चन्द्र यान–२ः७ सेप्टेम्बरमा चन्द्र धरातल स्पर्श गर्नेछ

चन्द्र यान–२ः७ सेप्टेम्बरमा चन्द्र धरातल स्पर्श गर्नेछ

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण १८, २०७६

काठमाडौँ । भारतीय अन्तरिक्ष संस्था इसरोका बैज्ञानिकहरले चौथो पटक चन्द्र यान–२ को कक्ष (आर्बिट) परिवर्तन गरेको इसरो बुलेटिनमा उल्लेख गरेका छन् । 

इसरोले गराएको जानकारी अनुसार २ अगस्तका दिन दिउँसो ३ बजेर २७ मिनेट जाँदा चन्द्र यान–२ लाई पृथ्वीको अझ माथिल्लो आर्बिटमा पुर्‍याइएको छ । 

तेस्रो पटक चन्द्र यान–२ लाई २९ जुलाईका दिन पृथ्वीको ७१ हजार ७ सय ९२ किमि माथिल्लो कक्षमा पुर्‍याइएको थियो । त्यसको पाँचौँ दिनपछि २ अगस्तमा चन्द्र यान–२ लाई पृथ्वीको ८९ हजार ७ सय ४२ किमि माथिल्लो आर्बिटमा पुर्‍याइएको छ । ६ अगस्तमा चन्द्र यान यसै आर्बिटमा रहेर पृथ्वीको परिक्रमा गरिरहने छ । 

शेड्यूल अनुसार इसरोका वैज्ञानिकले ६ अगस्तमा पुनः यसलाई झनै माथिल्लो आर्बिटमा पर्‍याउने छन् । 

२२ जुलाईमा जीएसएलमी एमके–३ रकेटबाट प्रक्षेपण गरिएको चन्द्र यान–२ ४८ दिनमा चन्द्र अवतरण गर्नेछ । 

जीएसएलमी एमके–३ रकेटले प्रक्षेपणको १७ मिनेटमा नै यसलाई पृथ्वीको तल्लो आर्बिट (लो अर्थ आर्बिट)मा स्थापित गरेर आफ्नो काम पुरा गरेको थियो । त्यसपछि इसरोका वैज्ञनिकले २४ जुलाईमा चन्द्र यान–२ को आर्बिटर भनिने मुख्य यानको इन्जिन बालेर यसलाई ४५ हजार १ सय ६३ किमि माथिल्लो आर्बिटमा पुर्‍याएका थिए । यसै गरी दोस्रो पटक योजना अनुसार यसलाई २६जुलाईमा ५४ हजार ८ सय २९ किमि माथिल्लो आर्बिटमा हुत्त्याएको थियो। 

२९ जुलाईमा चन्द्र यान–२ लाई तेस्रो पटक  इन्जिन बालेर ७१ हजार ७ सय ९२ किमि माथि पुर्‍याइएको थियो । 

पृथ्वीबाट प्रक्षेपण गरिएको १२ औ दिन २ अगस्तका दिन चन्द्र यान–२ पृथ्वीदेखि ८९ हजार ४ सय ७२ किमि माथिल्लो आर्बिटमा पुगेको छ । 

आउने ६ अगस्तका दिन पुनः यसको इन्जिन बालेर यसलाई पृथ्वीको सबैभन्दा माथिल्लो आर्बिट १ लाख ४३ हजार ९ सय ५३ किमि माथि पर्‍याइने छ । त्यसको एक सातासम्म अर्थात् १४ अगस्तसम्म चन्द यान यसै उचाइमा रहेर पृथ्वीको परिक्रमा गरिरहने छ । 

१४ अगस्तमा पुनः चन्द्र यान–२ को इन्जिन प्रज्वलित गरेर यसलाई चन्द्रमाको यात्रामा पठाइने छ । ६ दिनको निरनतर यात्रा पछि यसले चन्द्रमाको आर्बिटमा (२० अगस्तमा) प्रवेश गर्नेछ । 

चन्द्रमाको आर्बिटमा प्रवेश गरेपछि पनि यसले चन्द्र धरातल टेक्न सेप्टेम्बर ७ सम्म पर्खिनुपर्ने हुन्छ । २० अगस्तदेखि ३ सेप्टेम्बरसम्म चन्द्र यान–२ले चन्द्रमाको आर्बिटमा रहेर चन्द्र परिक्रमा गरिरहन्छ ।  ३ सेप्टेम्बरमा

चन्द्र यान–२ को मुख्य भाग आर्बिटरबाट चन्द्रमामा गर्ने अर्को यान ल्याण्डर विक्रम विच्छेद (अनडक) भएर चन्द्रमामा ‍ओर्लिने तरखरमा लाग्ने छ ।  ३ सेप्टेम्बरदेखि बिस्तारै चन्द्र धरातल तिरको यात्रा गर्दै  ५ दिनपछि ७ सेप्टेम्बरमा ल्याण्डर विक्रमले चन्द्र धरातल स्पर्श गर्नेछ ।