वृद्ध बा–आमाप्रति दुर्व्यवहार : जिम्मेदार छोरा कि बुहारी ?

वृद्ध बा–आमाप्रति दुर्व्यवहार : जिम्मेदार छोरा कि बुहारी ?

निर्जला कक्षपति  |  जीवनशैली  |  श्रावण १४, २०७६

हिजोआज धेरैका घरमा वृद्ध बा–आमाहरूले एक्लो जीवन बिताइरहेका छन् । छोराछोरी भए पनि उनीहरू ‘बुढेसकालको सहारा’ बन्न सकिरहेका छैनन् । त्यहीकारण बेसहाराको नियति भोग्न बाध्य छन् बा–आमाहरू । 

नेपालमै छोराछोरी नहुनेको त बेग्लै कुरा । तर, नेपालमै छोराछोरी हुनेहरूले पनि बा–आमालाई खासै समय दिएको पाइँदैन । कसैले समय अभावले त कसैले बा–आमालाई ‘हेर्र्नुुपर्छ’ भन्ने भावना नभएकाले । प्रायःजसो विवाहपश्चात् छोराहरू बा–आमासँग टाढिँदै गएको पाइन्छ । 

धेरै वृद्ध बा–आमाको गुनासो छ– बिहे नगरुन्जेल छोरा ठीक थियो, बिहेपछि छोराको व्यवहारमा एक्कासि परिवर्तन हुन थाल्यो । छोराले हामीले भनेको केही सुन्दैन । केही कुरा गर्‍यो कि झर्कन थाल्छ । 
बिहे अघिसम्म ‘आफ्नो हुने’ छोराको बिहेपछि किन बानी र व्यवहारमा यति ठूलो परिवर्तन आउँछ होला त ? बुहारीकै कारण छोरा बा–आमासँग टाढिन पुगेकै हो त ? 

यदि होइन भने बिहेपछि पनि छोराले बा–आमासँग ‘राम्रो व्यवहार’ गर्नुपर्ने हो नि, होइन र ? 

प्रश्न अनुत्तरित छन् । 

यस सन्दर्भमा एक प्रसंग जोड्नु सान्दर्भिक मानिन्छ । 

केही दिनपहिले एक चिनेजानेको आमाको घरमा पुग्ने अवसर जुट्यो । उहाँ बिरामी पर्नुभएको रहेछ । मलाई देख्नेबित्तिकै रुँदै छोरा–बुहारीले गरेको दुव्र्यवहार सुनाउन थाल्नुभयो, ‘बिरामी परेको यतिका दिन हुँदा समेत ‘के भयो’ भनेर छोरा–बुहारी सोध्न आउँदैनन् ! खाए/नखाएको हेरविचार र औषधिमुलो त कता हो कता । हिजो सकिनसकी हामी दुवै बूढाबूढी मिलेर अस्पताल गयौं ।’ 

सबैभन्दा ठूलो कुरा बुहारी कस्तो संस्कारमा हुर्किएकी हुन् । त्यसले पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ । आफ्नो बा–आमा मात्र ‘आफ्नो’ ठान्ने श्रीमान्को बा–आमालाई ‘पराई’ ठान्ने मानसिकताले गर्दा परिवार जोडिनुको साटो विखण्डन हुँदै गएको पाइन्छ ।  


मलाई लाग्यो– कमसेकम बिरामी पर्दा त यस्तो नगरिदिएको भए हुने थियो ।  

धेरैजसो बुहारी, सासू–ससुरासँगै बस्दा आफूहरू स्वतन्त्र नहुने अनि सासू–ससुराको अधीनमा बस्न पर्ने भएकाले प्रायःजसो संयुक्त परिवारमा बस्न रुचाउँदैनन् । बिहेपछि छुट्टै बस्न चाहान्छन् र बस्छन् । कतिको आफै कमाउने पनि सोच हुन्छ । यस्ता सोच राख्ने कतिपयले पुख्र्यौली सम्पत्तिको आश पनि राखेका हुँदैनन् । तर, जिन्दगीभर बा–आमाले कमाएको सम्पत्तिमा आँखा गाडेर बस्ने छोराहरू पनि समाजमा नभएका होइनन्, जसले जिन्दगीमा केही पनि गर्दैनन् । बा–आमाको सम्पत्तिको ब्याज खाएर बस्नेहरूले पनि बा–आमालाई ‘हेर्नुपर्छ’ भन्ने नठान्दा दुःख लाग्नु स्वाभाविक हो ।

