सबैभन्दा अग्लो ठाउँको हुलाक कार्यालय

सबैभन्दा अग्लो ठाउँको हुलाक कार्यालय

सन्दीपन दत्ता  |  पर्यटन  |  श्रावण १३, २०७६

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हुलाक कार्यालय कहाँ छ ? तपाईंको मस्तिष्कमा अनेकौं जवाफ आए होलान् । आज म तपाईंलाई विश्वको सबैभन्दा अग्लो हुलाक कार्यालयको यात्रामा लैजाँदै छु । तयार हुनुहोस्, यसका लागि तपाईंले ५ हजार मिटर अग्लो पहाड चढ्नुपर्छ । 

तपाईं तयार हुनुहुन्छ ? हुनुहुन्छ भने हिँड्नुस्, भारतको हिमाञ्चल प्रदेशस्थित उपत्यकाको भ्रमणमा । 

स्पीति घाँटी पृथ्वीको सबैभन्दा अग्लो स्थानमा पर्छ, जहाँ मानव बस्ती आबाद छन् । यहाँका पहाड बञ्जर छन्, भयंकर खोंच छन्, बंगवान नदी छन् । ५ हजार मिटरको उचाइमा पुगेर तपाईंलाई लाग्ला– पहाडी मरुभूमि वा अर्कै संसारमा आइपुगियो । 

यसै स्पीति उपत्यकाको बञ्जर पहाडका बीच रहेको छ– एउटा सानो गाउँ हिकिक्म । यसै गाउँमा छ, विश्वको सबैभन्दा अग्लो स्थानको हुलाक कार्यालय । यस हुलाक कार्यालयले वरिपरिका धेरै गाउँलाई विश्वसँग जोड्ने काम गर्छ । पुगेर आफन्तहरूलाई चिठी पठाउने गर्छन् । 

रिञ्चेन शेरिंग ३६ वर्षदेखि हुलाकमा कार्यरत छन् । सन् १९८३ मा यहाँ हुलाक कार्यालय खोलिएदेखि उनी यसै कार्यालयमा सेवा गरिरहेका छन् । रिञ्चेन भन्छन्, ‘यहाँ काम गर्नु अति नै गाह्रो छ, बाटो छैन । चिठी–पत्रलाई बोकेर ल्याउनु–पठाउनुपर्छ ।’ 

अर्को रमाइलो कुरा, स्पीति उपत्यकामा भारी हिमपात हुने गर्छ । हिउँ परेका बेला कार्यालय झण्डै ६ महिना बन्द हुन्छ । 

साच्चै नै यहाँ हुलाक कार्यालय संचालन गर्नु चानचुने कुरा होइन । डाक ल्याउने–लैजाने दुईजना हल्कारा छन् यस हुलाक कार्यालयमा । यिनै दुई जनाले स्पीति उपत्यकाको सहर काजासम्म पुगेर डाक आदान–प्रदान गर्नुका साथै वरिपरिका गाउँमा डुलेर चिठी पुर्याउँछन्। 

काजा सहर सडक बाटो राज्य र देशको अन्य भागसँग जोडिएको छ । स्पीति उपत्यकामा काजासम्म मात्रै मोटर बाटो छ । यसपछिको सम्पूर्ण उपत्यकामा आवागमन पहाडि गोरेटो बाटोमा पैदल नै हुने गर्छ । 
हिक्किम गाउँको यस हुलाकले वरिपरिका ४-५ गाउँमा सेवा प्रदान गर्छ । यहाँका सबै गाउँको आवादी अत्यन्त न्यून छ । यी गाउँमा मोबाइल फोन पनि कहिलेकाहीँ मात्रै काम गर्छ, इन्टरनेटको त कुरै नगरौं । 
हिक्मिमको नजिकमा अर्को गाउँ छ, कोमिक । यो गाउँ समुद्र सतहदेखि ४ हजार ५ सय ८७ मिटर उचाइमा अवस्थित छ । यहाँ जम्मा १३ घरधुरी छन् । गाउँमा एउटा स्कुल छ । स्कुलमा ५ विद्यार्थी छन् । गाउँमा एउटा पुरानो बौद्ध मठ पनि छ । खेतीपातीका योग्य भूमि अनि नै कम छ । यहाँ जाँै र केराउको उत्पादन हुन्छ । 

