सीताराम नेपाल | साहित्य | श्रावण १८, २०७६
काम गर्ने कालू मकै खाने भालु
'नारा पनि कति मिठो उन्नति प्रगतिकै आयो बाई । अब भने हाम्रा नेताले केही गर्छन् ।'
रमिते मख्ख पर्यो ।
'नारा त चुनाब घोषणा पत्रमा पनि कम्ताको राम्रो थेन त । त्यसैले पनि भोट माग्न सजिलो भा थ्यो ।'
उसले चुनाबताकाको उछलकूद झलक्क समझ्यो ।
'हुन पनि सबै चुनाबहरूमा झैँ नेतालाई गज्जबले सघाएँ नि मैले । उहाँ र म हलगोरुझैँ काधमा काध मिलाएर घर घरमा भोट माग्न जान्थेम बाई । तर चुनाब जितेदेखि मेरा नेता सबैका नेता भएकाले मैले एक्लै भेटनै सकिन । जहिले पनि उहाँलाई भिडले घेरेको घेर्यै।' भिडबाट 'हाम्रो कारणले चुनाब जित्नु भो । हामीलाई नबिर्सनु होला ,आश्वासन नभुल्नु होला...' भनेको सुनेर रमिते छक्क पर्यो 'यिनीहरू हाम्रो क्षेत्रका खटालु कार्यकर्ता हुदै होइनन् । कहाँबाट आए चुनाब जितेसी यी ? ...के गर्ने होल, उहाँलाई चुनाबमा जस्तो नजिकबाट भेट्न पाए यो मनमा कस्तो झकास हुन्थ्यो नि बाई । ...जेहोस ढिलै भए पनि मेरा नेता सत्तासिन भए सी के चाहियो र मलाई ? जसरी भएपनि एक्लै भेटेर खुसी साटेर गदगदिएको मनले बधाई तथा शुभकामना दिनु पर्यो' भन्दै रमिते फुर्केर नेता निबास गयो । तर जहिले पनि भिडले मच्छिन्द्रनाथको भोटो जात्राको भिडलाई उछिनेको देखि उ निसासिएर फर्कियो ।
'मेरा नेताले बोलेका कुरा पुर्याउन्, सुशासन दिन सकुन् , देश बिकास होस् , बेरोजगारीले काम पाउन्... फर्किदा उसले मनमनै शुभकामनाका शब्दहरू खेलायो । भोलिपल्ट भिड गर्ने अनुहारहरूले धमाधम राजनीतिक नियुक्ति पाएको खवर सुनेर रमितेले आफ्नो तिलचामले उमेर र राजनीतिक डिग्री झलझलि सम्झ्यो ।
बडाबड
आम चुनाबको अघिल्लो दिन
'ए भरिया दाइ म एउटा सजिलो काम दिन्छु गर्छौ ?'
'कस्तो काम होला कुन्नि ? गरम्ला नि के रे ।' घेरो फाटेको टोपी पन्छाएर टाउको कन्याउदै भरियाले दिएको जबाफमा प्रस्ताबकले थप प्रष्ट्यायो - 'काम अनौठो खालको तर सजिलो छ । पैसा पनि कुस्त आउछ ।'
'के काम हो लु दिनुहोस् काम ?' भरिया कस्सियो ।
' गर्न सकेनौ भने ठूलो सजाय हुन्छ नि मन्जुर ।' तामा तुलसी को साथमा हतियारधारी डनलाई देखाउदै भोट किनुवा कड्कियो ।
' हुन्छ त नि !' भरियाले मनमा डर र धाक देखाएर भोट किन्ने दिन गए बाबै । मलाई निरीह एक्लो भरिया देखेर हेपेको रु पख तँलाई जानेको छु भन्ठान्दै ढुक्क देखिएझै गरि जबाफमा भन्यो ।
' उसो भए लौ हिजो बेलुका भोज खुवाएर नोटको बिटो दिनेलाई भोट नदेउ त ।'
' ए ऽ यस्तो कामको त रेट व्हात्त बढेको छ हजुर । हामी सबै भरियालाई आजै बासको लागि जग्गा पास गरि दिने भए मैले मात्र होइन सबै भरियाको भोट हजुरको बक्सामा हाल्ने मेरो वचन भो । दिन सक्नु हुन्छ के बासको लागि जग्गा ?'
