'रेड गोल्डेन' स्याउः रानी मत्ता–गुराँसेको अब इतिहास

'रेड गोल्डेन' स्याउः रानी मत्ता–गुराँसेको अब इतिहास

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २०, २०७६

 सुर्खेत। एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुराँसे स्याउका लागि प्रख्यात थियो ।

घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहाँ विश्राम लिने गर्दथे ।

गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए । कोशेलीका रुपमा पनि यात्रुहरुले स्याउ किनेर लैजान्थे । गुराँसेको स्याउ भने अब इतिहास बनिसकेको छ ।

पछिल्लो एक दशकयता गुराँसे–रानीमत्ता क्षेत्रमा स्याउका बोट देखिन छाडेका छन् । लटरम्मै फलेका स्याउ देखेका त्यतिबेलाका पैदल यात्रीहरु आजभोलि बोट समेत नदेख्दा अचम्मित हुने गरेका छन् । गुराँसे बजार भारतीय स्याउले ओगटेको छ । गुराँसे लेकाली हावापानी भएको क्षेत्र हो ।

विसं २०४० मा दैलेखको माथिल्लो गाइबान्ना, रानीमत्ता र गुराँसेका बासिन्दाले ‘रेड गोल्डेन’ जातको स्याउ रोपे । बगैंचा बनाउन ऋण सापट गरी जुम्लादेखि बोटहरु खरिद गरे । शुरु–शुरुमा राम्रै फल्यो । स्याउबाट मनग्य कमाउने कृषकको आशा धेरै वर्ष टिकेन । बोटहरु सुक्दै गए । तापमान वृद्धिकै कारण स्याउ बगैंचा फाँडेर ४० भन्दा बढी कृषकहरु अहिले व्यावसायिक तरकारी  खेती गरिरहेका छन् ।

सेरी गाइबान्नाका कृषक रुद्रप्रसाद पौडेलले कृषि विकास बैंकबाट झिकेको ऋण नतिर्दै स्याउका बोटहरु सुकेको गुनासो गर्नुभयो । 'बचेका बोटको फल पनि राम्रो लागेन, हावापानीले मेल नखाएपछि बगैंचा फाड्नुपर्‍यो,' पौडेलले भन्नुभयो – 'अहिले आलु, काउली, बन्दा, मुला लगायतका तरकारी खेती गरेका छौं ।' किसानले १५ देखि ५०० बोटसम्म रोपेका थिए । 'प्रतिबोट  ५० मूल्य परेको थियो, पचास एकाउन्न सालदेखि स्याउ खेती बिग्रदै गयो, सुक्न र राम्रो फल नलागेपछि बगैंचा मास्यौं,'पौडेलले भन्नुभयो ।

'शुरुका वर्षहरुमा स्याउ राम्रै फलेको थियो, एउटै बोटले ६०० जति दाना दियो,' अर्का कृषक दीपक पौडेलले भन्नुभयो – 'शुरुतिर रसिलो थियो । पछि दाना स–साना भए । स्वाद पनि हराउँदै गयो ।' यहाँको ३०० रोपनीमा दुई हजार ५०० स्याउका बोट रोपिएको थियो । कतिपय कृषकले बोट खरिद गर्दा लागेको ऋण तरकारीको आम्दानीले तिरे । स्याउ खेती गर्दा लिएको रु १० हजार ऋण तिर्न नसक्दा बैंकले स्थानीयवासी पे्रम ढकालको जग्गा नै लिलाम गरेको थियो । उहाँले सबैभन्दा बढी ५०० बोट रोप्नुभएको थियो । स्याउका लागि हावापानी अनुकूल नहुँदा प्रेमजस्ता थुपै्र विपन्न कृषकले ऋण तिर्न सकेनन् । 'बगैंचा बनाउँदा यसरी डुबिएला भन्ने पत्तै पाइएन, बैंकले जग्गा जफत गरिदियो' ढकाल गुनासो गर्नुहुन्छ – 'शुरुका केही वर्ष राम्रै फल्यो । त्यतिबेला सुर्खेत–दैलेख सडक थिएन । पैदल हिँडेर स्याउ बेच्न सुर्खेत झर्नुपदथ्र्यो । जब सडक आयो, तब स्याउ फल्न छाड्यो । ऋणमा मात्रै डुबायो ।' एकाउन्न सालमा सुर्खेत–दैलेख सडकको ट्र्याक खुल्यो । त्यसअघि पैदल आउजाउ गर्नुपथ्र्यो । गुरा“सेबाट थोक मूल्यमा खरिद गरी डुंगेश्वर, घोडाबास, चुप्रा, धरमपोखरा, गोठीका“डावासीले बिक्रीका लागि लैजान्थे ।

रुख सुक्दै जानु, दाना पनि राम्रो नलाग्नु, स्वादिष्ट नहुनु, बेमौसममा फुल्न र फल्न थालेपछि किसानले स्याउ मासेका हुन् । लेकाली हावापानी भए पनि पछिल्ला वर्ष गुराँसेमा गर्मी बढ्दै गएको छ जसको प्रत्यक्ष असर मध्यपहाडी क्षेत्रमा फल्ने स्याउ हराउँदै गएको छ । समुद्री सतहबाट गुराँसे रानीमत्ता दुई हजार १९८ मिटर उचाइमा अवस्थित छ जुन सुर्खेतसँग सीमा जोडिएको दैलेखको दक्षिणी गुराँस गाउँपालिकामा पर्दछ ।

कृषि ज्ञान केन्द्र दैलेखका कृषि प्रसार अधिकृत नरेन्द्र थापाले ‘रेड गोल्डेन’ जातको स्याउलाई बढी चिस्यान आवश्यक पर्ने बताउनुभयो । 'रेड गोल्डेन जातलाई हिउँ बढी पर्ने र बाहै्र महीना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त मानिन्छ,' उहाँले भन्नुभयो – 'जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो । त्यसकै परिणाम गुराँसेको हावापानी स्याउका लागि प्रतिकूल बनेको हो ।' कृषकले स्याउको फल नपाए पनि तरकारीबाट राम्रो प्रगति गर्दै आएका छन् । सुर्खेत–दैलेख सडक कालोपत्रे भएपछि यहाँबाट सुर्खेत एक घण्टामै पुगिन्छ । तरकारी खेतीबाटै अधिकाँश कृषकले सुर्खेत उपत्यकामा घर–घडेरी किनेका छन् तर, मौसममा आएको फेरबदलले मुख्य आयस्रोत तरकारी खेतीमा प्रत्यक्ष असर पुग्न थालेकामा कृषक चिन्तित छन् । विभिन्न रोगकीराका कारण तरकारीको उत्पादकत्व पनि घट्दो अवस्थामा छ । गुराँसे रानीमत्ता क्षेत्रमा सबैभन्दा बढी सिँचाइ र खानेपानीको समस्या  रहेकाे समाचार राससकाे लागि छ प्रकाश अधिकारीले लेख्नु भएकाे छ ।