ओर्लिंदै अन्ततः ७ सेप्टेम्बरमा चन्द्र धरातलमा ओर्लिनेछ । 

कुनै पनि चन्द्र अभियानको सबैभन्दा गाह्रो पक्ष चन्द्रमामा अवतरण गर्दा लाग्दाका अन्तिम १५ मिनेट हुने गर्छन् । यसै वर्षको प्रारम्भमा इजरायलले पठाएको चन्द्रयान अन्तिम ५ मिनेटमा नियन्त्रण बाहिर गई चन्द्र धरातलमा ठोक्किएर सम्पूर्ण अभियान नै असफल भएको थियो । 

इसरो प्रमुख के सिवनका अनुसार चन्द्र अवतरणका अन्तिम १५ मिनेट हाम्रा वैज्ञानिकहरूका लागि सर्वाधिक भयजन्य हुनेछन् । 

भारतको यो चन्द्र अभियान चन्द्रमाको दक्षिणी धु्रवमा अवतरण गर्ने विश्वकै पहिलो चन्द्र अवतरण अभियान हुन गइरहेको छ । यसअघि चीनले चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग ‘डार्क साइड अफ मुन’मा आफ्नो रोभर सफलतापूर्वक अवतरण गराएर विश्व कीर्तिमान राखेको थियो । 

भारतीय चन्द्रयान–२ को ल्याण्डर विक्रमले चन्द्र अवतरण गरेपछि यसभित्र राखिएको रोभर प्रज्ञानले ल्याण्डरबाट बाहिर आई चन्द्र धरातलमा विहार गर्नेछ । यस रोभरको गति १ सेन्टिमिटर प्रतिसेकेण्ड रहेको छ । रोभरले चन्द्र धरातलमा खनिज तत्वको उपस्थितिबारे अनुसन्धान गर्नेछ भने ल्याण्डर विक्रमको काम चन्द्र धरातलमा भूकम्पबारे अनुसन्धान गर्ने रहेको छ । ल्याण्डर विक्रम र रोभर प्रज्ञानले पृथ्वीका १४ दिन अर्थात् २१ सेप्टेम्बरसम्म काम गर्नेछन् भने आर्बिटर चन्द्र आर्बिटको १ वर्षसम्म परिक्रमा गरिरहनेछ । 

२२ जुलाईमा प्रक्षेपण गरिएको भारतीय चन्द्रयान–२ ले ४८ दिनपछि ७ सेप्टेम्बरमा चन्द्र धरातलमा स्पर्श गर्नेछ । अवतरण गरेपछि ल्याण्डर विक्रम र रोभर प्रज्ञानले थप १४ दिन अर्थात् २१ सेप्टेम्बरसम्म कार्य गर्नेछन् । 

यसैगरी चन्द्रयान–२ को आर्बिटरले एक वर्षसम्म चन्द्र आर्बिट परिभ्रमण गरी आफ्नो आयु पूरा गर्नेछ । यसपश्चात् चन्द्रयान–२ का सबै भाग चन्द्रभूमिमा मानवद्वारा पठाइएको कबाडका रूपमा रहनेछन् । चन्द्र धरातलमा मानवद्वारा पठाइएको हजारौं टन कबाड यत्रतत्र छरिएर रहेको छ । 

यस कबाडमा अमेरिकाद्वारा चन्द्रमामा पठाइएका सबै अपोलो अभियानका चन्द्रयान, १२ चन्द्रयात्रीले छाडेका अनेकौं सामान, वैज्ञानिक उपकरण र रुस, चीन, इजरायल, जापान, भारत र युरोपियन स्पेस एजेन्सीले पठाएका मानवरहित चन्द्रयान रहेका छन् । 

भारतीय चन्द्रयान–२ को ल्याण्डर विक्रम र रोभर प्रज्ञानले पृथ्वीका १४ दिनसम्म अर्थात् ७ सेप्टेम्बरदेखि २१ सेप्टेम्बरसम्म काम गर्ने भनेको चन्द्रमाको एक दिनको अवधि मात्रै हो ।