संसारको सबैभन्दा ठूलो लामखुट्टे

संसारको सबैभन्दा ठूलो लामखुट्टे

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७६

लामखुट्टे भन्ने बित्तिकै हामीलाई डर लाग्छ, कारण यसको टोकाइबाट हुने खतरनाक रोगहरु जस्तै, मलेरिया, डेंगु, इन्सेफलाइटिस आदि । पछिल्लो बर्ष चीनमा एकदमै ठूलो लामखुट्टे देखापर्यो । सम्भवतः यसलाई संसारकै सबैभन्दा ठूलो लामखुट्टे मानिएको छ । यो सानो किरो देख्नमा राक्षस जस्तै देखिन्थ्यो । 

काठमाडौं, एजेन्सी । पछिल्ला वर्षमा लामखुट्टेको टोकाईबाट फैलिने रोगहरुमा बढोत्तरी भएको छ । मलेरिया, डेंगू पछि अहिले इन्सेफलाइटिस तथा ज़ीका भाइरस जस्ता नयाँ रोगहरु पनि देखा परेका छन् । 

पछिल्लो वर्ष चीनमा एकदमै ठूलो लामखुट्ट देखा पर्यो जसलाई लामखुट्टे प्रजातिको राक्षस लामखुट्टे भन्दा पनि गलत नहोला । सामान्यतया लामखुट्टेको आकार ३ देखि ६ मिमी हुन्छ तर यो विशाल लामखुट्टेको आकार भने ११.१६ सेंटीमीटर अर्थात लगभग ४.५ इंच छ । 

यो लामखुट्टे चीनको सिचुआन प्रांतमा भेटिएको थियो । यसको आकारका कारण यसलाई संसारको सबैभन्दा ठूलो लामखुट्टे मानिएको हो । यो लामखुट्टेलाई पश्चिम चीनको कीट संग्रहालय ‘इंसेक्ट म्यूजियम अफ वेस्ट चाइना’ का क्यूरेटर झाओ ली ले पछिल्लो वर्ष अगस्टमा चेंगदूको माउंट किंगिंचेंगको यात्राको दौरान खोजेका थिए । 

झाओ ली का अनुसार, यो लामखुट्टेको सम्बन्ध संसारको सबैभन्दा लामो लामखुट्टेको प्रजाति ‘होलोरूसिया मिकादो’ सँग जोडिएको छ । यो प्रजाति पहिलो पटक जापानमा पाइएको थियो । जसको आकार ८ सेंटीमीटर थियो । यसलाई ‘होलोरूसिया मिकादो’ नाम ब्रिटिश कीट वैज्ञानिक जोन ओब्दैयाह वेस्टवुडले १८७६ मा दिएका थिए । 

झाओ लीका अनुसार यो प्रजातिका लामखुट्टेको शरीर यति ठूलो हुन्छ कि यो राम्रोसँग उड्न पनि सक्दैन् । उड़ेको समयमा यो उडेको जस्तो नदेखिएर बुरुक्क बुरुक्क उफ्रिएको जस्तो देखिन्छ । यो लामखुट्टे रुख बिरुवा धेरै भएको ठाउँमा पाईन्छ । यसको आयु भने केही दिनको मात्र रहन्छ । 
 
चीनमा यसलाई क्रेन फ्लाई पनि भनिन्छ । यो लामखुट्टे देख्नमा जति खतरनाक देखिए पनि त्यति खतरनाक भने छैन, किनकि यसले मानिस तथा जनावरको रगत चुस्ने नभई फूलको रस चुस्ने गर्छ । 

संसारमा लामखुट्टेको तीन हजार भन्दा धेरै प्रजाति छन् जसमा केवल १०० प्रजाति मात्र रगत चुसेर बाँच्ने गर्छन् ।