स्पीति घाँटीका बासिन्दा वर्षमा ५ महिना संसारबाट सम्पर्कविहीन रहन्छन् । हिमपातले गर्दा चारैतिर हिउँको साम्राज्य स्थापित हुन्छ । यस्तोमा यात्रा गर्नु सम्भव नै हुन्न । यतिको प्राकृतिक विकटता हुँदाहुँदै पनि यहाँका मानिस हँसिलो र जीवन्त छन् ।

लंगजा गाउँको एकजना महिलाले हामीसँग भनिन्, ‘हाम्रो जीवन अत्यन्त शान्तिपूर्ण छ, हामीलाई प्राकृतिक चुनौतीले केही अप्ठेरो अनुभव हुन्न ।’ 

स्पीतिमा प्रायः बौद्ध धर्म अनुयायी नै रहेका छन् । भारतका पुराना बौद्ध मठमध्ये केही मठ यसै क्षेत्रमा छन् । कैयन मठ त १ हजार वर्ष भन्दा पनि पुराना छन् । 

स्पीतिमै रहेको बौद्ध मठ उपत्यकाकै सबैभन्दा ठूलो मठ हो । स्पीति नदीको किनारमा ४ हजार १ सय ६६ मिटरको उचाइमा स्थित यो मठ यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो । नदी किनारमा अग्ला–अग्ला पहाड रहेका छन् । 

यहाँका बौद्धमठ स्पीति उपत्यकाको धार्मिक, सांस्कृतिक र सामाजिक परम्पराका अभिन्न र अविछिन्न प्रेरणास्रोत हुन् । झण्डै शेष विश्वसँग सम्पर्कविहिन रहेका यहाँका मानिसका लागि बौद्ध मठ नै आपसी प्रेम, सद्भाव र मेलमिलापका थलो हुन् । यहाँ भेला भएर सामूहिक प्रार्थना गर्छन्, चाड त्योहार मनाउँछन् । 

कोमिक मठका बौद्ध भिक्षु सदिऔं पुरानो परम्पराको निर्वाह अझै गर्दैछिन् । उनीहरू दिउँसो ध्यान गर्छन्, मानिसहरूलाई धर्मको शिक्षा दिन्छन् । एक–अर्कोको सुख–दुःख बाँड्ने पाठ पढाउँछन् । कैयन बौद्ध भिक्षु विदेशमा गएर धर्म प्रवचन पनि गर्छन् । उनीहरूलाई पासपोर्ट तथा भीसा उपलब्ध गराउन हिक्कमको हुलाक कार्यालयले सेवा दिन्छ । आपसी मेलमिलाप, सादा र सरल जीवन, आध्यात्मिक लगाव र प्राकृतिक एवम् भौगोलिक अप्ठेरोसँग जुधेर तालमेल स्थापित गर्ने जीजिविषाले यहाँका मानिस हजारौं वर्षदेखि शान्तिपूर्ण जीवनयापन गरिरहेका छन् । यहाँका मानिसलाई बाहिरी विशवको खासै आवश्यकता पर्दैन् । 

तर, ग्लोबलाइजेसनको हावाले यहाँका युवाको मन आकृष्ट गर्न थालेको छ । रोजगारको खोजीमा यहाँका युवा देश–विदेशको यात्रामा निस्किन थालेका छन् । तर, आफ्नो थाकथलोेमै जीवन–मरण गर्न चाहने मानिसका लागि हिक्किमस्थित संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको यो हुलाक कार्यालय नै बाँकी विश्वसँग सम्पर्क गर्ने एक मात्र माध्यम रहेको छ ।

सन्दीपन दत्ताले यो लेख बिबिसी हिन्दीका लागि लेख्नुभएको हो । नेपाली पाठकका लागि याे अनुवाद  आशिष पाैडेलले  गर्नु भएकाे हाे  – सम्पादक