पानी त जोगियो तर...

पानी त जोगियो तर...

विजय सिंह ठकुराय  |  ज्ञानविज्ञान  |  श्रावण २०, २०७६

इन्टरनेटको आभाषी दुनियामा विचरण गरिरहँदा कहिलेकाहीँ मनोरञ्जकका साथै ज्ञानवर्धक सामग्री पनि भेटिन्छन् । 

यसै क्रममा एकदिन मैले एउटा विचित्रको तस्बिर फेला पारेँ । अमेरिकाको क्यालिफोर्निया प्रान्तको लस एन्जेल्स सहरको एउटा दृश्य थियो, उक्त तस्बिरमा । सहरको एउटा जलाशय माथि पौडिरहेका काला बल । चाख  लागेर खोज्दै जाँदा थाहा पाए, यस जलाशयमा ९ करोड ६० लाख काला बल थुपारिएका रहेछन् । होइन, यो कुनै किसिमको विश्व-कीर्तिमान राख्ने चाहनाले प्रेरित भएर गरिएको कृतय होइन । यो त तिर्खा मेटाउने अभियानमा अन्वेषण गरिएको अनौठो र हास्यास्पद लाग्ने भए पनि अचूक प्रयोग पो रहेछ । 

भनिन्छ- क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ऊष्ण क्षेत्रमध्ये पर्छ । लस एन्जेल्स सहर संसारका अन्य ठूला सहरजस्तै पानी आपूर्तिको ठूलो समस्या छ । 

सहर किनारमा अवस्थित १ सय २५ एकड क्षेत्रमा विस्तृत यस जलाशयमा ३ अर्ब ग्यालेन पानी भण्डारण हुन्छ । गर्मीयाममा पानीलाई तीव्र वाष्पीकरणबाट जोगाउन ‘रिफ्लेक्टिभ कोटिङ’ गरिएका बल प्रयोगमा ल्याएका छन् । योजना अनुसार पूरै जलाशयको माथिल्लो सतहलाई यी बलले ढपक्क छोपिएको छ । पानीमाथि रहेका यी काला बलले सूर्यको किरणलाई परावर्तित गरिदिन्छ । भनाइको अर्थ सूर्यका किरण र पानीको सम्पर्क हुँदैन । यसरी पानी र सूर्य किरणमा हुने सम्बन्ध रोकेर त्यहाँका वैज्ञानिकहरूले गर्मीयाममा हुने वाष्पीकरणलाई ९० प्रतिशतसम्म रोक्ने सफलता पाएका छन् । वैज्ञानिकहरूले यस विधिका माध्यमबाट प्रतिवर्ष ३० करोड ग्यालेन पानीलाई वाष्पीकरण हुनबाट जोगाएका छन् । 

काला रोदको यस प्रयोगले पानी वाष्पीकरण हुनबाट मात्र जोगाएको छैन । वरन यसले एउटा अर्को पनि महत्वपूर्ण कार्य गरेको छ । जस्तो कि तपाईँहरूलाई थाहै छ, पानीमा प्रायः ब्रोमाइड भन्ने रसायन रहेको हुन्छ । यो रसायन सामान्य अवस्थामा मानव स्वास्थ्यका लागि हानिकारक छैन । तर, यदि पानीमा क्लोरिन पनि रहेको छ भने क्लोरिन र ब्रोमाइडले सूर्य प्रकाशको उपस्थितिमा क्रिया गरेर अर्को नयाँ रसायन ब्रोमेटमा रूपान्तरित हुने स्वभाव बोकेका हुन्छन् । यो ब्रोमेट भने मानव स्वास्थ्यका लागि अति नै खतरानाक हो, यो क्यान्सर कारक हो । 

यस जलाशयको पानीमा बन्ने गरेको ब्रोमेटको अत्यधिक मात्रा सबैका लागि टाउको दुखाइ रहिआएको थियो । पानीमा धोलिएको ब्रोमाइडलाई पानीबाट छुट्याउने उपाय थिएन, यो असम्भव प्रायः नै हो । र, क्लोरिन प्रयोग नगरी पानी शुद्ध कसरी बनाउने ?

यस्तो अवस्थामा पानीमा ब्रोमेट बन्नबाट रोक्ने एक मात्र उपाय पानी र सूर्य प्रकाशको सम्पर्कविच्छेद गर्नु नै रहेको थियो । जहाँ समस्या त्यहाँ उपाय भनेजस्तै अन्ततः वैज्ञानिकहरूले बलबाट सम्पूर्ण जलाशय ढाकेर वाष्पीकरण र ब्रोमेट उत्पादन दुवैमा विराम लगाउने सफलता हात पारे । 

वैज्ञानिकहरूले उपाय त गजबकै खोजे । वर्षेनी ३० करोड ग्यालेन पानी बचाए, क्यान्सरकारक रसायनबाट जोगाए । अब यही विधि अन्य जलाशयमा पनि प्रयोगमा ल्याउने उपक्रम बढेको छ । मानिसका हकमा बलको यो प्रयोग लाभदायक साबित भएको छ । तर, यसको सफलताले एउटा नयाँ समस्या जन्माएको छ । जुन समस्याबारे सायद अहिलेसम्म वैज्ञानिकहरूको ध्यान आकृष्ठ भएको छैन । 
जलाशयको पानी मानिसका लागि मात्र होइन, लाखौं चराचुरुंगीले पनि यसै पानीबाट आफ्नो तिर्खा मेटाउने गर्छन् । तिनले के गर्ने ? 

के यस पृथ्वीमा मानिसलाई मात्रै बाँच्ने अधिकार छ ? पृथ्वीका समस्त कुरामा उसको मात्रै अधिपत्य कायम हुने ! मानिस भन्दा इतरका सबै प्राणीको बाँच्ने अधिकार छैन र ? 

अर्को कुरा, बलको यस प्रयोगले पानीभित्र हुने सबै किसिमका वनस्पति पनि समूल नष्ट भएका छन् । वैज्ञानिकहरूले यसलाई आफ्नो उपलब्धिमा गनेका छन् । 

के पृथ्वीको सर्वोत्कृष्ट रचना मानिने मानिसको परिभाषामा ‘जीवन भनेको मानिस मात्रै हो ?’

पानीभित्र हुने अनेक प्रकारका जलीय जीवन के उसका लागि फगत ‘छन् ठीकै, नभए केही छैन’ जस्तै हो ?