के पाकिस्तान धर्म–सहिष्णु भएकै हो ?
श्रावण १७, २०७६

सन् १९४७ अघिसम्म भारतवर्ष (अहिलेको भारत, पाकिस्तान र बंगलादेश) ब्रिटिस सरकारको अधीनमा थियो । तर, महात्मा गान्धी लगायतको अगुवाईमा भएको ‘भारत छोडो’ आन्दोलनपछि भारत ब्रिटिस अधीनबाट स्वतन्त्र भयो । त्यसपछि आमजनमानसलाई लागेको थियो– अब देशमा शान्ति–सुव्यवस्था कायम हुनेछ । 

तर, स्वतन्त्रतापश्चात् पनि देशमा शान्ति–सुव्यवस्था कायम भएन । यसको कारण थियो– मुस्लिम समुदायद्वारा छुट्टै राज्यको माग । यही कारण हिन्दू र मुस्लिमबीच कयौं दंगा भए । धर्म–युद्धको झल्को दिने ती दंगापछि अन्ततः भारतबाट छुट्टिएर नयाँ राष्ट्र स्थापना भयो– पाकिस्तान । 

तत्कालीन भारतवर्षका बहुसंख्यक मुस्लिम धर्मावलम्बी पाकिस्तानमा बसे । जसका कारण पाकिस्तानमा मुस्लिम धर्मावलम्बीको बाहुल्य रह्यो भने अन्य अल्पसंख्यक । 

बहुसंख्यक मुस्लिमद्वारा हिन्दूलगायत अन्य धर्मावलम्बीहरूमाथि शोषण, दमन र अत्याचार गरियो । फलस्वरूप कति मानिस देशबाटै पलायन पनि भए । 

त्यति मात्रै होइन, यहाँका थुप्रै मन्दिर तोडफोड भए । विकिपिडियाका अनुसार पाकिस्तानमा पाँच सयभन्दा बढी मन्दिर तोडफोडबाट नष्ट भएका छन् । अहिले त्यहाँ ४२८ मन्दिर मात्रै बाँकी छन् । मन्दिर तोडफोड हुनुअघि त्यहाँ एक हजार मन्दिर रहेको विकिपिडियामा उल्लेख छ । 

यदि वास्तवमै पाकिस्तान धर्म–सहिष्णु बन्न खोजेको हो भने सबै मन्दिर पूजा–अर्चनाका लागि खोलिनुपर्छ । हिन्दू धर्मावलम्बीहरूलाई निर्वाधरूपमा मन्दिरमा पूजा–अर्चना गर्ने वातावरण बनाउनुपर्छ । यति मात्रै होइन, अन्य धर्मावलम्बीलाई पनि धार्मिक–स्वतन्त्रता दिइनुपर्छ । अन्य धर्मावलम्बीले यसको आभास गरे मात्र त्यो धार्मिक स्वतन्त्रता हो, अन्यथा त्यो केवल देखाउने दाँत मात्र हुनेछ । 

अहिले पाकिस्तानमा मुस्लिम धर्मावलम्बीको बाहुल्यता छ । विकिपिडियाका अनुसार अहिले पाकिस्तानको जनसंख्या २१ करोड २७ लाख ४२ हजार ६ सय ३१ छ, यसमा मुस्लिम झण्डै ९६ प्रतिशत छन् भने बाँकी हिन्दू, इसाई र अन्य धर्मावलम्बी छन् । 

बहुसंख्यक मुस्लिम धर्मावलम्बीकोे अन्य धर्मावलम्बीहरूमाथि अत्याचार, दमन र शोषण अद्यापि कायमै छ ।

यही कारण पाकिस्तानले ‘धर्म–असहिष्णु’ मुलुकको बिल्ला पाएको छ । अझ पाकिस्तानलाई अन्तर्राष्ट्रिय रूपमै आतंकवादलाई  संरक्षण गरेको आरोप पनि लाग्ने गरेको छ ।   

तर, हालै सरकारले सियालकोट राज्यस्थित शवाला तेजा सिंह मन्दिर पूजा–अर्चनाका लागि खुला गरेर सबैलाई आश्चर्यचकित बनाएको छ । उक्त मन्दिर भारत–पाकिस्तान विभाजनपछि अर्थात् झण्डै ७२ वर्षदेखि बन्द अवस्थामा थियो । लेखक तथा इतिहासकार राशिद नियाजको पुस्तक ‘हिस्ट्री अफ सियालकोट’का अनुसार यो मन्दिर झण्डै एक हजार वर्ष पुरानो हो ।

सन् १९९२ मा भारतको बाबरी मस्जिद भत्काइएपछि मन्दिरमा आक्रमण भएको थियो । जसका कारण मन्दिर क्षतिग्रस्त भएको थियो । 

पाकिस्तानको यो कदमपछि विश्व–समुदायमा थुप्रै प्रश्न उठेका छन् । के वास्तवमै पाकिस्तान धर्म–सहिष्णु भएकै हो त ? कि पाकिस्तान आफूलाई अन्तर्राष्ट्रिय स्तरमा धर्म–सहिष्णु भएको देखाउन मात्रै चाहान्छ ? 
यसमा जानकारहरूको मिश्रित प्रतिक्रिया रहेको पाइन्छ । कतिपयले यसलाई पाकिस्तानको प्रचारात्मक शैलीको उपमा दिएका छन् भने कतिपयले पाकिस्तान धर्म–सहिष्णुको मार्गमा अग्रसर हुन चाहेको बताएका छन् । 

जेसुकै भए पनि पाकिस्तानमा पहिलो पटक मन्दिर पूजाआजाका लागि खोलिनु आफैमा राम्रो कदम हो । यसले पाकिस्तान धर्म–सहिष्णुको मार्गमा हिँड्न खोजेको अनुमान लगाउन सकिन्छ । 

तर, यदि वास्तवमै पाकिस्तान धर्म–सहिष्णु बन्न खोजेको हो भने सबै मन्दिर पूजा–अर्चनाका लागि खोलिनुपर्छ । हिन्दू धर्मावलम्बीहरूलाई निर्वाधरूपमा मन्दिरमा पूजा–अर्चना गर्ने वातावरण बनाउनुपर्छ । यति मात्रै होइन, अन्य धर्मावलम्बीलाई पनि धार्मिक–स्वतन्त्रता दिइनुपर्छ । अन्य धर्मावलम्बीले यसको आभास गरे मात्र त्यो धार्मिक स्वतन्त्रता हो, अन्यथा त्यो केवल देखाउने दाँत मात्र हुनेछ । 

सबै धर्मका मानिसलाई समान व्यवहार गर्नु राज्यको कर्तव्य हो । यो कर्तव्य–बोध हुन सके धर्म–असहिष्णुको बिल्ला भिरेको पाकिस्तानको छवि विश्व–समुदायसामु उचो हुनेछ ।