‘खाना बहिष्कार गर्नुभएका केपी ओलीले मैले ल्याएको भनेपछि बर्न भिटा खानुभयो’

व्यक्ति एक, व्यक्तित्व अनेक

‘खाना बहिष्कार गर्नुभएका केपी ओलीले मैले ल्याएको भनेपछि बर्न भिटा खानुभयो’

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  श्रावण १८, २०७६

गंगाप्रसाद उप्रेती (७२), अहिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति हुनुहुन्छ । लामो समय त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा प्राध्यापन गर्नुभएका उप्रेती साहित्यलेखनमा, विशेषगरी नियात्रा र समालोचनामा सक्रिय हुुनुहुन्छ । विद्यार्थीकालमै निर्दलीय पञ्चायतविरोधी आन्दोलनका क्रममा झण्डै तीन वर्ष जेल जीवन विताउनु भएको छ । 

लोकसंवादले उप्रेतीसँग उहाँका जीवनका उतारचढाव, साहित्ययात्रा र प्रज्ञाप्रतिष्ठानसँग सम्बद्ध विभिन्न सवालबारे खोजी गरेको छ ।

विद्यालय जीवनमै राजनीतिक चेत

गंगाप्रसाद उप्रेती पूर्वी पहाडी जिल्ला तेह्रथुममा वि. सं. २००४ फागुन महिनामा जन्मिनुभएको हो । निम्नमध्यम वर्गीय आर्थिक पृष्ठभूमि भएको परिवारमा जन्मिनुभएका उप्रेतीको बाल्यकाल धेरै दुखद् भने रहेन । त्यस बेला नेपालमा शैक्षिक हिसाबले समृद्ध ठाउँ मानिन्थे– पूर्वका भोजपुरको दिङ्ला र तेह्रथुमको आठराई । त्यही आठराई क्षेत्रमा जन्मिनुभएका उप्रेतीले शिक्षा, दीक्षाको राम्रो अवसर पाउनुभयो । वि. सं. २०१२ मै आठराईमा समाजसेवी देवीप्रसाद उप्रेतीको पहलमा स्थापित प्रणामी विद्यालयमा भर्ना भएर औपचारिक शिक्षा आरम्भ गर्नुभयो गंगा उप्रेतीले । लगत्तै आठराईकै पोखरीमा पोखरी हाई स्कुल सुरु भयो– २०१६ सालमा । प्रणामी विद्यालयमा प्राथमिक तह पूरा गरेपछि उहाँ पोखरी हाई स्कुल भर्ना हुनुभयो र त्यहीँबाट २०२१ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो ।

उसबेला धेरै नेपालीले शिक्षा प्राप्त गर्न सकेका थिएनन् । भर्खरभर्खर जहानियाँ राणा शासनको अन्त्य भई देशमा राजनीतिक, शैक्षिक स्वतन्त्रता अभ्यास भइरहेको बेला थियो । त्यस्तो बेला विद्यालयहरूमा पढाउने शिक्षकको समेत नेपालमा अभाव थियो । यही कारण भारतको दार्जिलिङ, सिक्किमतिरबाट पढाउन शिक्षकहरू आउने गर्थे । पोखरी हाई स्कुलमा पनि केही राजनीतिक चेत भएका शिक्षकहरू पढाउन आउनु भएको थियो  । उनीहरूसँगै बल्लभमणि दाहाल, देवीप्रसाद काफ्ले जस्ता प्रगतिशील चेत भएका गुरुहरूले पनि उप्रेतीलाई पढाउनुभयो । उप्रेती भन्नुहुन्छ, ‘सायद उहाँ (गुरु)हरूको प्रत्यक्ष, परोक्ष प्रोत्साहनले हो, हामी केही साथीहरू राजनीतितिर लाग्यौँ ।’ 

