गंगाको पानीबाट उपचार

गंगाको पानीबाट उपचार

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १५, २०७६


बनारस हिन्दू विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल साइन्स’का वैज्ञानिक तथा प्रोफेसर गोपालनाथले गंगाको पानीबाट एउटा ‘हिलिङ ट्रिटमेन्ट’ विकसित गरेका छन् । यस उपचार पद्धतिले ‘एन्टिबायोटिक’ औषधिले गर्न नसकेका जटिल संक्रमणहरूमा सफलता साथ उपचार हुने अनुसन्धानले देखाएको छ । 

वाराणसी, एजेन्सी । ‘एन्टिबायोटिक’ औषधिको खोज मानव स्वास्थ्यका लागि वरदान नै सावित भएको थियो । यसको खोज पछि करोडांै जनाले जीवनदान पाएको तथ्य अस्वीकार गर्न सकिँदैन । 
तर, समयसँगै भएको चौतर्फी विकासक्रमले सबै राम्रा कुरा मात्रै भएनन् । मानव स्वास्थ्यलाई हानिकारक अनेकौ तत्व पनि यसै विकासको प्रतिफल हो भन्नुमा दुईमत हुन सक्दैन । 

२१ औं शताब्दीको मानिसमा कैयन यस्ता बिमारी पनि देखा परेका छन्, जसको उपचार ‘एन्टिबायोटिक’ औषधिबाट पनि नियन्त्रित हुँदैन । यसको कारण पनि स्पष्ट छ, मानव शरीरमा भएका र आक्रमण गरी आउने ब्याक्टेरियाहरूको क्षमतामा पनि वृद्धि भयो । ‘ब्याक्टेरिया’ले ‘एन्टिबायोटिक’ औषधिसँग लडेर जित्ने क्षमता विकसित गरे । परिमाणस्वरूप ‘एन्टिबायोटिक’ औषधिहरूको ‘पोटैनसियलिटी’ बढ्दै गयो र विस्तारै यिनको कार्यक्षमता कम हुँदै गयो । यस्तो अवस्थामा आएर बनारस हिन्दू विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल साइन्स’का प्रोफेसर गोपाल नाथले ‘ब्याक्टेरियोफेगस’बाट नयाँ उपचार पद्धति विकसित गरेका छन् । यस पद्धतिका माध्यमले  ‘एन्टिबायोटिक’ निष्प्रभावी भएका रोगमा पनि सफलतापूर्वक उपचार गर्न सम्भव भएको छ । 

के हो ‘ब्याक्टेरियोफेगस’ ? 

‘ब्याक्टेरियोफेगस’को अर्थ हो, ब्याक्टेरिया भक्षण गर्ने जीव । जहाँँ ब्याक्टेरिया हुन्छन्, त्यहाँ ब्याक्टेरिया खाने ‘ब्याक्टेरियोफेगस’ पनि हुन्छन् । गंगा नदीको पानीमा पाइने ‘व्याक्टेरियोफेगस’ले नै यसको पानी लामो समयसम्म कुहिनबाट जोगाउँछ । 

प्रोफेसर नाथका अनुसार हुनत ब्याक्टेरियोफेगस जुनसुकै ठाउँमा पनि भेटिन्छन् । तर, यी पाइने सबैभन्दा ठूलो स्रोत गंगा, यमुना र धाधरा नदी हुन् । 

अर्को रमाइलो कुरा, जुन नदीको पानी सफा हुँदैन, त्यहाँ ब्याक्टेरियोफेगस झनै राम्ररी विकसित हुन्छन् । यिनको भोजन नै ब्याक्टेरिया हुन् । 

प्रोफेसर नाथ भन्छन्– जलेको र अन्य प्रकारका संक्रमणमा एउटा प्रकारको ‘ब्याक्टेरियोफेगस’ अत्यन्तै प्रभावी ढंगले काम गर्छ । यसको प्रयोगले ठूल्ठूला संक्रमण पनि निको हुन सक्ने उनको दाबी छ । उनले ५ वर्षदेखि निको नभएका बिरामीको पनि सफल उपचार गरेको बताए । 

उनी भन्छन्– संक्रमण कुन किसिमको छ हामी त्यस संक्रमणका ब्याक्टेरियामाथि प्रभावी हुने ‘ब्याक्टेरियोफेगस’लाई संक्रमणको स्थानमा ‘इन्जेक्ट’ गर्छौं । यसरी पठाइएका ‘ब्याक्टेरियोफेगस’ले संक्रमित स्थानमा रहेका ब्याक्टेरियालाई खान थाल्छ । यो ‘हिलिङ ट्रिटमेन्ट’ कैयन सातासम्म प्रतिदिन गरिन्छ । विस्तारै ‘ब्याक्टेरियोफेगस’ले सारा ब्याक्टेरिया खाएर संक्रमण निको हुन्छ । 

प्रोफेसर नाथले भारतको स्वास्थ्य मन्त्रालयसँग यस उपचार पद्धतिको उपयोगका लागि स्वीकृति लिने प्रक्रिया थालेका छन् ।