दुर्व्यवहार  न्यूनीकरणको उपायः बा–आमाको सम्पत्ति  शेषपछि मात्र  हस्तान्तरण

दुर्व्यवहार  न्यूनीकरणको उपायः बा–आमाको सम्पत्ति  शेषपछि मात्र  हस्तान्तरण

निर्जला कक्षपति  |  जीवनशैली  |  श्रावण २१, २०७६

कहिलेकाहीँ सोच्ने गर्छु– छोरालाई बाबुको सम्पत्तिको अंशियार बन्न सक्ने प्रावधान कानुनमा नहुँदो हो त वृद्ध बा–आमाले छोरा–बुहारीबाट दुर्व्यवहारको सिकार हुनुपर्ने थिएन कि ? यसको मतलब बाबुको सम्पत्ति स्वतः पाउने भएका कारण छोरा–बुहारीले हेला गरे भन्ने होइन । वा सबै छोराबुहारीले वृद्ध बा–आमालाई हेला गर्छन्  भन्ने पनि होइन ।

कति बा–आमाको त केही सम्पत्ति हुँदैन, छोराछोरीले आफै काम गरेर माथि उठेका प्रशस्त उदाहरण पनि छन् । कर्मशील मानिसले पैत्रिक सम्पत्तिमाथि आशा राख्दैनन् र बाँचुन्जेल जन्मदिने मातापितालाई देवताझैं मान्छन् । र, बा–आमालाई खुसीसाथ राख्छन् । ‘पित्तृदेवो भवो’ भनेर बा–आमाको बाँचुन्जेल सेवा गर्ने छोरा–बुहारी पनि समाजमा धेरै छन् ।

वृद्धवृद्धाप्रति हुने गरेको दुव्र्यवहारको प्रश्न उठाइरहँदा अथवा भनौं छोरा–बुहारीले बा–आमालाई राम्रो गरेनन् भनिरहँदा धेरैलाई लाग्न सक्ला– यदि छोराले राम्रो गरेनन् भने छोरीले हेरे पनि हुने नि ? 

यस्तो लाग्नु स्वाभाविक पनि हो । अर्काको घरमा बिहे गरी पठाएको छोरीबाट हामी धेरै आशा राख्न सक्दैनौं । अर्काको घरमा दिएको छोरीले आफ्नै घरको सासू–ससुरालाई गर्नु पर्ने जिम्मेवारी बोकेकी हुन्छिन् भन्ने कुरा बिर्सनु हुँदैन । यति हुँदाहुँदै पनि बा–आमालाई दुःख परेका बेलासँगै बसेर दुई थोपा आँसु झार्ने, बा–आमाको खुसीसँगै बसेर हाँसी दिने, बा–आमालाई माया गर्ने अनि चहर्‍याइरहेको घाउमा मलमपट्टी लगाउने छोरी समाजमा धेरै नै हुन्छन् । आफूलाई दुःख परेका बेला कसैले मिठो बोलिदियो भने पनि ठूलो ढाडस मिल्ने अनुभव वृद्धवृद्धाले सुनाउने गरेका छन् । बा–आमासँग मिठो बोल्ने अनि मन राखिदिने कुरामा छोराभन्दा छोरी नै अगाडि रहेको अनुभव अधिकांश बा–आमाले सुनाउँछन् । 

छोरा हुन् वा छोरी, दुवै बा–आमाले नै जन्माएका सन्तान हुन् । छोरा जन्मनेबित्तिकै बा–आमाले यति धेरै आशा अपेक्षा राखेका हुन्छन् कि छोराले कमाएर आफूलाई पाल्छ, बुढेसकालमा हेर्छ र सेवा गर्छ भन्ने भ्रमबाट बा–आमा ग्रसित हुने गरेको पाइन्छ । त्यसैले त छोरालाई निजी विद्यालयमा पढाउने र छोरीलाई सरकारी विद्यालयमा पढाउने बा–आमा समाजमा रहेको पाइन्छ । छोरालाई दूध भात खान दिने र छोरीलाई तरकारीको झोलसँग भात खान दिने बा–आमाको कमी समाजमा छैन । ‘छोरा पाउँदा खसी र छोरी पाउँदा फर्सी’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । आफूले जुन कुरामा धेरै आशा राखेको हुन्छ, त्यो पूरा नहुँदा अथवा भनौं प्रतिफल नआउँदा धेरै बा–आमा दुःखी र पश्चाताप हुनु स्वभाविक हो ।   

छोरालाई निजी विद्यालयमा पढाउने र छोरीलाई सरकारी विद्यालयमा पढाउने बा–आमा समाजमा रहेको पाइन्छ । छोरालाई दूध भात खान दिने र छोरीलाई तरकारीको झोलसँग भात खान दिने बा–आमाको कमी समाजमा छैन । ‘छोरा पाउँदा खसी र छोरी पाउँदा फर्सी’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । आफूले जुन कुरामा धेरै आशा राखेको हुन्छ, त्यो पूरा नहुँदा अथवा भनौं प्रतिफल नआउँदा धेरै बा–आमा दुःखी र पश्चाताप हुनु स्वभाविक हो ।   

