जनावरमा विकसित गरिँदैछ मानव अंग

जनावरमा विकसित गरिँदैछ मानव अंग

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७६

मानव अंग प्रत्यारोपणको मामिलामा यदि हालको अनुसन्धान सफल भएका खण्डमा विविध मानव अंगले काम नगरेर पत्यारोपणको आशामा बसेका रोगीहरुका लागि यो एउटा आशाको किरण हुनसक्ने शोध टीमका प्रमुख हिरोमित्शु नाकाउचीको मान्यता छ । 

काठमाडौं, एजेन्सी । शायद अब त्यो दिन टाढा छैन् कि जनावर मानव अंगका कारखाना हुनसक्छन् । जापान सरकारले आफ्ना वैज्ञानिकलाई एउटा विवादास्पद प्रविधि विकसित गर्ने अनुमति दिएको छ जसका कारण संसारमै अंग प्रत्यारोपणको क्षेत्रमा क्रांति आउन सक्छ । जापान तथा स्टैनफोर्ड युनिभर्सिटीका शोधकर्ता मानव स्टिम सेलको मद्दतले जनावर भित्र मानव अंग विकसित गर्ने प्रक्रियामा रहेका छन् । 

शोध टीमका प्रमुख हिरोमित्शु नाकाउचीको मान्यता छ यदि यो प्रविधिले सफलता पाएका खण्डमा संसारमा मानव अंग फेल भएर दुख पाइरहेका मानिसका लागि यो वरदान सावित हुनसक्छ । मुसामा यसको सफल प्रयोग भैसकेको छ । 

संसारका कतिपय देशमा यसमाथि प्रतिबंध लगाइएको छ । तर, जापान सरकारले अनुमति दिएपछि त्यहाँका शोधकर्ता हिरोमित्शु नाकाउची आफ्नाे टीमका साथ प्रत्यारोपणका लागि हुने मानव अंगको कमी हटाउने यो प्रभावकारी तरीका हुनसक्ने भन्दै यसको अनुसन्धानमा लागेका छन् । 

सरकारले अनुमति दिएपछि अब जनावर भित्र मानव अंग विकसित गरिनेछ । मुसामा भएको प्रयोग सफल भएपछि अब  यसलाई सुंगुर जस्ता स्तनधारी जनावरमा पनि अनुसन्धान गरिनेछ । यसले मानवका लागि आवश्यक पर्ने असीमित अंगको आपूर्ति सुनिश्चित हुनेछ । 

वैज्ञानिक कुन हदसम्म जनावरमा मानव अंग विकसित गर्न सकिन्छ भन्नेमा स्पष्ट छैनन् । जनावरको मस्तिष्क कतै मानव मस्तिष्क जस्तै विकसित हुने त होइन भन्ने शंका पनि छ । 

शोधकर्ता हिरोमित्शु नाकाउचीले यो प्रयोग पहिले पनि गरिसकेका छन् । तर, मानव तथा जनावरको कोशिकाले बनेको भ्रूण अस्तित्वमा आउन सकेन् । पहिले यस किसिमले विकसित गरेको भ्रुण दुई हप्तामा नष्ट गरिसक्नुपर्ने भन्ने जापान सरकारको नीति थियो । तर, अहिले  नीतिमा परिवर्तन गर्दै मानव तथा जनावरको कोशिकाबाट बनेको भ्रूणलाई परिपक्व नहोउन्जेल १४ दिन भन्दा बढी समयसम्म पनि राख्न सकिन्छ । 

ब्रिटेन, जर्मनी तथा फ्रांसमा भने जनावरको भ्रूणमा मानव स्टिम सेल प्रत्यारोपण गर्ने अनुमति छैन् । अमेरिका तथा क्यानडामा भने यस्तो कानून नभए पनि यस किसिमको अनुसन्धानका लागि सरकारले रकम उपलब्ध गराउँदैन् । 

मानिसको उपचारमा जनावरको अंगको प्रयोग यसअघि पनि हुँदै आएको हो । सुँगुर तथा गाईको मुटुको भल्भ मानिसमा प्रत्यारोपण गर्न सकिनेछ ।  सन् २०१८ मा बर्लिनको हार्ट सेंटरमा सुँगुरको मुटु बाँदरमा प्रत्यारोपण गरिएको थियो, जो १९५ दिनसम्म जीवित रहेको थियो । यसलाई अंग प्रत्यारोपणको मामिलामा माइलस्टोन नै मनिने गरेको छ । किनकि मानिस र बाँदरमा धेरै समानता रहेको मानिन्छ ।