विद्यालय जीवनमै राजनीतिक रूपले सचेत हुँदै गरेका गंगा कलेजमा पुग्दा निकै सक्रिय भइसक्नुभएको थियो राजनीतिमा । आठराई क्षेत्रकै चुहानडाँडामा वीरेन्द्र इन्टर कलेज स्थापना भएको थियो– २०१७ सालमै । उहाँले त्यहीँबाट प्रवीणता प्रमाणपत्र तह पूरा गर्नुभयो । उता कलेज पढ्दै आफैँ पढेको पोखरी हाई स्कुल पढाउँदै पनि गर्नुभयो उहाँले । तराईमा रहेको स्कुलको आम्दानीको स्रोत जग्गा खोलाले बगाइदिएपछि विद्यालय बन्द हुने अवस्था आएकाले एक वर्ष उहाँले सोही स्कुलमा स्वयंसवी रूपमा पढाउनुभयो । पछि २०२९ सालसम्म उहाँले त्यहाँ पढाउनुभयो ।

बीएको परीक्षा २०२६ सालमा प्राइभेटबाट दिनुभयो । एमए पहिलो वर्षको परीक्षा दिएर फर्कंदै गर्दा उहाँ पक्राउ पर्नुभयो । दोस्रो वर्षको परीक्षा जेलबाटै दिनुभयो ।

जेल जीवन

राजनीतिक चेतयुक्त २२–२५ को ठिटो । निर्दलीय पञ्चायतको दबदबा एकातिर, अर्कातिर निरंकुशताविरोधी आन्दोलन उठ्ने तयारीमा रहेको समय । उहाँलगायतका सोही स्कुलमा पढाइरहेका केही शिक्षक मिलेर पञ्चायतलाई चुनौती दिन विविध कार्यक्रम गर्थे । तत्कालीन सरकारले समानान्तर स्थानीय सरकार गठन गरेको आरोप लगायो । यसपछि राजद्रोहको अभियोगमा उहाँलगायत केही शिक्षकलाई पक्राउ गरियो । राजकाज मुद्दामा जेल हालियो । 

गंगा उप्रेतीसँग राजनीतिक चेतसँगै साहित्यिक चेत पनि रहेछ उसबेलामै । विद्यालय पढ्दाखेरी नै कविता लेख्न थाल्नुभएका उप्रेतीको साहित्यिक झुकाव एसएलसीपछि बढ्न थाल्यो । उहाँलगायतका केही साथी मिलेर आठराईमै साहित्य संगम नामक संस्था स्थापना गर्नुभयो, २०२२ सालमा । उक्त संगमले विभिन्न साहित्यिक गतिविधि गरिरह्यो । सँगसँगै राजनीतिक चेतना अभिवृद्धिका लागिसमेत त्यस क्षेत्रमा सक्रियता देखाउन थाल्यो । 

उप्रेतीलाई बर्न भिटा कसैले ल्याइदिएको रहेछ । सोही बर्न भिटा बनाएर चौकिचारसँग उप्रेती पनि ओलीलाई राखेको ठाउँमा जानु भएछ । ओलीले सुरुमा बर्न भिटा पनि खान मान्नुभएनछ, चौकिदारले उप्रेती सरलाई देखाए र मैले आफूले ल्याएको भनेपछि बल्ल खानुभयो उप्रेती भन्नुहुन्छ ।  

वि. सं. २०२५ मा साहित्य संगमले मेची अंचलस्तरीय साहित्य सम्मेलन गर्‍यो । मेची अंचलस्तरीय भनिए पनि उक्त सम्मेलनमा काठमाडौं, भारतको दार्जिलिङ, आसाम, सिक्किमदेखिका लेखक, साहित्यकार सहभागी रहेका उप्रेती बताउनुहुन्छ ।

भारतमा नक्सलवादीहरू उठिरहेको समय थियो त्यो । भारतको सीमावर्ती झापामा नक्सवादी आन्दोलनको प्रभाव नपर्ने कुरै भएन । त्यही बेला झापाका किसानहरूले विद्रोह गर्न तयारीमा थिए । उता निर्दलीय पञ्चायतविरुद्धको जनमत पनि बढिरहेको अवस्था थियो । त्यही समयमा मनमोहन अधिकारी नेतृत्वको नेकपा पूर्व कोसीले पूर्वमा संगठन विस्तार गरिरहेको थियो । उक्त पार्टीको संगठन विस्तार गर्ने समूह २०२५ सालमा आठराई पुग्यो । त्यही समूहमार्फत् गंगा उप्रेतीले कम्युनिस्ट पार्टीको औपचारिक रुपमा सदस्यता प्राप्ता गर्नुुभयो । (संभवतः हालका नेकपा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि त्यस बेला पार्टी सदस्यता लिनुभएको थिएन)।

