भारतीय चन्द्रयान–२ ले खिचेका सुन्दर तस्बिर

भारतीय चन्द्रयान–२ ले खिचेका सुन्दर तस्बिर

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण १९, २०७६

काठमाडौं, इसरो ट्विटर । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान-२ को चन्द्रमामा अवतरण गर्ने यान ‘ल्याण्डर विक्रम’ले खिँचेका पृथ्वीका मनमोहक तस्बिर सार्वजनिक गरेको छ । 
इसरोले यी तस्बिर आफ्नो माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् आइतबार ४ अगस्तमा सार्वजनिक गरेको हो । 

ल्याण्डर विक्रममा जडान गरिएको एलआई-४ क्यामराबाट शनिबार ३ अगस्तमा यी तस्बिर खिँचिएका थिए । 

२२ जुलाईमा पृथ्वीस्थित भारतको आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट प्रक्षेपित गरिएको चन्द्रयान-२ को मुख्ययान ‘आर्बिटर’ अहिले पृथ्वीदेखि ८९ हजार ७ सय ४२ किमिमाथिको आर्बिटमा रहेर पृथ्वीको परिक्रमा गरिरहनेछ । यसअघि २ अगस्तका दिन इसरोका वैज्ञानिकले चौथो चरणको ‘सेड्युल’ अनुसार चन्द्रयानलाई यस उचाइमा पुर्याएका थिए । पृथ्वीबाट प्रक्षेपित गरेपश्चात् अहिलेसम्म इसरोका वैज्ञानिकले ४ पटक चन्द्रयान-२ को आर्बिट परिवर्तन गरिसकेका छन् । 

प्रत्येक पटकको आर्बिट परिवर्तनमा चन्द्रयान-२ पृथ्वीदेखि झन् झन् टाढा हुँदै गइरहेको छ । चन्द्रयान-२ आउँदो ६ अगस्तका दिनसम्म यसै उचाइमा (८९७४२ किमि) रहनेछ । अगस्त ६ मा दिउँसो २ः३० देखि ३ः३० का बीच इसरोले यसलाई पृथ्वीको झनै माथिल्लो आर्बिटमा (१४३९५३ किमि) पठाउने ‘सेड्युल’ छ । 

इसरोले निर्धारित गरेको विभिन्न चरण पार गर्दै अन्ततः प्रक्षेपण गरिएको ४८ दिनपछि चन्द्रयान-२ को ल्याण्डर विक्रमले ७ सेप्टेम्बरका दिन चन्द्र अवतरण गर्नेछ । ल्याण्डर विक्रम र यसभित्र रहेको ‘रोभर प्रज्ञान’ले ‘चन्द्रमाको एक दिन अवधि’सम्म अर्थात् ७ सेप्टेम्बरदेखि २१ सेप्टेम्बरसम्म काम गर्नेछन् । ज्ञातव्य छ, चन्द्रमामा हुने ‘एक दिन र रात्रि’को समय पृथ्वीका २७.३ दिन-रात बराबरी हुन्छ । भनौं, त्यहाँको एक दिनको अवधि पृथ्वीको १४ दिनजति र रात्रिको अवधि पृथ्वीको १४ रात्रि बराबर हुन्छ । 

पुनश्च, चन्द्रमाको एक महिना र एक वर्षको अवधि एक समान २७.३ (पृथ्वीका दिन)को हुने गर्छ । 

हेरौं, इसरोले सार्वजनिक गरेका चन्द्रयान-२ ले खिचेका तस्बिर ।