आपत्कालीन कोषले आयआर्जनमा टेवा पुर्याउँदै

आपत्कालीन कोषले आयआर्जनमा टेवा पुर्याउँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १९, २०७६

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२, तिलकीका मंगलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँड्नु पर्दैन । 

ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन गरिएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि उहाँले सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । 

न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न थालेका छन् । समितिमा ६२ जना नदीको उच्च जोखिममा रहेका परिवार आबद्ध छन् । आबद्ध सदस्यको समितिमा पाँच लाख रूपैयाँ बचत रहेको छ । नदीको बगर संरक्षण गरी समितिमा आबद्ध २७ सदस्यले नौ बिघामा उखु खेती गरेका छन् । मल र बीउ खरिदका लागि सबैले समितिबाट ३० हजारदेखि रु ५० हजार रूपैयाँ आवश्यकताका आधारमा ऋण लिएका छन् । 

गत वर्ष समितिमा आबद्ध सदस्यले चार बिघा जग्गामा उखु खेती गरी एक हजार क्विन्टल उखु उत्पादन गरेका थिए । जुन पाँच लाख ५५ हजार रूपैयाँमा बिक्री भएको थियो । बिक्रीको १० प्रतिशत रकम समितिको आपत्कालीन कोषमा जम्मा गरी बाँकी रकम समितिका सदस्यले आम्दानीका रूपमा राखेको समितिमा आबद्ध भंगी रानाले बताउनुभयो । 

खेर गएको बगर संरक्षण गरी प्रतिवर्ष समितिमा आबद्ध सदस्यले उखुखेती गरी एक लाखदेखि एक लाख ५० हजार रूपैयाँसम्म आम्दानी गरिरहेका छन् । दोदा र वनहरा नदीले जग्गा कटान गरी बगाउँदै आएको थियो । स्थानीय जगतबहादुर रानाले भन्नुभयो, ‘बालुवा नै बालुवाले भरिएको बगरमा घाँस रोपेर संरक्षण ग¥यौँ । त्यसपछि बगरमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहयोगमा समिति गठन गरी उखु रोपेपछि आम्दानी हुन थालेको छ । आम्दानीसँगै नदीले जग्गा कटान गर्न छाडेपछि सुरक्षित तरिकाले बस्न सकेका छौँ ।’ 

नदीले जग्गा कटान गरेपछि ९ वर्षअघि विस्थापनमा परेका १७ परिवार बाढीपीडित बगर संरक्षण भई नदीको जोखिम कम भएपछि पुनः पुरानै ठाउँमा फर्केर उखुखेतीमा संलग्न भएका छन् । 

उखु रोप्ने, हेरचाह गर्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने र मिलमा लगेर बिक्री गर्ने कार्यसमितिका सदस्यले पालो मिलाएर गर्दै आएका छन् । जसबाट समय, श्रमको बचत भई सामूहिक कार्य गर्ने बानीले समाजमा मिलेर कार्य गर्ने हौसलासमेत थपिन थालेको स्थानीयवासीको भनाइ रहेको खबर राससमा छ ।