प्लास्टिकको बोतलबाट टीशर्ट तथा क्याप

प्लास्टिकको बोतलबाट टीशर्ट तथा क्याप

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७६

काठमाडौं, एजेन्सी । भारतको बिहार राज्यको पटना रेलवे स्टेशनले स्टेशनमा फालिएको पानीको खाली बोतलबाट टोपी तथा टिशर्ट बनाएर सफाईको नौलो तरिका अपनाएको छ । अब यसको सफल प्रयोगले अन्य रेलवे स्टेशनमा फ्यांकिने खाली बोतलको पनि यसै गरी उपयोग गरिने भएको छ । अब भारतका सबै २ हजार २ सय ५० रेलवे स्टेशनमा पनि क्याप तथा टिशर्ट बनाउने मेशिन राखिने भएको छ । 

रेलवे स्टेशनमा दैनिक करीब १६ लाख पानीको बोतलको प्रयोग हुन्छ, जसलाई रिसाइकल गरेर पुनः प्रयोगमा ल्याइने रेलवे बोर्डकी एडीजी स्मिता वत्स शर्माले बताइन् । 

हाल भारतमा प्रति स्टेशन औसत ३०० बोतल दैनिक रिसाइकल गर्न सकिन्छ । यस हिसाबमा २ हजार २ सय ५० स्टेशनमा दैनिक ७ लाख बोतल रिसाइकल गर्न सकिन्छ । जसबाट करीब ५८ हजार टीशर्ट बनाउन सकिनेछ । 

पूर्व मध्य रेलवेका सीपीआरओ राजेश कुमारले पटना, राजेंद्र नगर तथा दानापुरमा बोतल रिसाइकल गर्ने मेशिन राखिसकिएको बताए । 

बोतललाई क्रश गरेर टीशर्ट बनाउने स्टार्टअप कंपनी बायोक्रशका सीईओ अजय मिश्राका अनुसार, यसरी रिसाइकल गरेर बनाएको टीशर्ट सामान्य टीशर्ट भन्दा बलियो हुन्छ । एउटा टीशर्ट बनाउनका लागि करीब १२ बोतलको उत्पादनको जरूरत पर्छ ।