भारत–पाकिस्तान म्याच !

लाेकस‌वाद टिप्पणी

भारत–पाकिस्तान म्याच !

आशिष पौडेल  |  समाचार  |  माघ १७, २०७५

एउटा समाचार प्रकाशमा आएको छ जसलाई फ्रण्टलाइन पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन । जसमा देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्ड सम्म संगै दखिएका छन, समाचार हो धुर्मुस–सुन्तली फाउण्डेशनले अब चितवनमा अन्तराष्टिय रंगशाला निर्माण गर्ने । 

२०७२ सालको भूकम्प पछि मूसहर बस्ती बसाएर चर्चामा आएका धुर्मस–सुन्तलीले त्यसपछि अरु तीनवटा सामूहिक बस्ती निर्माण गरे । सरकारले भूकम्प पिडितका नाममा अनेक योजना अघि सारे पनि त्रिपाल सम्म पर्याप्त मात्रामा बाँड्न नसकेपछि उनीहरुको चर्चा चुलिएको हो । 

राम्रो कामको प्रशंसा हुनु स्वभाविकै हो । तर जुन बस्तीका कारण उनीहरु चर्चामा आएका थिए त्यो चर्चा वीर अस्पताल सुधारमा आउँदा सम्म टिकेन भनौं वा चलेन । त्यसपछि उनीहरुले वीर अस्पतालको त्यो काम कत्तिको फत्ते गरे जनसाधारणलाई त्यति जानकारी छैन । मन्त्री पद्मा अर्यालको हस्तक्षेपका कारण त्यो पूरा भएन भन्ने तर्क पनि छ । तर त्यसमा सहमत नहुनेको जमात पनि बाक्लो छ । 

अब फेरि फर्कौं रंगशाला निर्माण तर्फ । वीर अस्पतालको काम फत्ते नगरेका उनीहरु फेरि के आधारमा रंगशाला निर्माणमा जुटेका छन । कुनै पनि देशको  बाटोघाटो, पुल, रंगशाला आदि जस्ता पूर्वाधारलाई उसको समृद्धिको मानकका रुपमा पनि हेर्ने गरिन्छ । के उनीहरुको फाउण्डेशन यसका लागि उपयुक्त छ । के यस्तै निर्माणको कुनै अनुभव छ फाउण्डेशन संग ? 

सामान्य स्टेशनरी खरिदका लागि समेत सार्वजनिक खरिद ऐन र टेण्डर आह्वान नगर्दा सरकारी कर्मचारी अख्तियारको फन्दामा परेका बग्रेल्ती उदाहरण छन । तर अन्तर्राष्ट्रिय स्तरको रंगशाला जस्तो निर्माण कार्यमा के कुनै ग्लोवल टेण्डरको आह्वानको आवश्यकता परेन । उनीहरुलाई के का आधारमा भरतपूर नगरपालिकाले जग्गा उपलब्ध गरायो के यसका बारेमा सामान्यजनले जानकारी पाउनु पर्दैन ?

२० विघा ६ कट्ठा जमिनमा ३ अर्बको लागतमा २ वर्ष भित्र बन्ने भनिएको यस रंगशालामा फूटबल देखि टेनिस कोर्ट, बास्केटबल, भलिबल, ब्याडमिण्टन देखि डण्डीबियो सम्मका खेल खेल्न मिल्ने आकर्षण बाँडिएका छन् । के क्रिेकेट रंगशाला भित्र यी सबै खेल संचालन गर्न मिल्छ ? 

क्रिकेटको सामान्य जानकारी सम्म राख्नेलाई के थाहा छ भने क्रिेकेटको पिच निर्माण सबैभन्दा महत्वपूर्ण हो । जसका लागि अनुभवी क्यूरेटरको वर्षौंको मेहनत आवश्यक पर्छ । के त्यसमा हामी फूटबल गुडाउन सक्छौं । जबकी खेलका बखत पिचका बारेमा खेलाडीलाई सचेत बनाउन अम्पायरले जरिवाना सम्म गरेका धेरै उदाहरण छन् । पिच बिगारेर खेल जित्न लागिपर्ने खेलाडीका बारेमा धेरै समाचार चर्चामा रहने गरेका छन् । के हामी निर्माण नहुँदैको क्रिकेट रंगशालाको पिचमा फूटबल खेलाउने सुरमा छौं । 

कुनै व्यापारीले आफ्नो निजी लगानीमा रंगशाला निर्माण गर्छ भने यसमा आपत्ति गर्नुपर्ने कुनै आधार रहँदैन । रंगशाला व्यापारिक प्रयोजनका लागि पनि हो वर्तमान २१औं शताव्दीको वैश्य युगमा । के यो रंगशालमा फाउण्डेशनको कुनै अन्य नियोजित व्यापारिक स्वार्थ त छैन ? प्रश्न दर्‍होसंग उभिन्छ । 

फाउण्डेशनले आफ्नो निजी लगानीमा रंगशाला निर्माण गर्न लागेको भए प्रश्न  गर्ने कुनै आधार हुने थिएन । विनोद चौधरीले चौधरी ग्राममा निर्माण गरेको शाश्वत धाममा कसैले प्रश्न उठाएको छैन । र त्यो आधार पनि छैन । 

सरकारका कार्यकारी संग संगै मञ्चमा उभिएर अन्तराष्ट्रिय रंगशाला बनाउन चन्दा दिनुस भनेर फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले अनुरोध गरिरहँदा देश बनाउँछु, देश सुधार्छु, विकास गर्छु, रेल, तेल, जहाज, बिजुलीका ठुला कुरा गर्ने प्रमुख कार्यकारी स्वयं हाँसोका पात्र हुन पुगेका त छैनन । यसले कार्यकारीलाई नर्सरीका बालकझैं ‘सेम’, ‘सेम’ भन्नुपर्ने त होइन । 

रंगशालासंग जोडिएको अर्को चर्चित प्रसंग छ, मेयर रेणु दाहालको । दाहालले अझ एक कदम अघि बढेर भनेकी छन यसमा भारत पकिस्तान बीचको म्याच गराउने । हुनत राजनीतिमा यसअघि पनि धेरै ‘जोक्स’ नसुनिएका होइनन्, तर जे होस यसबीचमा यो ‘जोक’ नै उत्कृष्ट रह्यो । साताको उत्कृष्ट ‘जोक’ क्रिकेट रंगशाला ।