लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानद्वारा  दिल साहनी र सीता ओझा सम्मानित

लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानद्वारा  दिल साहनी र सीता ओझा सम्मानित

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १३, २०७६

 काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्य विभाग र कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञाभवनको पुस्तकालय सभाकक्षमा ‘नेपाली कवितामा कवि लेखनाथ ज्ञवालीको योगदान’ विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ ।   उक्त अवसरमा कवि ज्ञवाली स्मृति ग्रन्थको लोकापर्ण गरिनुका साथै पुरस्कार समेत प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कवि लेखनाथका कविताबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै कवि ज्ञवाली लेखनमार्फत् सामाजिक रूपान्तरणको वकालत गर्ने अभियन्ता भएको स्मरण गर्नुभएकाे थियाे । 

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले कवि लेखनाथ ज्ञवालीबाट प्रगतिशील साहित्य र समाज रुपान्तरणको अभियानमा असीमित भयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली प्रगतिवादी कविता विधामा कवि ज्ञवालीले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले समाजलाई सत्मार्गमा डोर्‍याउन स्रष्टाहरूको अहम् भूमिका रहने बताउँदै स्रष्टाका सिर्जना सार्थक हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले नेपाली कवितामा कवि लेखनाथ ज्ञवालीको योगदानमाथि बोल्दै वि.सं. २०२० साल असोज ५ गते शनिबार पिता ऋषिराम ज्ञवाली र माता कुन्ता ज्ञवालीको प्रथम पुत्रको रुपमा बोहा, गुल्मीमा जन्मनुभएका कवि ज्ञवालीले नेपाली प्रगतिवादी कविताका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले आज पनि ज्ञवालीका कविता त्यत्तिकै सान्दर्भिक भएको जिकिर गर्नुभयो । 

प्रज्ञा–प्रतिष्ठानका निबन्ध र समालोचना विभाग प्रमुख प्रा.डा. गोपीन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 

यसै गरी कार्यक्रममा कवि ज्ञवालीका सम्धी वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, पूर्वमन्त्री युवराज ज्ञवाली, पत्रकार मदनलाल पौड्यालले कवि ज्ञवालीको साहित्यिक तथा सामाजिक योगदानका विषयमा बोल्नुभएको थियो । 
कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानकी अध्यक्ष रम्भा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार दिल साहनीलाई कवि लेखनाथ ज्ञवाली वाङ्मय सम्मान र साहित्यकार सीता ओझालाई कुन्तादेवी नारी प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको थियो । प्रमुख अतिथि परराष्टमन्त्री ज्ञवालीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो ।  

सो अवसरमा ज्ञवाली स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘कवि लेखनाथ ज्ञवाली स्मृति ग्रन्थ’को लोकापर्ण गरिएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले ग्रन्थको लोकापर्ण गर्नुभएको थियो । ग्रन्थबारे डा. शिवप्रकाश पौड्याल र पुरस्कृत स्रष्टाका बारेमा अर्जुन ज्ञवालीले प्रकाश पार्नुभएको थियो ।