नर्सरी व्यवसायबाट अन्यलाई पनि रोजगार दिन सकिने

नर्सरी व्यवसायबाट अन्यलाई पनि रोजगार दिन सकिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १८, २०७६

मोरङ । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण नर्सरी व्यवसायीले दिन थालेका छन् ।

विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर–१० स्थित ‘न्यू वाटिका नर्सरी’ का सञ्चालक शम्भुप्रसाद सिंह र उहाँकी धर्मपत्नी रितादेवी सिंहले आफ्नो जीवनको लामो समय नर्सरीको बोटबिरुवा हुर्काउँदै बिताउनुभएको छ । नर्सरीको आम्दानीबाट आफ्नो घरखर्च, छोराछोरीलाई शिक्षाका साथै पाँचजनालाई रोजगारीसमेत दिँदै आउनुभएको छ । 

 नर्सरी  व्यवसाय सञ्चालनका लागि जग्गा बढी चाहिने तर थोरै लगानी भए पनि पुग्ने र मेहनत भने धेरै लाग्ने सञ्चालक सिंहको भनाइ रहेको छ । न्यू वाटिका नर्सरीमा हाल १०० भन्दा धेरै फलफूलको बोटबिरुवा पाइने गरेको छ । नर्सरीमा भएको फूल र बोट बिरुवा स्थानीय बासिन्दाबीच लोकप्रिय भएको र धेरैले आफ्नो घर तथा बारीका लागि खरीद गरी लैजाने गरेको सिंहले बताउनुभयो । उक्त नर्सरीमा फूल र बोटबिरुवा धेरैजसो काठमाडौँ, भारतको कलकोत्ता, सिलगुडीबाट ल्याउने गरिएको छ ।

बोटबिरुवाका लागि आवश्यक पर्ने मल नर्सरीकै झरपातलाई कुयाएर, घरबाट निस्केको फोहरबाट बनाउने र नपुगे तोरीको पिना किनेर बनाउने गरेको उहाँले बताउनुभयो । ‘वार्षिकरुपमा कति बिक्री र आम्दानी गर्नुहुन्छ’ भन्ने प्रश्नमा स्पष्ट उत्तर उहाँले दिनुभएन, अन्यलाई रोजगारी र आफ्नो परिवार सुखीसाथ पालनपोषण गर्न पुगेको उहाँको भनाइ रहेको छ । 

  यस्तै विराटनगर–१२ स्थित हिमालय नर्सरीका सञ्चालक मोहम्मद काजिम अन्सारीले पुस्तादेखिनै  नर्सरी व्यवसाय सञ्चालन गर्दै आएको यो बाहेक अन्य काम गर्न पनि  नआउने बताउँदै नर्सरीमा महिला र पुरुष गरेर १० जनालाई रोजगारी दिएको बताउनुभयो । उहाँले यो व्यवसायमा धेरै मेहनत गर्नुपर्ने र सबैभन्दा समस्या वर्षामा व्यापार नहुने र घाटा हुने गरेको अनुभव व्यक्त गर्नुभयो । उक्त   नर्सरीमा भारतको कलकोत्ता, बनारस, लखनऊ र पुणाबाट बोटबिरुवा ल्याउने गरेको उहाँले जानकारी दिनुभयो । 

 नर्सरी छ कट्ठा जग्गामा रहेको र यहाँबाट नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रमा आएका मानिसले फलफूलको बिरुवा र काठको बिरुवा खरीद गरी लाने गरेको उहाँले बताउनुभयो । नर्सरीबाट सयपत्री, गोदावारी, पिटुनिया, सालबिया र लालुपाते फूलको बिरुवा बिक्री हुने रहेको छ भने काठको बिरुवामा टिक, सफेरो आदि रहेको उहाँको भनाइ छ ।  उहाँले समेत वार्षिक आम्दानी भन्न चाहनु भएन तर दैनिक सातदेखि १५ हजारसम्मको बिरुवा बिक्री हुने गरेको अनुमान लगाइन सकिन्छ ।

यस्तै अर्को  विराटनगर–१३ स्थित अर्नीका नर्सरीका सञ्चालक  हीरा अन्सारीले १४ कट्ठा जग्गामा २३ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । उक्त नर्सरीमा १२ देखि १४ जनासम्मलाई रोजगारी दिएको उहाँले बताउनुभयो । नर्सरीको वडा दशैँबाट शुरु भई फागुन मसान्तसम्म फलफूल बिरुवा धेरै बिक्री हुने समय रहेको बताउँदै उहाँले हाल सयपत्री फूलको बिरुवा घामपानीबाट जोगाउन द्रुतगतिमा काम भइरहेको जानकारी दिनुभयो ।  

 तीन सयभन्दा बढी बोटबिरुवा रहेको  यस नर्सरीबाट काठमाडौँ, पोखरा, हेटौँडा, धनगढीमा समेत बोटबिरुवा पठाउने गरेको उहाँले बताउनुभयो । नर्सरीबाट वार्षिक सबै खर्च कटाएर रु पाँच लाख आम्दानी हुने गरेको अन्सारीको भनाइ रहेको समाचार राससकाे लागि  अञ्जना पराजुलीले लेख्नु भएकाे छ ।