सर्पसम्बन्धी कार्यशालामा १२ जना विज्ञद्वारा कार्यपत्र प्रस्तुत

सर्पसम्बन्धी कार्यशालामा  १२ जना विज्ञद्वारा कार्यपत्र प्रस्तुत

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण २०, २०७६

पाल्पा । नेपालमै पहिलोपटक काली नदी उत्तरबाहिनी क्षेत्रमा राष्ट्रिय सर्पसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ ।

पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ् नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवनको रामपुर र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कार्यशाला  सम्पन्न भएको हो ।

सर्पको धार्मिक एवं वैज्ञानिक महत्वका विषयमा डाक्टर तथा प्राध्यापकले वृहत् छलफल गर्नुभएको थियाे  । कार्यशालाले अन्तर्राष्ट्रिय सर्प दिवस नागपञ्चमीमा मनाउनका लागि दबाब दिने योजना रहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

डाक्टर प्रमोद ढकाल, बेदप्रसाद पाण्डे, तुल्सी खनाललगायत गरी १२ जना डाक्टर तथा प्राध्यापकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वन तथा कृषि विश्वविद्यालय चितवनका प्राध्यापक डाक्टर शारदा थपलियाले सर्पका प्रजाति, सर्पबाट बच्न के गर्ने, यसको संरक्षण कसरी गर्ने, सर्पका कारण मानव जीवनका फाइदाका सन्दर्भमा प्रष्ट्याउनुभएको थियो ।

कार्यक्रममा विगत केही वर्ष अगाडिदेखि सर्पलाई जम्मा गर्ने, सर्पको आहार, यसको बारेमा खोजी गरिरहनुभएका सागर पाण्डे र यामप्रसाद भण्डारीले सर्पका प्रकार, यसबाट बच्ने उपायका सन्दर्भमा सबैलाई प्रयोगात्मक ज्ञान सीप सिकाउनुभएको थियो ।

धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा रहेको उत्तर बाहिनीमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाने योजनाले कार्यशाला त्यहाँ आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । स्याङ्जाको मालुङ्ग र पाल्पाको रम्भा गाउँपालिका वडा नं १ हुँगी बिचमापर्ने कालीगण्डकी उत्तरबाहिनी धार्मिक अनुसन्धानका निम्ति उपयुक्त भएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।

त्रेता युगमा भगवान राम आएर बसेको स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा राम्दी नाम रहेको जनविश्वास छ । काली नदी उत्तरतर्फ फर्केर बगेकाले धार्मिक महत्वका रुपमा लिने गरिन्छ । स्याङ्जाको गल्याङ्को वडा नं १ र पाल्पाको रम्भा गाउँपालिका मिलेर आधुनिक अङ्ग्रेजी गुरुकुलसमेत सञ्चालनमा ल्याएको रम्भाका अध्यक्ष भण्डारीको भनाइ छ ।

कालीगण्डकी क्षेत्रमा १०८ शिवलिङ्ग र मन्दिर निर्माण गरिएको छ । योग साधनाका साथै प्राकृतिक चिकित्सालयको स्थापना गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ । कालीगण्डकी क्षेत्रको प्रचारप्रसार हुँदा धार्मिक पर्यटनका माध्यमबाट मुक्तिनाथ जाने भारतीय पर्यटकलाईसमेत आकर्षण गर्न सकिने उहाँको भनाइ छ ।

कालीगण्डकी करिडोर नजिकै रहेकाले पनि यस क्षेत्रको धार्मिक विकास हुने र पर्यटकका निम्ति आकर्षणको रुपमा रहने अध्यक्ष भण्डारीको विश्वास रहेका छ ।