सीमानाको चाकाचुली

सीमानाको चाकाचुली

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७६

काठमाडौं, एजेन्सी । अमेरिका तथा  मेक्सिकोमा सँधै सीमा विवाद रहँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिकोबाट अवैध आप्रवासी तथा नागरिक अमेरिका छिरुन भन्ने चाँहदैनन् । तर, क्यालिफोर्नियाका दुईजना प्राध्यापकले ट्रम्पको विरोध गर्ने अनौठो तरिका निकाले । उनीहरुले सीमानामा सी–स चाकाचुली लगाएका छन् । जसमा बसेर दुबै देशका बालक तथा वयस्क रमाउँदै झुलिरहेका थिए । 

सीमानामा रहेको स्टील बारमा २९ जुलाईमा तीनवटा चाकाचुली लगाएका थिए । सीमानाको सनल्याण्ड पार्कमा लगाइएका यी चाकाचुली खेल्न ठूलो संख्यामा मानिसहरु उक्त स्थानमा पुगिरहेका छन् । यी प्रोफेसरको भनाई छ– हामीले यो चाकाचुली दुई देशका नागरिकलाई जोड्नका लागि राखेका हौं । यी नागरिकहरु आपसमा कुराकानी गरुन् तथा नागरिकताको सम्मान गरुन् । 

मेक्सिकोका अभिनेता माउरिको मार्टिनेदले भने, ‘यो चाकाचुलीले दुई देशका नागरिकबीच कत्तिको सामिप्यता छ भनेर दर्शाउँछ । हाल मानिसहरुले अरु चाकाचुलीको माग गरिरहेका छन् ।’ 

क्यालिफोर्निया विश्वविद्यालयका आर्किटेक्चर प्रोफेसर रोनाल्ड रायल तथा सहायक प्रोफेसर सैन फ्रेटलोलाई यो विचार सन् २००९ मा आएको थियो । तर, यो विचारले साकार रुप भने २९ जुलाईमा मात्र पायो । अमेरिकाको शहर सिउदाद जुआरेज तथा मेक्सिकोका मानिसहरु बच्चा लिएर चाकाचुली खेल्न सीमानामा पुगिरहेका छन् । 

सीमानामा राखिएको यो चाकाचुली रोनाल्ड रायलले डिजाइन गरेका हुन् । रेलले यो चाकाचुलीको भिडियो तथा तस्वीर आफ्नो सोशल मीडियामा शेयर गरेका छन् । 

रायलले लेखेका छन, सीमानामा चाकाचुली राखिएपछि यो एकआपसमा कुराकानीको माध्यम बनेको छ । चाकाचुली राख्नुको पछाडि सीमाको एकातर्फ हुने गतिविधिले अर्को छेउमा पनि असर गर्छ भन्ने नै हो । हाम्रो लागि चाकाचुलीमा रमाइरहेका केटाकेटी तथा उनीहरुका माता–पिताको खुशी महत्वपूर्ण कुरा हो ।