वृक्षारोपणमा कीर्तिमान

वृक्षारोपणमा कीर्तिमान
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १५, २०७६

इथियोपियाले एकै दिनमा २२ करोड ४० लाख रुख रोपेर विश्व कीर्तिमान राखेको छ । सुक्खा र पानीको भीषण अभाव झेलिरहेको इथियोपिया आफ्नो पुरानो गल्ती सुधार्ने अभियानमा जुटेको छ । 

काठमाडौ, एजेन्सी । २९ जुलाई २०१९ को दिन इथियोपियाका लागि स्वर्णिम दिन बनेको छ । यस दिन देशभरका अधिकांश मानिस वृक्षारोपण कार्यक्रममा सम्मिलित भए । यस दिन देशव्यापी वृक्षरोपण अभियानअन्तर्गत देशभर २४ घण्टाभित्र २२ करोड ४० लाख रुख रोपिए । यो विश्व रेकर्ड हो । यस वृक्षारोपण अभियानको नेतृत्व स्वयं प्रधानमन्त्री अविय अहमदले गरेका थिए । 

पूर्वी अफ्रिकास्थित इथियोपियाको भूमि तीव्र गतिले खराब हुँदै गइरहेको छ । यससम्बन्धी विज्ञहरूका अनुसार जंगल कटान र जलवायु परिवर्तनका कारण यहाँ अत्यधिक मात्रामा भूक्षरण भइरहेको छ । यहाँ भूजलको स्तर धेरै नै तल गइसकेको छ र यहाँको जैव विविधता पनि अन्तिम संघारमा पुगेको छ । 

जंगल प्रबन्धनका क्षेत्रमा काम गर्ने संस्था ‘फार्म अफ्रिका’ अनुसार इथियोपियामा ४ प्रतिशतभन्दा पनि कम क्षेत्रमा जंगल बाँकी छ । १९ औं शताब्दीको अन्त्यतिरै इथियोपियाले आफ्नो ३० प्रतिशत जंगलको दोहन गर्यो । यसमध्ये सर्वाधिक कटान तथाकथित सहरीकरण र कृषिका लागि भएको थियो । 

अब आएर इथोपियन सरकार आफ्नो गल्ती सुधार्ने प्रयास गरिरहेको छ । २९ जुलाईमा देशको दक्षिणी भागमा रुख रोप्दै गरेको आफ्नो तस्बिर ट्विट गर्दै प्रधानमन्त्री अविय अहमदले लेखे, ‘एउटा हरित विरासतका लागि इथियोपिया विश्व रेकर्ड तोड्न उन्मुख भइरहेको छ ।’ 

यसअघि यो रेकर्ड सन् २०१७ मा एकै दिनमा ६ करोड ६० लाख रुख रोपेर भारतले बनाएको थियो । इथियोपियामा मे २०१९ मा वृक्षारोपण अभियान प्रारम्भ गरिएको थियो । मेदेखि अक्टुबर महिनाभित्र ४ अर्व रुख रोप्ने लक्ष्य राखिएको छ । कृषि विभागका अनुसार जुलाई महिनासम्म २ अर्व ६० करोड रुख रोप्ने कार्य सम्पन्न भइसकेको छ । प्रधानमन्त्री कार्यालयले रोपिएका रुखको संरक्षण एउटा सफ्टवेयरका माध्यमले भइरहेको जनाएको छ ।