बा–आमाको सेवा गर्नु भनेको बा–आमाको सम्पत्ति भएर मात्र गर्ने विषय होइन । भगवान्स्वरूप आफ्नो बा–आमाको सेवा गर्नु  कर्तव्य अनि दायित्व पनि हो । तर, हिजोआज कतिपय छोराले वृद्ध बा–आमालाई गरेको व्यवहार देख्दा समय नै निकै ‘व्यापारिक’ भएजस्तो अनुभव हुन थालेको छ । तत्काल ‘फाइदा’ भए गर्ने, नभए बा–आमालाई सडकमा ल्याएर अलपत्र पारिदिने प्रवृत्ति बढेको छ । बा–आमाले जिन्दगीभर श्रम र शक्ति लगानी गरेर आफूले खाइनखाई छोरालाई पढाएका र हुर्काएका हुन्छन् । तर, त्यही छोराले भविष्यमा दुव्र्यवहार गर्दा कुनचाहिँ बा–आमाको मन धुरुधुरु नरोला । 

छोराको बिहे गरिदिएपछि घरमा भित्रिने बुहारी बिल्कुलै फरक परिवेशबाट आएकी हुन्छिन् । बुहारीको जन्मघर र कर्मघरको चालचलन, रीतिरिवाज प्रायः गरी केही पनि मिल्दैन । सबैभन्दा ठूलो कुरा बुहारी कस्तो संस्कारमा हुर्किएकी हुन् । त्यसले पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ । आफ्नो बा–आमा मात्र ‘आफ्नो’ ठान्ने श्रीमान्को बा–आमालाई ‘पराई’ ठान्ने मानसिकताले गर्दा परिवार जोडिनुको साटो विखण्डन हुँदै गएको पाइन्छ ।  

एक सम्पन्न परिवारकै एउटा घटना उल्लेख गर्नु सान्दर्भिक हुन्छ । घरमा दुई भाइ छोरा छन् । दिदी–बहिनीको विवाह भइसक्यो । बा–आमाको उमेर ७० कटिसक्यो । बा–आमा, दुवै छोराको लागि घाँडो बनेको छन् । दुवै छोराले बा–आमासँगै नबसिदिए जस्तो गर्छन् । एक छोरा नारायणगढमा बस्छन्, एक काठमाडौंमा । दुवैतिरको घर र सम्पत्ति बा–आमाले नै जोडेका हुन् । अहिले दाजुभाइले आफैले कमाइ गरेर बनाएको जस्तो गरी बा–आमालाई जेठाले कान्छासँग बस् भन्दा रहेछन् कान्छाले जेठासँग । बुहारीहरूले त्यो सम्पत्ति आफ्नो माइतीबाट ल्याए जस्तो गर्दारहेछन् । दुई भाइ छोराको लागि ‘सम्पत्ति प्यारो, बा–आमा घाँडो’ बन्ने गरेको छ । बा–आमा उमेरका हिसावले पनि कमजोर हुँदै गइरहेका छन् । उनीहरूलाई मधुमेह, रक्तचाप, मुटुको रोग लगायतले गाँज्दै लगेको अवस्था छ । बा–आमाले बनाएको घरबाट उठ्ने बहाल रकम जेठा छोराले मात्र चलाउने गर्दा रहेछन् । बुढेसकालमा बा–आमालाई आवश्यक पर्ने खर्च नपाएर धुरुधुरु रोएर जीवन बिताउनुपरेको छ । 

बुढेसकालमा बा–आमाले आफ्ना सन्तानबाट माया ममता अनि मिठो बोलीको अपेक्षा गरेका हुन्छन् । आफ्ना सन्तानहरूसँगै बसिदिउन्, उनीहरूको कुरा सुनिदिउन्, उनीहरूले भनेको मानिदिउन् भन्ने हरेक वृद्ध बा–आमाको चाहना हुन्छ । पहिलेजस्तो समय दिन नसके पनि भेट्दा राम्रोसँग बोलिदिउन्, हासीखुसी खान दिउन् भन्ने हरेक बा–आमाको चाहना हुन्छ । तर, हिजोआजका छोराबुहारी बा–आमासँग भेट्दासमेत कहिल्यै राम्रो वचनले बोल्दैनन् । सम्पत्ति लिएर बा–आमालाई वृद्धाश्रममा पठाउनेहरू पनि हाम्रो समाजमा नभएका पनि होइनन् ।

बा–आमा भने कति रहरले छोरा पाएका हुन्छन् । मेरो छोराले यसो गर्छ, उसो गर्छ भनेर सुन्दर सपना बोकेका हुन्छन् । कतिले त बुढेसकालको सहारा भन्दै बुढेसकालमै भए पनि छोरा पाएरै छाड्छन् । बुढेसकालमा पाल्छ, हेर्छ भनेर आफ्नो सम्पूर्ण लगानी छोरालाई गरेका हुन्छन् । छोरालाई सुख होस् भनेर खाइनखाइ सम्पत्ति जोड्यो, सम्हालेर राखिदियो । तर, बुढेसकालमा त्यही छोराले आफ्ना बा–आमाप्रति दुव्र्यवहार गर्ने गरेको पाइन्छ, जस्तो ः रुख रोप्यो । त्यसले फल दिन्छ । आज बा–आमालाई यस्तो हेला गरेको देखेर भोलि आफ्नै छोराले पनि आफूलाई त्यस्तै हेला नगर्ला भन्ने के छ र ?