रासायनिक मल नपाउँदा किसान निराश

रासायनिक मल नपाउँदा किसान निराश

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०७६

बाँके । रासायनिक मलको अभावका कारण यहाँका किसान निराश बनेका छन् ।

रासायनिक मल खरिदका लागि दैनिक सयौं किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरे पनि मलको मौज्दात सकिएका कारण उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । 

बाँकेमा रासायनिक मल खरिद-बिक्रीको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीमा किसानको माग बढी हुने बेला रासायनिक मलको मौज्दात रित्तिएपछि कृषक समस्यामा परेको कार्यालयका निमित्त प्रमुख रमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार आइतबार मात्रै एक हजार बोरा युरिया मल जिल्लाका ७६ वटा सहकारीलाई वितरण गरिएपछि अब मौज्दात सकिएको छ । 

आव २०७६/७७ का लागि मल आयात गर्न ढिलाइ हुँदा अभाव सिर्जना भएको हो । केन्द्रबाट मल नआएपछि जिल्लामा अभाव भएको छ । कृषि सामग्री कम्पनीको केन्द्रीय कार्यालयले नयाँ आर्थिक वर्षका लागि मल खरीद गरिसके पनि भदौ पहिलो हप्तासम्म मात्रै नेपालगञ्ज आइपुग्ने पौडेलले जानकारी दिनुभयो । 

धान रोपेको २१ दिनपछि किसानलाई युरिया मल आवश्यक पर्ने भएृकाले यो बेला मल नपाउँदा कृषक उत्पादन कम हुने चिन्तामा रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो । उहाँका अनुसार बाँकेमा करिब ९७ प्रतिशत कृषकले धान रोपिसकेका छन् । मुख्यबाली धान रोपेका किसानले बेलैमा मल हाल्न नपाउँदा चिन्तित हुनु स्वभाविक भएको उहाँको बुझाइ रहेको छ । 

मलका लागि दैनिक रूपमा किसान सहकारी संस्थाहरूमा पनि धाउने गरेका छन् । कोहलपुरस्थित साझा सहकारीका अध्यक्ष पारसनाथ थारूले दैनिक १०० बढी किसान युरिया मलको लागि आउने गरेको भए पनि किसानलाई मल दिन नसकिएको बताउनुभयो । अघिल्लो आवमा एक हजार ४८० क्वीन्टल ५० किलो युरिया मल बिक्री गरिएको भए पनि यस वर्ष मल खरिद गर्न नपाएको उहाँको भनाइ छ । 

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख पौडेलका अनुसार कम्पनीको क्षेत्रीय कार्यालयले आव २०७५/७६ को असार मसान्तसम्म रासायनिक मल चार हजार ६०० टन, डिएपी एक हजार ९७२ र पोटास ४९ टन बिक्री गरेको छ । कम्पनीले युरिया तीन हजार टन, डिएपी एक हजार ६०० र पोटास ७० टन बिक्री गर्ने वार्षिक लक्ष्य लिएको खबर राससमा छ ।