लोकसंवाद संवाददाता | स्वास्थ्य | श्रावण १६, २०७६
प्रत्येक प्राणीका नवजात शिशुका लागि आमाको स्तनबाट आउने दूध सर्वोत्तम आहार हो । यसमा अधिकांश पोषक तत्व हुनुका साथै बिमारीसँग लड्ने ‘एण्टिवडिज’ पनि हुन्छन् ।
काठमाडौं, एजेन्सी । कसैको शक्ति परीक्षण गर्नुपर्दा बहुधा सुन्ने गरिन्छ, ‘आमाको दूध खाछस् भने आइजा ।’
यसै टुक्काबाट बुझ्नुस्, आमाको दूध कति शक्तिशाली एवम् महत्वपूर्ण छ ।
यस सम्बन्धमा भएका अनुसन्धानले देखाउँछन्, आमाको दूधमा ती सबै गुण एवम् शक्ति विद्यमान छन्, जसले भर्खरै संसारमा आएको नवजात शिशुलाई अनेकन बिमारी हुनबाट जोगाउँछ ।
बच्चा जन्मिनासाथ डाक्टरले ६ महिनासम्म अरु केही नख्वाई आमाको स्तनपान मात्रै गराउने निर्देश दिन्छन् । यो स्थापित सत्य हो, बच्चाका लागि आमाको दूध नै विश्वको सर्वोत्तम आहार हो । ‘ब्रेस्टमिल्क’लाई त्यसैले ‘लिक्विड गोल्ड’ भन्ने गरिन्छ, वास्तवमा आमाको स्तनबाट आउने दूध ‘सून भन्दा पनि बहुमूल्य’ छ । ‘ब्रेस्टमिल्क’मा ‘इम्युन सिस्टम’लाई पोषित गर्ने सबै तत्व हुन्छन् । संसारमा पदार्पण गरेको शिशुका लागि यो आहार चमत्कारसरह नै हो । यसमा अझै रोचक तथ्य त के छ भने नवजात शिशुको शारीरिक आवश्यकता अनुसार आमाको स्तनबाट श्रावित हुने दूधको संयोजन (कम्पोजिसन) र रंग पनि परिवर्तित भइरहन्छ ।
यससम्बन्धी शोधका तमाम रिपोर्ट अनुसार, शिशु बिरामी हुँदा उसले ¥यालमार्फत् आमाको शरीरलाई सन्देश प्रेषित गर्छ । सन्देश पाएर आमाको शरीरमा रहेका दुग्ध ग्रन्थिले उत्पादन हुने दूधमा ‘एण्टिवडिज’को मात्रा वृद्धि गर्छन् ।
यसैगरी आमा स्वयं बिरामी हुँदा उसको दुग्ध ग्रन्थिमा उत्पादित हुने दूधमा स्वतः नै ‘एण्टिवडिज’को मात्रा वृद्धि हुन्छ, जसले गर्दा उक्त दुध सेवनबाट शिशुमा आमाको रोग स्थानान्तरित हुन पाउँदैन । ठीक यसैगरी शिशुको आकार बढोत्तरी हुँदै जाँदा स्वतः नै आमाको ‘ब्रेस्ट’ बाट आउने दूधको गुणवत्ता परिवर्तन हुँदै जान्छ । यससम्बन्धी शोधले आमाको स्तनबाट आउने दूधको गुणवत्ता दिन र रातीमा फरक–फरक हुने गरेको देखाएको छ । यसैगरी दूधको रंग र स्वाद पनि परिवर्तित हुने गर्छ । यस विषयमा भएका शोधले स्तनपानको प्रारम्भमा आउने दूध पातलो र पछि गएर बाक्लो हुने पनि देखाएको छ । तर, यसको अर्थ पहिला आउने दूध पौष्टिक हुन्न भन्ने होइन ।
शिशुको जन्म भएपश्चात आमाको शरीरले ‘कोलोस्ट्रम’युक्त दूध निर्माण गर्छ, यो ‘एण्टिब्याक्टेरियल’ हुन्छ । यसले शिशुको शरीरमा बलियो सुरक्षा–कवच निर्माण गर्छ । आमाको दूधबाहेक बोतलबाट ख्वाइएको अन्य कुनै पनि प्रकारको दूधले शिशुको शरीरमा यो सुरक्षा–कवच बनाउने सामथ्र्य राख्दैन । केही महिलामा यो ‘कोलोस्ट्रम’ बाक्लो र पहेँलो रंगको हुने गर्छ भने केहीमा यो पानीजस्तै पातलो हुन्छ ।
वैज्ञानिक शोध अनुसार आमाको स्तनबाट आउने दूधको आपूर्ति माग अनुसार हुन्छ । शिशुले जति बढी स्तनपान गर्छ, उति बढी नै दूध उत्पादन र आपूर्ति हुन्छ । यहाँ एउटा कुरा स्मरणीय छ, स्तनपान गराउने महिलाले आफ्नो आहारको समुचित ख्याल राख्नुपर्छ ।
आमाको स्तनबाट श्रावित हुने दूध दिनको प्रारम्भमा बढी मात्रामा आउँछ र यसको वेग पनि तीव्र हुन्छ । यस्तो हुनुको कारण ‘प्रोलेक्टिन हार्मोन’ हो, यसले दूध उत्पादनमा सघाउँछ । यसैगरी साँझपछि आमाको स्तनबाट आउने दूधमा ‘सिरोटोनिन’को मात्रा बढी हुन्छ, यसले शिशुलाई गहिरो निद्रामा सुताउने भूमिका निर्वाह गर्छ ।