चन्द्रयान-२ : ७१ हजार किमि माथिल्लो आर्बिटमा

चन्द्रयान-२ : ७१ हजार किमि माथिल्लो आर्बिटमा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण १४, २०७६

भारतीय अन्तरिक्ष संस्था इसरोका अनुसार चन्द्रयान-२ को आर्बिटर भनिने यानको इञ्जिन प्रज्वलित गरेर यसलाई पृथ्वीको अझ माथिल्लो आर्बिटमा स्थापित गरिएको छ । 

काठमाडौं, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान-२ अभियानका सबै गतिविधि सामान्य रहेको बताएको छ । 

जुलाई २२ मा प्रक्षेपित गरिएको उक्त चन्द्रयान-२ अभियानको आर्बिटर भनिने यानलाई सेड्युल अनुसार जुलाई २९ मा तेस्रो पटक पृथ्वीको अझै माथिल्लो आर्बिटमा पुर्याइएको छ । यसअघि जुलाई २४ र २६ मा यसको इञ्जिन केही समयका लागि प्रज्वलित गरी माथिल्लो आर्बिटमा पुर्याइएको थियो । 

तेस्रो पटकमा निश्चित योजना अनुसार आर्बिटरलाई ७१ हजार ७ सय ९२ किमि माथिल्लो आर्बिटमा पुर्याइएको छ । यसका लागि पृथ्वीस्थित नियन्त्रण कक्षमा रहेका इसरोका वैज्ञानिकले आर्बिटरको इञ्जिन १६ मिनेट २९ सेकेण्ड बाल्नुपरेको थियो । 

अहिले चन्द्रयान-२ पृथ्वीको २७६×७१७९२ किमि माथिल्लो आर्बिटमा रहेर पृथ्वीको परिक्रमा गरिरहेको छ । 

यस उचाइमा रहेको यानलाई अगस्त २ को दिउँसो २-३ बजे अझै माथिल्लो आर्बिटमा पुर्याउने निश्चित कार्यक्रम छ । 

अगस्त २ सम्म उक्त यान २७६×७१७९२ किमि माथि रहेर पृथ्वीको परिक्रमा गरिरहनेछ । अगस्त २ मा यानलाई पृथ्वीको अझ माथिल्लो आर्बिटमा पुर्याइनेछ । त्यस आर्बिटमा यान अगस्त ६ सम्म रहेर पृथ्वीको परिक्रमा गरिरहनेछ । अगस्त ६ मा पुनः यसको इञ्जिन बालेर यानलाई पृथ्वीभन्दा १४३९५३ किमि माथिको आर्बिटमा पुर्याइने इसरोको योजना छ । 

अगस्त ६ देखि १४ सम्म यो यान यसै उचाइबाट पृथ्वीको परिक्रमा गरिरहनेछ । स्मरण रहोस्, आर्बिटमा स्थापित भएपछि यानको इञ्जिन बन्द गरिन्छ । किनकि कुनै पनि आर्बिटमा स्थापित भइसकेपछि यानलाई गति गर्न आफ्नो इञ्जिनको शक्ति प्रयोग गर्नु पर्दैन । पृथ्वीको गुरुत्वाकर्षणले नै यान (यान मात्र होइन, कुनै पनि वस्तु) स्वतः गति गरिरहन्छ । पृथ्वीको तल्लो र माथिल्लो आर्बिटमा रहेका वस्तुको गति भने फरक हुन्छ । जस्तो कि ३००-४०० किमि माथिल्लो आर्बिटमा रहेका वस्तुको गति पृथ्वीको अक्षीय गतिभन्दा पनि अति तीव्र हुन्छ, जस्तै : नेपालले पठाएको नैनो स्याटेलाइट जुन पृथ्वीदेखि झण्डै ४ सय किमि माथिको आर्बिटमा स्थापित छ । यसले पृथ्वीको एक परिक्रमा ९० मिनेटमै पूरा गर्छ । पृथ्वीलाई आफ्नो अक्षको एक परिक्रमा पूरा गर्न भने झण्डै २४ घण्टा लाग्छ । 

वैज्ञानिकले पठाएका विभिन्न किसिमका स्याटेलाइट पृथ्वीको विभिन्न माथिल्लो आर्बिटमा रहेर पृथ्वीको परिक्रमा गर्छन् । पृथ्वीदेखि ३६ हजार किमिको आर्बिटमा रहेका यान पृथ्वीको गतिसँगै पृथ्वीको परिक्रमा गर्छन् । भनौं ४६५ मिटर प्रतिसेकेण्ड वा १६७४ किमि प्रतिघण्टा । 

अगस्त ६ मा भारतीय चन्द्रयान १४३९५३ किमि माथिल्लो आर्बिटमा पुग्नेछ । इसरोको योजना अनुसार अगस्त १४ सम्म यान यसै आर्बिटमा रहनेछ । र, अगस्त १४ मा पुनः एकपटक यसको इञ्जिन प्रज्वलित गरी यानलाई चन्द्रमाको दिशामा पठाइनेछ । 

निश्चित योजना अनुसार पृथ्वीको आर्बिट छाडी चन्द्रयात्रामा निस्केपछि चन्द्रयान ६ दिनको यात्रापछि अगस्त २० मा चन्द्र आर्बिटमा प्रवेश गर्नेछ ।