३६ हजारमै जापान उड्न पाइने

३६ हजारमै जापान उड्न पाइने
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १३, २०७६

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजबाट ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । 

आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं-ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रूपैयाँ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रूपैयाँ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो । दसैंअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । 

निगमले वाइडबडी ए-३३० जहाजमार्फत् ओसाका उडान गर्नेछ । काठमाडौं–जापान उडानको समयावधि ६ घण्टाको छ भने ओसाका-काठमाडौं साढे ७ घण्टाको उडान हुनेछ । निगमको उडान तालिकाअनुरूप एनए ४११ उडान नम्बरको जहाज काठमाडौंबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौं अवतरण गर्नेछ । 

वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउनमा निगमले खरिद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए । 
निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो । 

निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो । चीनको सांघाइबाट ओसाकाको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो । 

नेपाल-जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । २०७५ पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौं–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) लाई पत्राचार गरेको थियो । 
जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

निगमले अहिले भारतको नयाँदिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज रहेको खबर राससमा छ ।