'पखलास तँनाथे भरियाको यत्रो फुर्ती ! तेरो शेषी नझारी कहाँ छाडौला र !' भन्दै भोट किनुवा फर्क्यो ।
उस्को बापबैरी दलले सरकार बनाएपछि सत्तारूढ दलमा प्रबेश गरेको भोट किनुबाले सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता भरिया जस्ता असङ्गठितलाई दिनु हुन्न भनेर वकालत गरेको देखेर त्यो भरिया चित खायो ।
खानगी
'आज पनि खाइयो कि क्या हो ? अनुहार त मलीन देखिन्छ नि ।'
अफिसबाट अलि ढिलो डेरामा पुगेको श्रीमानलाई श्रीमतीले सोधिन् ।
'खाइयो नि मज्जाले' मोजा खोल्दै श्रीमानले जवाफ दियो ।'
'आज चाहि कसले ख्वायो नि ?'
'त्यै मर्न नसकेको बीचको ख्याउटे हाकिमले ।'
'अस्ति पहिलोले, आज बीचकोले । किन खुवाउछन् तपाईंलाई तलबै खुवाएझै खप्की ?'
'त्यै एउटा हिसाब नमिलेको निहुँ छ नि अस्तिको । माथि के भनेर जबाफ दिने मैले भनेर र्याखर्यखति पार्यो ।'
'हेत्तेरिका कति साह्रो पेल्न सक्या होला रु हाकिमका वक् दृष्टिबाट बच्न मैले जसरी सङ्घ सङ्गठनमा लाग्नुस भन्या काना बतास लाग्या होइन अनि पेल्दैनन् त हाकिमहेरूले ?'
'महिनावारी तलबको आदाउदि उतै चन्दा सहयोग, लेबि आदिमा सकिन्छ अनि के खान लाग्नु भनेर नलाग्या नि ।'
' मैले चाहि कसरी चाँडै बढुवा भइवरि तलब चोख्खै जोगाकी छु त नि ?'
' मलाई राम्रोसँग थाहा छ त्यति पनि बुझ्दिन त म ?'
श्रीमानले त्यति भन्नासाथ श्रीमति झस्किन् - ' लौजा हाकिमहेरूको करतुत यिनले थाहा पाए कि क्या हो ?'
भन्ठान्दै सोधिन् -'के थाहा छ भन्नुस त ?'
त्यसैबेलामा उनले दिउँसोको घट्ना सम्झिन- 'आज त्यै मझौला हाकिमले मसङ्ग छिल्लिन लाग्दा मुखभरिको जबाफ द्या थेँ त्यो रिस यिनलाई पोखेछ ।
अस्ति पहिलो हाकिमले हातै बढाको थ्यो धन्न छलेर जोगिएँ। यिनलाई यी बोके हाकिमहेरूका असली कुरा भनौ कि ! जे भा नि लोग्ने हो । .... हैट यस्तो नारीजातिको कमजोरी पनि भन्छन् त ? यिनी पनि शङ्काको भारि लोग्नेमान्छे हुन् । बात लगायो भने के गर्नु ? ... अध्यारो मुख लगाएर मनमा कुरा खेलाउदै गर्दा श्रीमानले जबाफ गर्यो -'तिमीले अड्डामा हाजिर गरी मस्केर गफ दिए पुग्छ । सङ्घमा पनि मेकअप गरि उपस्थित भए पुग्छ ...।'
'के रे के रे ? हेप्या हो ? हाकिमका करतुत थाहा नपाएको पक्का भएपछि प्रशन्न हुदै श्रीमतिले लाडिएर ब्यङ्गय हानिन् -'खप्की खान नपुगेको ! पख तिमीलाई जान्या छु ?'
- 'के गर्छ्यौ ?'
खितखिताएर हास्दै - 'बुध्दु तिमी कुरा बुझ्दैनौ नारीजातिको ।'
श्रीमतिको अगालोमा बेरिएको श्रीमानले भन्यो- 'सुतिरहेको छोरा उठ्ला नि !'