प्रतिनिधिसभाको प्रतिबैठक खर्च ७ लाख

प्रतिनिधिसभाको प्रतिबैठक खर्च ७ लाख

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

काठमाडाैं । प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि प्रतिबैठक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ । बैठक सञ्चालनका लागि सांसदहरुलाई दिइने बैठक र यातायात भत्ता तथा अन्य आवश्यक तयारीका लागि प्रतिबैठक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ।

यो खर्च भनेको संसद भवनको वार्षिक भाडा, पानी बिजुली, कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रसारणको चेकजाँच, जनशक्ति परिचालन लगायतका खर्चहरूको एकमुष्ट रकम हो।

बैठक बस्ने दिन मर्यादापालकलगायत सचिवालयका अन्य कर्मचारीहरू आधा घण्टाअघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। बैठकका पूर्व तयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च भइरहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

बैठक अवरूद्ध हुँदा पनि सचिवालयको यो खर्चमा भने कमी आउँदैन।

बैठक अवरूद्ध भए पनि सचिवालयले सांसदहरूलाई बैठक भत्ता बापत एक हजार र यातायात बापत १ हजार गरी प्रतिसांसद २ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ।

संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानीलगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए।

बैठक अवरूद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रूपमा रहने गर्दछ।