बान्तवाको ‘आमालाई चिठ्ठी’

बान्तवाको ‘आमालाई चिठ्ठी’

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १६, २०७५

काठमाडौँ : हङकङेली नेपाली डायास्पोराको साहित्यिक यात्राका क्रममा अनेकौँ उतारचढावको सामना गर्दै अगाडि बढिरहेका साहित्यकार रामकृष्ण बान्तावको रचना, राजु सिंहको संगीत र आभा मुकारुङको स्वरमा सजिएको गीत ‘कता हिँडेको कसलाई खोजेको भन न भन ए विरानो परदेशी’ कुनै बेला अत्यधिक लोकप्रियताको शिखरमा थियो ।

त्यसलगत्तै उनी ‘सघन तुवाँलो’ नामक उपन्यास लिएर देखा परे । उनको उक्त उपन्यास बुहचर्चित बन्यो । उपन्यासको अङ्गे्रजी संस्करण ‘सिरिलमिस्ट’ हङकङकै एक विदेशी प्रकाशन संस्थाले छाप्यो ।

‘सघन तुवाँलो’ले बान्तवालाई थप परिचय र चर्चा दियो । तर, दुःखको कुरा त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको डायास्पोरिक खण्डको पाठ्यक्रममा छानिएको भनेर लेखक बान्तवालाई पत्र दिएता पनि पछि होइन भन्ने हल्ला फैलियो । त्रिविका तत्कालीन नेपाली केन्द्रीय विभागका प्रमुखविरुद्ध अख्तियारमा, साथी प्रकाशन र वितरक जयकाली प्रकाशनविरुद्ध राजश्वमा मुद्धा समेत प¥यो । निर्दोष बान्तवा यसरी अनेक जालझेलको शिकार बने ।

त्यस घटनाले उनी झन्डै झन्डै लेखनबाटै पलायन भए । करिब एक दशकसम्म भूमिगत नै बने । तर, खुसीको कुरा उनै बान्तवा हङकङेली नेपाली डायास्पोराबाट एउटा भीमकाय संभवतः नेपाली साहित्यकै अहिलेसम्मकै ठूलो ११ सय अठ्चालीस पृष्ठको उपन्यास ‘आमालाई चिठ्ठी’ लिएर देखा परेका छन् । उपन्यास नेपाली वाङ्मय परिषद्द्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरे । कुलपति उप्रेतीले बान्तवाको उपन्यास नेपाली साहित्यकै एक महत्वपूर्ण प्राप्ति भएको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली साहित्यलाई समृद्ध बनाउन डायास्पोराको ठूलो योगदान छ ।’ 

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले  बान्तवा फरक ढङ्गले चिन्तन गर्ने स्रष्टा भएको उल्लेख गर्दै उनको उपन्यासले इतिहास रच्ने दाबी गरे । डा. विष्णु राईले ‘आमालाई चिठ्ठी’ अहिलेसम्मकै नयाँ शैलीको भएको बताए भने सञ्चारकर्मी तथा उपन्यासकार अखण्ड भण्डारीले ‘यथार्थभित्र कल्पना र कल्पनाभित्र यथार्थ’ उपन्यासको विशेषता भएको जिकिर गरे । गीतकार तथा संस्कृतिविद् शुभ मुकारुङले डायास्पोराबाट साहित्य सेवा गरिरहेका बान्तवाजस्ता स्रष्टालाई मातृभूमिले प्रोत्साहित र कदर गर्नु पर्ने धारण राखे ।

पुस्तक गोदावरी बुक हाउसले छापेको हो । खोटाङमा जन्मिएका स्रष्टा बान्तवाका हालसम्म ६ उपन्यास, २ नाटक, १ गीत र १ कविताका पुस्तक प्रकाशित छन् भने ३ वटा गीति एल्बम निस्केका छन् ।