डा. केसी र मुसा

डा. केसी र मुसा

ज्ञानमित्र  |  शिक्षा  |  माघ १६, २०७५

डा. केसीले पुनः अनशन बस्नु पर्‍यो । होइन किन बस्छन यी बुढा पटक पटक अनशन ? कम्युनिस्ट मित्रहरुको मतानुसार ‘हेर्नुस वामपन्थीहरुको दुई तिहाई सरकार भएर पनि’ अनशन, सत्याग्रह, प्रदर्शन गर्न छुट छ देशमा ! यो भन्दा बढी प्रजातन्त्र के हुन सक्छ ! ? 

मलाई पुर्नजन्म बारे पक्कापक्की त केही थाहा छैन तर यस जन्ममा भएका केही दुर्घटनाको विश्लेषण गर्दा कता कता पुर्नजन्म हुन्छ कि जस्तो लाग्न थालेको छ । पक्कै पुर्नजन्ममा गरेका केही पापकर्म भोग्न नै यो जुनीमा आउनु प¥यो । भोगाई स्वरुप कम्युनिस्टहरुको संगत गर्नुपर्‍यो । 

डा. केसीले किन पटक पटक अनशन बस्नु पर्‍यो । यो सामान्यजनलाई थाहा नभएपनि सबै दलका आकण्ठ दलदलमा डुबेका समस्त महाशयहरुलाई विदित छ । सामान्यजनका लागि एउटा कथाले मनोरंजन दिन्छ होला । कथा किन, मनोरंजन किन ? सामान्यजनका लागि मनोरंजन बाहेक के नै हो र डा.केसीको अनशन ! 

कुनै नेताजीको घरमा एउटा मुसो बस्थ्यो । एक दिन नेताजीले मुसो समात्ने मुसादानी किनेर ल्याए । मुसोले आसन्न खतरा निक्र्यौल गरेर घरमा पालिएको परेवासंग भन्यो । परेवाले हाँस्दै, ‘त्यो मुसादानीले मेरो के लछार्छ ! म आकाशमा उड्नेलाई मुसादानीको के को भय ? 

निराश मुसो पुनः बल एकत्र गरेर कुखुरा छेउ पुग्यो । मुसाको कुरा सुनेर कुखुराले हाँस्दै भन्यो, के कुरा गर्छौ यार ‘मुसादानीले मेरो के बिगार्न सक्छ र, जाउ फाल्तुमा मेरो समय खराब नगर’ । 
असहाय मुसो निरुपाय भई सकेको थियो । सबै आ–आफ्ना दुनियाँमा मस्त थिए, मडारिएको भयावह खतरा उनीहरुका लागि थिएन । 

अन्तिम प्रयास स्वरुप मुसा घरमा रहेको खसी समक्ष उपस्थित भयो र उसले खसीलाई सारा प्रकरण भन्यो । 

खसी त मुसाको कुरा सुनेर जोडले हाँस्दै भूँइमा लडीबुडी गर्न थाल्यो । पाँच मिनेट सम्म खसीको हाँसो नै रोकिएन । बडो मुश्किलले हाँसोका बीच खसीले मुसालाई भन्यो, यत्तिको राम्रो ‘जोक’ जीवनमै पहिलो पटक सुनेको हुँ । क्या हँसायौ यार, ‘म खसीले मुसादानीको चिन्ता गर्नुपर्ने’ । 

मुसो त्यै दिन नेताजीको घर छोडेर हिंड्यो । 

नेताजी र नेतापत्नी कोठामा मुसादानी राखेर सुते । अर्ध रात्रीमा मुसादानीबाट खट्याक्क आवाज आयो । नेता पत्नीले मुसो थुनियो भन्ठानेर मुसादानीलाई कोठा बाहिर राख्ने मनशायले मुसादानी उठाउन खोजिन । दुर्भाग्यले मुसादानीमा सर्प पो पसेको रहेछ, नेतापत्नीलाई ठुंगि हाल्यो । 

नेतापत्नीको उपचार गरियो । बैद्यले उहाँको स्वास्थ्यको लागि परेवाको सुप ख्वाउने सल्लाह दिए । परेवाको सुप बन्यो । अन्तिम समयमा परेवालाई मुसाको अनुहार झल्झली याद आइ रह्यो । 
नेतापत्नीलाई सर्पले टोकेको समाचार फैलियो । दुई चार जना नजीकका आफन्त भेट्न आए । घर आएका पाहुनाको सत्कारका लागि मासु च्युरा ख्वाउने क्रममा कुखुरा काटियो । गर्दन छिनाल्ने बेलामा कुखुराको घाँटीबाट ‘मुसाभाई’ भन्ने शब्द निस्कियो । 

तीन दिन पछि नेतापत्नी खतरा मुक्त भइन, ज्यान जोगियो । नेताजीले खुशियाली मनाउन भोज आयोजना गरे । भोजको दिन खसीको गर्दनमा खुकुरी प्रहार हुँदा उपस्थित सबैले अचम्म माने । खसीको मुखबाट यस्तो पो आवाज आयो, ‘मुसा भाई अलविदा’ ।