यसैबीच झापा आन्दोलन चर्कियो । तत्कालीन कम्युनिष्ट पार्टीभित्र दुई धार देखापरे आन्दोलनलाई लिएर । पार्टी संगठन र विस्तार एक्सनबाट हुन्छ भन्ने धार बलियो देखियो । यस धारले एक्सनको स्वरूप व्यक्ति हत्यालाई अगाडी बढायो । पहाडी क्षेत्रमा यसै कारण व्यापक सरकारी दमन सुरु भयो । सोही क्रममा २०२९ सालमा उप्रेती पनि पक्राउ पर्नुभयो । राजकाजको मुद्दा लाग्यो । 

पक्राउपछि उप्रेतीलाई तेह्रथुमबाट धनकुटा हुँदै विराटनगर पुर्‍याइयो । विराटनगरबाट राजविराज लगियो र अन्त्यमा काठमाडौं ल्याइयो । काठमाडौंमा जेल जीवनकै क्रममा उप्रेतीको मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, राधाकृष्ण मैनाली, केपी शर्मा ओली, रामशरण महतलगायतका नेतासँग भेट भयो ।

केन्द्रीय कारागार नख्खुमा पाँच–छ महिना बसेपछि उप्रेती छुट्नुभयो, २०३१ को अन्त्यतिर । त्यसपछि नख्खु जेलमा ल्याइयो त्सबेलाका चर्चित विद्रोही सीपी मैनालीहरूलाई । मोहनचन्द्र अधिकारी र केपी शर्मा ओलीहरू पहिल्यैदेखि त्यहीँ हुनुहुन्थ्यो । 

केपी शर्मा ओलीसँग एकै ठाउँका भएकाले पहिल्यैदेखि सम्पर्क र चिनजान भएको उप्रेती बताउनुहुन्छ । तत्कालीन पार्टीको व्यक्ति हत्यको नीतिको विरुद्ध रहेका केपी, मोहनचन्द्रहरू त्यस आन्दोलनबाट टाढिएर केही समय भारत गएका र भारतबाट फर्कंदै गर्दा रौतहटबाट मोहनचन्द्र र केपीलाई पक्राउ गरिएको उप्रेती बताउनुहुन्छ । उहाँहरूलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको थियो, जुन निकै कष्टपूर्ण थियो ।

धर्मप्रसाद मारिँदा केपी आठराईमै

झापा विद्रोहका क्रममा मारिएका धर्मप्रसाद ढकालको हत्याको विषयमा अहिले पनि निकै बहस हुने गर्छ । ढकालको हत्याको दोष वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाउने गरिएको पनि सुनिन्छ । तर गंगा उप्रेती भने त्यसो नभएको बताउनुहुन्छ । उहाँका अनुसार धर्मप्रसाद ढकालको झापामा हत्या हुँदा केपी ओली आठराईमा हुनुहुन्थ्यो । ओली र शहीद रामनाथ दाहाल संगठन विस्तारकै क्रममा आठराईमा रहनुभएको उप्रेती सम्झनुहुन्छ ।

ढकालको हत्या ढकालकै मोहीबाट भएको भनेर सुनेको उप्रेती बताउनुहुन्छ । ढकालका मोही अम्बरबहादुर कार्कीले त्यस वर्ष धान कम फलेका कारण धर्मप्रसाद खलामै आएर तथानाम गाली गरे आफ्ना परिवारको बेइज्जत गरेको हुँदा आफूले धर्मप्रसादलाई मारेको बताउने गरेको सुनिएको उप्रेती बताउनुहुन्छ । 

इकिन यही हो भनेर कसैले भन्न नसकेको अवस्था भए पनि आफूले सुनेको कुरा यही भएको उप्रेतीको भनाइ छ ।

