लोकसंवाद किन ?

लोकसंवाद किन ?

भूपराज खड्का  |  दृष्टिकोण  |  माघ १६, २०७५

नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट अघि बढ्दै छ । यो बाटो नेपालका लागि नविनतम छ । साथसाथै कम चुनौतीपूर्ण पनि छैन । मुख्य मुद्दा यो हो कि अहिले जनता मालिक भएका छन् । जनताले रोजेका जनप्रतिनिधिमा शासनाधिकार निहीत छ । 

यतिबेला यी दिन कसरी आए भन्ने प्रश्न अहम् हुन्छ । हो, यो दिन आउनुमा नेपाली सपुतहरूको योगदान स्तुत्य छ । धेरैले सहादत  गरेर हामी यो विन्दुमा आइपुगेका हौं । यसै कारण हामीले लोकसंवादको सार्वजनिकीकरण गर्न सहिद दिवसलाई रोजेका हौं ।

लोकतन्त्र हाम्रो विश्वास हो । लोकतन्त्र भनेको नागरिकले रोजेको र खोजेको शासन व्यवस्था हो । लोकसंवाद यसै विश्वासमा अडिग रहने छ । 

पछिल्लो समयमा नेपाली पत्रकारिताको विश्वसनीयतामा ह्रास आउँदै गएको तीतो यथार्थ पनि यदाकदा खटकिँदै गएको छ । खासगरी ठूला भनिएका र मानिएका मिडियामा आउने सामग्रीप्रति आम पाठक वर्गले विश्वास गर्न नसकेका कतिपय उदाहरण छन् । पत्रकारिताको माध्यमबाट अन्य पेशा व्यवसायमा फाइदा लिने गरेका चर्चा पनि चल्ने गरेका छन् ।

तर अबका दिन सहज छैनन् । विश्व साँघुरिएको छ । अनलाइन तथा 'न्यु मिडिया'ले पत्रकारिता क्षेत्रका त्यस्ता विसंगति पनि चिर्न थालेको छ । इमान र लगनमा चल्ने मिडियामा पाठकको ध्यान पुग्न थालेका छन् । पछिल्ला दिनमा ती उदाउँदा अपवाद बनेका छन् ।  हाम्रो प्रयत्न पाठकको त्यही विश्वासमा ठेस लाग्न नदिनु हुनेछ । हाम्री सत्यसँग सम्झौता गर्दैनौं । तथ्यांकलाई मिथ्यांक बनाउने चेष्टा हामीबाट हुने छैन । बरु हामी समाजका प्रमुख घटनाक्रममा सरोकारवालाहरूसँग संवाद तथा अन्तर्मन्थन गर्ने छौं । 

नेपाली पत्रकारिता कुनै दिन मिसन बन्यो । परिवर्तनको आन्दोलनको संवाहक पनि बन्यो । तर अब राजनीतिक रुपमा मुलुक स्थिर भइसकेको छ । यतिबेलाको हाम्रो दायित्व पृथक हुनुपर्छ । तटस्थ हुनुपर्छ । यति भनिरहँदा पनि नेपाली समाजमा अहिले पनि गरिबी छ । अशिक्षा छ । अन्धविश्वासले अझै जरो गाडेको छ । धेरै आवाजविहीनहरू छन् । हाम्रो दायित्व ती वर्ग र समुदायप्रति छ । हामी सदैव आवाजविहीनहरूका सही मुद्दामा सारथि बन्ने छौं । त्यो हाम्रो पक्षधरता हुने छैन । नेपाली समाजको यथार्थ र पत्रकारिताको दायित्व हुनेछ ।