रावलपिण्डीमा खस्यो सेनाको विमान

रावलपिण्डीमा खस्यो सेनाको विमान

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १४, २०७६

पाकिस्तानको रावलपिण्डी शहरमा मंगलबार विहान पाकिस्तानी सेनाको विमान खसेको छ । विमान दुर्घटनामा १९ को मृत्यु र १६ घाइते भएका छन् ।

रावलपिण्डी, एएफपी । पाकिस्तानको रावलपिण्डी सहरमाथिको आकाशमा मंगलबार सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १९ को मृत्यु भएको छ भने १६ घाइते भएका छन् । 

मृत्यु हुनेमा पाँच विमानका ‘क्रु मेम्वर्स’ र बाँकी सर्वसाधारण छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको राहत र बचाउ दलका प्रवक्ता फारुक बटले जानकारी दिए । 

दुर्घटनालगत्तै रावलपिण्डीका अस्पतालमा आपत्काल घोषणा गरेर घाइतेको उपचार प्रारम्भ गरिएको थियो । विमान खस्नासाथ घटनास्थलमा आगलागी भएको थियो । 

पाकिस्तानी सेनाका अनुसार दुर्घटनाग्रस्त भएको विमान प्रशिक्षण उडानमा रहेको थियो । उडानका क्रममा विमान नियन्त्रण बाहिर भई रावलपिण्डीको मोरा कालू गाउँमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको समय अँध्यारो भएकाले राहत र उद्दारमा समस्या भइरहेको बताइएको छ । 

यसअघि सन् २०१६ मा पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको विमानमा आगलागी हुँदा ४० को मृत्यु भएको थियो ।

पाकिस्तानमा सन् २०१० मा सबैभन्दा ठूलो विमान दुर्घटना भएको थियो । पाकिस्तान एयरलाइन्सको एअरबस–३२१ इस्लामावादको बाहिरी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा १५२ को मृत्यु भएको थियो ।