उहाँहरू (ओली र रामनाथ) विद्यार्थी नै हुनुहुन्थ्यो । तमोरको किनारमा उहाँहरूमाथि आक्रमण भयो । तितरबितरका क्रममा ओली हराउनुभयो । धेरैले ध्रुव ओली (केपीको गाउँघरको नाम ध्रुव थियो) तमोरमा फालहानेको हल्ला फैलियो ।  पछि उहाँले पनि पौडी खेलेर बाँचेको बताउनुहुन्थ्यो’, उप्रेती भन्नुहुन्छ । त्यही बेला ओली र दाहालसँग रातभर आन्दोलनबारे निकै लामो कुराकानी भएको उप्रेती बताउनुहुन्छ ।‘रामनाथ भन्नुहुन्थ्यो– आन्दोलनका क्रममा हामी मध्यम वर्गीय पहिला मारिनसक्छौँ । नभन्दै त्यस्तै भयो, उहाँ अगाडि मारिनुभयो’, उप्रेतीले भन्नुभयो ।

भएछ के भने, संगठन विस्तारकै क्रममा आठराई पुगेका रामनाथलाई झापा ल्याउन केही मानिस आठराई पुगेछन् । रामनाथ झापा आइपुगेपछि सुराकीको फन्दामा परेर मारिएछन् । ओली भने त्यस बेला पनि आठराईमै हुनुहन्थ्यो रे !

व्यक्ति हत्याको विपक्षमा थिए रे ओली तर रामनाथ भने आन्दोलनमा एक्सनको स्वरूप व्यक्ति हत्यालाई नै मान्ने पक्षमा थिए रे ! छलफलकै क्रममा उप्रेतीले रामनाथलाई भन्नुभएको थियो रे–‘एउटा कुखुराको घाँटी रेट्न नसक्ने हामीबाट व्यक्ति हत्या कसरी संभव छ, यो हुनसक्दैन ।’ झापा आन्दोलनबारे आजसम्म पनि एकमत हुन नसकेको उप्रेतीको बुझाइ छ ।

त्यही क्रममा तत्कालीन पार्टी जिल्ला सचिव राधाकृष्ण मैनाली निकै बिरामी पर्नुभयो । त्यसपछि सीपी मैनालीलाई सचिव बनाउने कुरा भयो । तर बीचमा केपी ओलीको नाम आयो । केपी आर्थिक र वर्गीय हिसाबले पनि कम्युनिस्ट पार्टीको सचिवका लागि उपयुक्त भन्ने अधारमा ओलीलाई सचिव बनाउने लगभग निश्चित थियो, फेरि सीपी मैनालीलाई नै सचिव बनाइएछ । उसबेला एउटा हल्ला चल्यो– केपीलाई हटाएर सीपीलाई सचिव बनाइयो भन्ने । तर उक्त हल्ला निराधार भएको उप्रेतीको भनाइ छ ।‘अन्य कुनै कारणले सीपीजी सचिव हुनुभएको हो, केपीजीलाई हटाएर होइन’, उप्रेती भन्नुहुन्छ ।

‘केपीलाई बर्न भिटा दिएँ’

मोहनचन्द्र अधिकारी र केपी शर्मा ओलीलाई रौतहटमा पक्राउ गरेर केन्द्रीय कारागार ल्याएर गोलघरमा राखिएको थियो । उहाँहरूलाई चरम अमानवीय यातना दिइएको थियो । उक्त यातनाबाट पीडित बनेका ओलीले जेलको खाना बहिष्कार गर्नुभएछ । खाना बहिष्कारपछि उहाँको स्वास्थ्य कमजोर बन्दै गएपछि चौकीदारले आएर उप्रेतीलाई भनेछन्,‘झापाबाट ल्याइएका मान्छेले खाना खान मानेनन्, लौ न सर (उप्रेती शिक्षक भएकाले सर भन्थे रे !) केही गर्नुपर्ने भयो ।’

खाना बहिष्कारको कारण रहेछ– जेलमा बिष हालेर खाना दिन्छन् र मार्छन् भन्ने त्रास ।

उप्रेतीलाई बर्न भिटा कसैले ल्याइदिएको रहेछ । सोही बर्न भिटा बनाएर चौकिचारसँग उप्रेती पनि ओलीलाई राखेको ठाउँमा जानु भएछ । ओलीले सुरुमा बर्न भिटा पनि खान मान्नुभएनछ, चौकिदारले उप्रेती सरलाई देखाए र मैले आफूले ल्याएको भनेपछि बल्ल खानुभयो उप्रेती भन्नुहुन्छ ।  

