शुक्लाफाँटामा पाटेबाघको संख्या स्थिर

शुक्लाफाँटामा पाटेबाघको संख्या स्थिर

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७६

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या स्थिर रहेको पाइएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटेबाघको संख्या १६ छ । गत वर्ष पनि पाटेबाघको संख्या त्यति नै थियो । 

सन् २०१७ मा भने निकुञ्जमा १७ वयस्क पाटेबाघ फेला परेका थिए । निकुञ्जमा बाघको बासस्थानमा सुधार, घाँसे मैदान व्यवस्थापन, ताल संरक्षण र आहारा प्रजाति सन्तोषजनक रहेकाले बाघको संख्या स्थिर रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताउनुभयो । 

‘निकुञ्जनजिकै भारतीय दुधुवा नेसनल पार्क पर्ने भएकाले बाघले सीमा वारपार गर्ने भएकाले पनि बाघको संख्या कम देखिएको हुन सक्छ,’ निकुञ्जका मुख्य संरक्षण अधिकृत पौडेलले भन्नुभयो, ‘यसलाई बाघको संख्या घटेको भन्न मिल्दैन । क्यामेरा ट्रयापिङमा केही बाघ नदेखिएका पनि हुन सक्छन् ।’

निकुञ्जमा पाटेबाघको चोरी–सिकार भएको कुनै अभिलेख छैन । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो । सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटे बाघको संख्या सन् २०१७ मा बढेर १७ पुगेको थियो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १) मा पाटेबाघ सूचीकृत रहेको छ । सन् १९७४ देखिमात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण गरिन थालिएको छ । बाघ गणना भने सन् १९९९ देखि प्रत्येक वर्ष निरन्तररूपमा भइरहेको छ । निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रूपमा रहेको छ । 

सन् २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । नेपालमा पाटे बाघको संख्या भने २३५ रहेको खबर राससमा छ ।