कलकत्तामा  पूर्वप्रम चन्द सहित आधा दर्जन नेपाली साहित्यकारलाई  सम्मान

कलकत्तामा  पूर्वप्रम चन्द सहित आधा दर्जन नेपाली साहित्यकारलाई  सम्मान

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १३, २०७६


भारत ।  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषा साहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताउनु भएको छ। उनले भारतस्थित कलकत्तामा रहेका नेपाली भाषीलाई भानुले जोड्न सफल भएको  जानकारी दिनु भएको हो ।  

नेपाली जनकल्याण समिति कलकत्ताले २०६औं भानु जयन्ती समारोहमा आइतबार आयोजना गरेको २०औं साहित्यिक पत्रिका बिहानीको विमोचनपछि साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दले भानुभक्तको साहित्यिक योगदानको चर्चा  गर्नु भएको थियो ।  उहाँले भन्नुभयो , ‘भानुका कारण नेपालीबिचको सद्भावना र भातृत्व बढेको छ भने कलकत्तावासीले नेपालीपन बचाएर राखेका छन् । उहाँकै कारण सांस्कृतिक र भाषिक एकता पनि कायम छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले भानुको लेखनमा दार्शनिक चेतना र भक्ति धारा पर्याप्त रहेको बताए । ‘आदिकवि भानुभक्त आचार्य र उहाँको कवित्व’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै  भन्नुभयो  ‘भानुको सिर्जनात्मक लोकप्रियताले विश्वभर छरिएर रहेका नेपालीलाई एकताको सूूत्रमा बाँध्ने काम पनि भएको छ ।’

समारोहमा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख डा. देवी नेपालले कलकत्तामा बस्ने नेपाली साहित्यकारलाई सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षण समेत दिनु भएको थियो । उहाँले छन्द कविता लेखनलाई प्राथमिकता दिँदै प्रत्येक मान्छेभित्र मूल फुटाउन सकिने बताउनु भएको  थियो । ‘प्रत्येक मान्छेभित्र मूल छ तर यस्तै प्रशिक्षणले त्यो मूल फुटाउन सिकने '  उहाँकाे विश्वास थियो । 

 बिहानीका सल्लाहकार धर्मराज बरालले आदिकवि भानुभक्तको रामायण अनुवादित नभई मौलिक कृति भएको बताउनु भयो भने  दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले भानु नेपाली भाषा र संस्कृतिका संवाहक भएको बताउनु भयो । 

प्रवासी सङ्घ भारतका प्रमुख सल्लाहकार नारायणप्रसाद होमागाईले भारतमा संविधानले मान्यता दिए र नेपाली भाषामा पाठ्यक्रम बनाए पनि नेपाली भाषी विद्यार्थीले नेपाली विषय पढ्न नपाएको गुनासो गरे । नेपाली जनकल्याण समितिका सभापति बद्रीविक्रम थापाले कलकत्तामा करिब दुई लाख नेपाली रहेको र यसलाई भानुले जोडेको बताए । बिहानी पत्रिकाका सम्पादक नरविक्रम थापाले कलकत्तामा भानु जयन्ती मनाउन थालेको २० वर्ष र बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गर्दै आएको जानकारी दिए ।

समारोहमा पूर्वप्रधानमन्त्री चन्द, प्राज्ञद्धय पौडेल र नेपाल, साहित्यकारहरू धर्मराज बराल र डी पी अर्यालका साथै सञ्चार एवं साहित्यकर्मी श्याम रिमाल र गोपीकृष्ण ढुङ्गानालाई सम्मान गरिएको थियो । डा. सत्यप्रकाश तिवारी, नारायणप्रसाद होमागाई, सहदेव कोइराला, गोपीकृष्ण ढुङ्गाना, सरोजिनी सिंह, देवी नेपाल, टिकाराम भित्रिकोटी, श्याम रिमाल, पुष्प पराजुली, आशा उपाध्यायलगायतले कविता वाचन समेत गर्नु भएको थियो ।