साहित्ययात्राः पोखरी हाई स्कुलदेखि कुलपतिसम्म

वि.सं. २०१८ मा गंगाप्रसाद उप्रेती पोखरी हाई स्कुलमा विद्यार्थी युनियनका सचिव हुनुहुन्थ्यो । दार्जिलिङबाट पढाउन आएका शिक्षकहरूले राजनीतिक चेतना त जगाइदिएकै थिए, साहित्यिक गतिविधि र लेखनमा समेत सक्रिय हुन प्रेरित गर्थे । उप्रेतीमा रहेको सिर्जनशीलता पनि पोखरी हाई स्कुलबाटै प्रस्फुटन हुन थालेको हो । 

०१८ सालमै विद्यालयले कविता गोष्ठी गरेको थियो । उक्त गोष्ठीमा पहिलो कविता लेखेर सुनाउनुभयो उप्रेतीले–‘वसन्त’ शीर्षकमा । उहाँलाई उक्त कविताका दुई पंक्ति अझै याद छन् ।

ऋतुको राजा वसन्त आयो कोइली करायो,
मधुर वनमा फूलहरू फुले रमाइलो मन भयो ।

उप्रेतीलाई भाषाशास्त्री, साहित्यकार बल्लभमणि दाहालले पनि साहित्यलेखनमा प्रेरित गर्नुभयो । दाहालले त्यसबेलाका महत्त्वपूर्ण साहित्यिक पत्रपत्रिका त्यहाँ उपलब्ध गराउनुहुन्थ्यो । उप्रेतीलगायतका विद्यार्थीहरूले ती पत्रपत्रिका नियमति पढ्ने गर्थे, जसका कारण साहित्यलेखनमा रुचि बढ्यो ।

स्कुलमै साहित्यिक पत्रिका‘कुम्भकर्ण’ प्रकाशन सुरु भयो, साहित्य संगमबाट‘संगम सूधा’ पनि प्रकाशन गर्न थालियो । अब आफूले लेखेका सिर्जना प्रकाशन गर्न अप्ठ्यारो भएन । त्यसो त अन्य शिक्षालय (विद्यालय, कलेज)मा पनि साहित्यिक पत्रिका प्रकाशनको लहर चल्यो । ती धेरैजसो पत्रिकामा उप्रेतीका सिर्जना प्रकाशन हुन थाले । यसले थप हौसला मिल्यो उहाँलाई ।

वि. सं. २०२१ सालको त्यसबेलाको चर्चित साहित्यिक पत्रिका‘रूपरेखा’मा‘उषा’ र‘रजनी’ शीर्षकका दुई कविता प्रकाशन भए । त्यसपछि साहित्यमा थप उत्साहित भएर लाग्न प्रोत्साहन गरेको बताउनुहुन्छ उप्रेती । 
कविताबाट सुरु भएको उप्रेतीको साहित्ययात्रा अब समालोचनातर्फ मोडियो । ०२२ सालमै भद्रपुरबाट निस्कने‘भानु’ पत्रिकामा उप्रेतीको‘नेपाली साहित्यः हाम्रा समस्या र समाधान’ शीर्षकमा समालोचना प्रकाशन भयो ।‘त्यसपछि भानु र रूपरेखाका सम्पादकसँग पनि सम्पर्क भएकाले ती पत्रिकामा नियमित लेख्ने काम भयो’, उप्रेतीले भन्नुभयो ।

पछिपछि अन्य पत्रिपत्रिकामा केही कथा र निबन्ध पनि लेख्नुभयो उप्रेतीले । उहाँको‘बर्बादीको घेराभित्र’ नामक उपन्यासको पाण्डुलिपि अझै गर्भमै रहेको छ । कहिले गर्भबाहिर निस्कने हो, ठेगान छैन भन्नुहुन्छ उप्रेती ।

