क्रिकेटर धोनी काश्मिरका गल्लीमा

क्रिकेटर धोनी काश्मिरका गल्लीमा

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १५, २०७६

भारतीय क्रिकेट टिमका सफल पूर्वकप्तान महेन्द्रसिंह धोनीको नयाँ कर्मथलो भारतीय राज्य काश्मिर बनेको छ ।  उनी भारतीय सेनाको लेफ्टिनेन्ट कर्नलका रूपमा आजदेखि गस्तीमा निस्कने भएका छन् । 

नयाँ दिल्ली, एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी आजदेखि तनावग्रस्त काश्मिरमा गस्ती सेवा प्रारम्भ गर्दैछन् । 

भारतीय सेनाका अनुसार धोनीले प्यारा कमाण्डोको बटालियनका लागि १५ दिन सेवा दिनेछन् । 

काश्मिरका गल्लीमा गस्ती निस्कँदा उनी १९ केजी सामग्री पिठ्युमा बोकेर हिँड्नेछन् । ड्युटीमै रहँदा उनले भारतीय स्वतन्त्रता दिवस मनाउनेछन् । 

प्यारा कमाण्डोको जुन बटालियनमा धोनी तैनाथ हुनेछन्, त्यो सैनिकको मिलिजुली युनिट हो । त्यस युनिटमा देशका विभिन्न क्षेत्रबाट आएका सैनिकको प्रतिनिधित्व हुने गर्छ । धोनीले दिउँसो र राती दुवै सिफ्टमा ड्युटी गर्नुपर्ने हुन्छ । ड्युटीमा निस्कदा धोनीसँग ५ केजी तौलका ३ म्याग्जिन, ३ केजीको सैनिक बर्दी, २ केजीको जुत्ता, ४ केजीका ४ ग्रेनेड, १ केजीको हेल्मेट र ४ केजीको बुलेटपु्रफ ज्याकेट हुनेछन् । 
धोनीको चाहना आफिसर्स मेसको सट्टा ५०–६० जना सैनिकसँग ब्यारेकमा रहने छ । यो बटालियन आफ्नो स्वादिष्ट ‘बटर चिकेन’का लागि प्रसिद्ध छ । यहाँ सातामा तीन दिन चिकेन पाक्ने गर्छ । 

धोनीले सन् २०११ मा टेरिटोरियल आर्मीमा लेफ्टिनेन्ट कर्नलको मानार्थ उपाधि पाएका थिए । सैनिक तालिम लिनलाई धोनीलाई विश्वकपपश्चात वेस्ट इण्डिज भ्रमणमा आफूलाई टोलीमा समावेश नगर्न बिसिसिआईलाई पत्र लेखेका थिए । 

धोनीले श्रीनगरको बादामी बाग कैन्ट एरियामा अन्य १० जना सैनिकका साथ गस्ती गर्नेछन् । गस्तीमा निस्कदा उनको काँधमा एके–४७ राइफल र ६ वटा ग्रेनेड रहनेछन् । 

धोनीले गार्ड युनिटमा पहरा दिनेछन् । यो काम उनले ४–४ घन्टाको दुइटा सिफ्टमा गर्नुपर्ने हुन्छ । यो सिफ्ट दिउँसो र रात्रि दुवै समयको हुनेछ । दिउँसोको सिफ्टमा ड्युटी पर्दा उनले बिहान ४ बजे उठ्नुपर्ने हुन्छ ।