सुन अहिलेसम्मकै महँगो, तोलाको ६८ हजार

सुन अहिलेसम्मकै महँगो, तोलाको ६८ हजार

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०७६

काठमाडौं । शुक्रबारदेखि उकालो लागेको सुन अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६८ हजार पुगेको छ । सोमबार भने यसको मूल्य ६७ हजार ८ सय रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि सोही गतिमै उकालो लागेको छ । सोमबार प्रतितोला ६७ हजार ५ सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार ६७ हजार ७ सय पुगेको छ । 

पछिल्ला पाँच दिनयता सुन प्रतितोलामा पाँच हजार रूपैयाँ बढेको छ । संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजारमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको मूल्य शनिबार ६५ हजार ८ सय र आइबार ६६ हजार ३ सय रूपैयाँमा खरिद–बिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि महँगिएको संघले जनाएको छ । संघका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ६२ अमेरिकी डलर पुगेको छ ।

अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व, भारतको जम्मु–काश्मिरमा आएको राजनीतिक परिवर्तन, अमेरिकी फेडरल रिजर्भ बैंकको व्याजदर ०.२५ प्रतिशतले घट्नु लगायत कारणले सुनको मूल्य बढिरहेको जानकार बताउँछन् । 

स्रोत : नेपाल सुनचाँदी व्यवासायी संघ ।