२०१८ सालदेखि साहित्ययात्रा सुरु गर्नुभएका उप्रेतीको पुस्तक भने २०४४ सालमा आएर मात्र प्रकाशन भयो । विश्वविद्यालयमा प्राध्यापनकै क्रममा भाषा अध्ययनका लागि ०४२ सालमा उहाँ इटली जानुभयो । इटलीबाट फर्किएपछि उहाँले इटली रहँदाका बखत लेखनुभएका निबन्धहरूलाई संगृहीत गरेर‘स्मृतिका छालमा इटली’ नामक नियात्राकृति प्रकाशन गर्नुभयो । उक्त कृति नै उहाँको पहिलो प्रकाशित कृति बन्यो । त्यसपछि समालोचनाको पुस्तक आयो‘दृष्टिकोणका विविध बिसौनी’ २०४६ सालमा । आजसम्म उप्रेतीका एक दर्जन बढी कृति बजारमा आइसकेका छन्, जसमा निबन्ध र समालोचनाको संख्या बढी छ ।‘कविताबाटल सुरु भएको मेरो साहित्ययात्रा पछि निबन्ध र समालोचनामा बढी फस्टाएछ’, उप्रेती भन्नुहुन्छ ।

५४ वर्षपछि कविताकृति

उप्रेतीले स्कुल पढ्दादेखि नै कविताबाट साहित्ययात्रा सुरु गर्नुभए पनि उहाँको कविताकृति भने लेखन सुरु गरेको ५४ वर्षपछि मात्र प्रकाशन भयो ।

सन्दर्भ रहेछ, भानु द्विशतवार्षिकीको । उप्रेती नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति हुनुहुन्थ्यो । उक्त कार्यक्रममा जानुभएका उप्रेतीको दार्जिलिङबाट आउनुभएका साहित्यकार डा. जीवन नाम्दुङसँग भेट भएछ । नाम्दुङले उप्रेतीसँग सोध्नुभएछ–‘मेचीका सुसेली कविता लेख्ने गंगा उप्रेती र यो गंगा उप्रेतीमा के फरक छ ?’

उप्रेतीले भन्नुभएछ–‘एउटै हो ।’

नाम्दुङकै जिज्ञासा र सुझावका कारण उप्रेतीलाई लागेछ–‘अब कविताकृति प्रकाशन गर्नुपर्ला ।’ अन्ततः २०७२ सालमा उहाँको कविताकृति जन्मियो, बाह्रौँ कृतिका रूपमा– चक्रव्यूह । 
अनि राजनीति छाडियो

राजनीतिक सक्रियताकै कारण तीन वर्ष जेल सजाय भोगिसकेर जेलमुक्त भएपछि उप्रेतीलाई लाग्यो रे–‘म राजनीतिका लागि उपयुक्त होइन ।’ यसै कारण उहाँ विश्वविद्यालय पढाउनतिर लाग्नुभयो । जेलमै रहँदा एमए पास गरिसक्नुभएका उहाँले जेलबाटै एलएलबी पनि गरिसक्नुभएको थियो । उहाँ जेलमुक्त हुँदा राजनीतिमा पनि त्यति राम्रो अवस्था थिएन । जुन पार्टीको सदस्यता लिएर उहाँ सक्रिय हुनुहुन्थ्यो, त्यस पार्टीमा पनि मतभेद र विभाजनका रेखा कोरिँदै थिए । उहाँले सोच्नुभएछ–‘बरु प्राध्यापन र साहित्यलेखनमै लाग्छु ।’

त्यसपछि २०३२ देखि नै उहाँ विश्वविद्यालयमा पढाउन थाल्नुभयो । उहाँलाई विश्वविद्यालयले राजविराज पठायो । राजविराजमै रहँदा केही नेपाली भाषा, साहित्यप्रमीहरूको सक्रियतामा जन्मियो– साहित्य सन्ध्या, जुन आज पनि काठमाडौंमा सक्रिय छ– वामपन्थी स्रष्टाको छाता संस्थाका रूपमा ।

उप्रेतीको सक्रियता साहित्यलेखन र साहित्यिक अभियान अनि क्याम्पसमा प्राध्यापन एकसाथ रह्यो । सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुने बेलामा उहाँको अवकास भयो– २०६७ सालमा ।

उहाँको गुनासो छ– प्राध्यापकमा बढुवा हुने बेला उहाँमाथि अन्याय गरियो । दुई वर्ष समयावधि बाँकी रहँदै उहाँले प्राध्यापकको परीक्षा दिनुभयो । रिजल्ट आउने बेला उहाँको कार्यकाल बाँकी नै थियो तर कार्यकाल सकिएको भनेर उहाँको नाम निकालिएन । पछि मुद्दा हाल्नुभयो उप्रेतीले, उहाँकै पक्षमा फैसला त भयो तर त्यसबेला भने उहाँको समयावधि सकिएर अवकास भइसक्नुभएको थियो ।

