चीनले ‘एशियन टाइगर’लाई नपुंसक बनायो

चीनले ‘एशियन टाइगर’लाई नपुंसक बनायो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७६


चीनियाँ वैज्ञानिकले ‘इनकंपैटिबल’ तथा ‘स्टेराइल’ प्रविधिको प्रयोगले ‘एशियन टाइगर’ भनिने लामखुट्टेको प्रजाति सखाप बनाएको छ । चीनले यो प्रयोग क्वाञचाओ स्थित दुइवटा द्विपमा सम्पन्न गरेको छ । 

काठमाडौं । विश्वभरि नै सबैभन्दा बढी मानिसको असमय मृत्यु लामखुट्टेको टोकाईबाट हुन्छ । लामखुट्टेबाट जोगिन संसारभरिका मानिसले अनेक थरि उपाय प्रयोग गर्छन् । विज्ञानले लामखुट्टे उन्मुलनका उनेकौं प्रयास गर्यो, तर विज्ञानले गरेका समस्त प्रयासलाई प्रभावहिन पादैं लामखुट्टे सदैव बाँच्न सफल रहिआएको छ ।

अहिले आएर चीनले लामखुट्टे उन्मुलनको दिशामा आशातित सफलता पाएको छ । चीनियाँ वैज्ञानिकले एउटा खास प्रविधिको उपयोग गरी क्वाञचाओ प्रान्तका दूईवटा द्वीपबाट लामखुट्टे उन्मुलन गरेका छन् । यस उन्मुलन प्रक्रियामा वैज्ञानिकहरुलाई दुईवर्ष समय लाग्यो ।

विज्ञान पत्रिका ‘नेचर’मा प्रकाशित शोधका अनुसार चीनका वैज्ञानिकले यस कार्यका लागि ‘इनकंपैटिबल’ र स्टेराइल इन्सेक्ट’ प्रविधि (आइआइटि र एसआइटि) को उपयोग गरेका छन् । 

उपर्युक्त प्रविधिको प्रयोगले क्वाञचाओ प्रान्तको पर्ल नदी किनार अवस्थित दुईवटा द्वीपबाट ‘एशियन टाइगर’ भनिने लामखुट्टेको प्रजाति पूर्णतया उन्मुलन गर्ने सफलता प्राप्त भएको छ । ‘एसआइटि’ यस्तो प्रविधि हो, यस अन्र्तगत ‘रेडियसन’ को प्रयोग गरी भाले लामखुट्टेलाई नपुंसक बनाइयो । भाले लामखुट्टेलाई नपुंसक बनाए पछि दुई वर्षको अवधिमा सम्पूर्ण क्षेत्र नै लामखुट्टे रहित बन्यो । 

यस प्रक्रियामा चीनियाँ वैज्ञानिकले ‘वोल्वाचिया व्याक्टेरिया’को पनि सहायता लिएका थिए । शोधकर्ताका अनुसार निकट भविष्यमा चीनको ठूलो शहरी क्षेत्रमा यस प्रविधिको प्रयोग र परीक्षण गरिने छ । 

संसारभरि नै लामखुट्टेका कारण मलेरिया, डेंगु, इन्सेफलाइटिस लगायत अनेकौं गम्भीर र प्राणघातक विमारी फैलने गर्छन् । यस्तोमा चीनियाँ वैज्ञानिकले गरेको यस परीक्षणको महत्व विश्वव्यापी हुनेछ । विभिन्न रसायन र पारम्परिक विधिप्रति अभ्यस्त एवं प्रतिरोधी भइसकेका लामखुट्टे उन्मुलनमा यो प्रविधि आशलाग्दो बनेको छ ।