२०६७ मा उप्रेती विश्वविद्यालयबाट अवकास हुनुभयो । त्यही बेला नयाँ राजनीतिक व्यवस्थाअन्तर्गत बनेको ऐनअनुसार नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने निकाय नेपाल प्रज्ञाप्रतिष्ठानमा उपकुलपतिका लागि उहाँ सिफारिस हुनुभयो ।

तीन कार्यकाल प्रज्ञाप्रतिष्ठानमा

दोस्रो जनआन्दोलनपछि बनेको नयाँ संरचनाअनुसार नेपाल प्रज्ञाप्रतिष्ठानमा कुलपति राजा रहने परंपरा अन्त्य गरी जनताको छोरो कुलपति बन्ने व्यवस्था भयो । यसअन्तर्गत वरिष्ठ कवि वैरागी काइँला कुलपति र गंगाप्रसाद उप्रेती उपकुलपति बन्नुभयो । उहाँको उपकुलपतिको कार्यकाल सन्तोषजनक नै रहेको बताउनुहुन्छ उप्रेती । 

त्यसपछि उहाँ पुनः कुलपति नियुक्त हुनुभयो प्रज्ञाप्रतिष्ठानमा । आफ्नो कार्यकालमा नेपाली भाषा, साहित्य र कला, संस्कृतिको अन्तर्राष्ट्रियकरण र व्यापक प्रचारप्रसार प्राथमिकतामा रहेको बताउनुहुन्छ उप्रेती । भन्नुहुन्छ–‘मेरो पहिलो कार्यकाल (कुलपति भएपछिको)मा नेपाली भाषा, साहित्यको अन्तर्राष्ट्रियकरणलाई महत्त्व दिएको छु । सार्कस्तरीय भाषा, साहित्य संगठन निर्माणको क्रममा छ ।’

त्यसो त प्रतिष्ठानको भौतिक संरचनालाई पुनर्निर्माणको काम, नियमित महोत्सव, सभा, सम्मेलन र प्रकाशनका कामलाई पनि निरन्तरता दिनु नै थियो । त्यही बेला एउटै प्रज्ञाप्रतिष्ठानलाई तीनवटा बनाइयो । स्वाभाविक रूपमै बजेट पनि बाँडफाँट हुने नै भयो । सोचेका सबै काम पूरा गर्न अप्ठ्यारो भएको उहाँको अनुभव छ । 

आफूलाई योजनाअनुसार काम गर्न बजेट नपुगेको सरकार समक्ष गुनासो गरेपछि अहिले भने पाँच करोड थप गरेर १७ करोड पुर्‍याइएकाले केही नयाँ काम गर्ने सोच रहेको उप्रेतीको भनाइ छ ।

साहित्यिक संग्रहालय सपना

उप्रेतीको सपना छ– एउटा राम्रो साहित्यिक संग्रहालय स्थापना गर्ने । त्यसका लागि सरकार र सरोकारवालासँग छलफल भइरहेको उहाँ बताउनुहुन्छ । पुराना साहित्यकारहरूका कृतिलगायत विभिन्न साहित्यिक चिजहरू संग्रहालयमा सुरक्षित गर्ने योजना उप्रेतीले सुनाउनुभयो । भन्नुभयो–‘बाँकी रहेका पुराना काम अबको केही समयमै पूरा हुन्छन्, त्यसपछि गर्ने भनेको साहित्यिक संग्रहालय स्थापना नै हो ।’ यसका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि पनि पहल गरिरहेको उहाँ बताउनुहुन्छ ।

साथै सातै प्रदेशलाई चिनाउने प्रदेश प्रोफाइल पनि तयारीका क्रममा रहेको उप्रेतीले जानकारी दिनुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धतालाई पूरा गर्ने दायित्व पनि प्रज्ञाप्रतिष्ठानमै आइलागेको र त्यो पनि सहजतापूर्वक सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको उप्रेतीको भनाइ छ ।