हुन त, आफूले कमाएको सम्पत्ति जसलाई दिन मन लाग्छ, उसैलाई दिन सकिन्छ । कति बा–आमाले यस्तो गरेका पनि छन् । तर, नेपालको कानुनले छोरालाई यति बलियो बनाएको छ कि छोराले पृथ्वीमा पाइला टेक्नेबित्तिकै आफ्नो बाबुको अंशियार दाबी गर्ने हक दिलाएको छ । आफ्नो सम्पत्ति छोरालाई दिन चाहे÷नचाहे पनि वा छोराले हेरे/नहेरे पनि कानुनले छोरालाई जन्मनेबित्तिकै बाबुको सम्पत्तिको अंशियार हुन सक्ने व्यवस्था गरेको हुँदा बा–आमा जिउँदो छँदै मलाई अंश चाहियो भनेर मुद्दा दायर गर्ने छोराको संख्यामा पनि कहाँ कमी छ र हाम्रो समाजमा ?

समाजमा एउटा कथन छ, ‘छोरा अंश हो भने छोरी वंश ।’ सायद बाबुको अंश खाने भएरै यस्तो भनाइ रहेको होला । अंश खाने छोराले बा–आमाको लागि माया मात्र गरिदिए हुने नि ? एकवचन मात्र मिठो बोलिदिए हुने नि । यस्तो बा–आमालाई लाग्नु स्वभाविक हो । तर, यस्तो व्याबहारमा हुन सकेको छैन । कतिपय वृद्ध बा–आमाहरू आफ्नै छोराबाट दुव्र्यवहार भोगिरहन बाध्य छन् । वृद्ध बा–आमा भने यही दुव्र्यवहार गर्ने छोरालाई आफ्नो मान ठान्छन्, भाग्य ठान्छन् अनि प्रेम ठान्छन् र भएभरको सम्पत्ति साँचेर राखिदिने गर्छन् । आफू बिरामी पर्दा समेत सम्पत्ति खर्चिन चाहँदैनन् ।

२०५८ सालअघिसम्म पैत्रिक सम्पत्तिमाथि छोराको एकलौटी अधिकार कायम थियो । छोरीको सवालमा ३५ वर्ष विवाह नगरेकाले बाबुको सम्पत्तिको अंशियार बन्न पाउने प्रावधान थियो । २०५८ सालमा आएर मुलुकी ऐनलाई संशोधन गरी छोरीलाई पहिलो पल्ट अंशको हकदार बनाइएको त छ । तर, यो व्यवस्था अविवाहित छोरीको हकमा मात्र लागू हुन सक्थ्यो । यदि बाबुको अंश लिइसकेको भए विवाहपछि फिर्ता गर्नुपर्ने प्रावधानले गर्दा कुनै पनि छोरीले यो झन्झटिलो प्रक्रिया गर्नै चाहेनन् । त्यसपछि २०६३ सालको संशोधनले विवाहपछि सम्पत्ति फर्काउन नपर्ने बनायो । यसको मतलब छोरी पनि बाबुको सम्पत्तिको हकदार बन्न सक्ने भए । तर, यसको व्यवहारमा खासै कार्यान्वयन आएको सुनिँदैन । ०७२ सालको संशोधनले विवाहित छोरीलाई बाबुको सम्पत्तिमा अंशियार बनायो । ०७४ सालमा आएर बाबुको पैत्रिक सम्पत्ति इच्छापत्र प्रणालीमा जाने कुरा आयो । यसको मतलव बा–आमाको सम्पत्ति जसलाई दिन मनलाग्छ– उसैलाई दिन सक्छन् । कसैले दाबी गर्न पाउँदैनन् । बा–आमाको सम्पत्तिमाथि छोराछोरीको बराबरी हक लाग्ने गरी कुरा टुंगिएको भए पनि व्यवहारमा भने यस्तो हुन सकेको छैन । घरका छोराहरू नै बाबुको अंशको हकदार हुने गरेका छन् । 

हाम्रो जस्तो समाजमा दाजुभाइ छँदाछँदै कुनचाहिँ छोरीले बाबुको पैत्रिक सम्पत्तिमाथि दावा गर्लिन् ? हामी सहजै अनुमान गर्न सक्छौं । एक त धेरै दिदी–बहिनीहरूलाई कानुनमा यस्तो व्यवस्था छ है भन्ने कुराको ज्ञानको कमी रहेको पाइन्छ । अर्को दाजुभाइसँगको सम्बन्ध बिग्रेला भन्ने डर पनि छ । यहाँसम्म देखिएको छ की बा–आमाको सम्पत्ति अंशवण्डा गर्दा दिदीबहिनीलाई थाहा समेत नदिने गरेका घटना छन् । बाचुन्जेल बोझ लाग्ने, बा–आमा घिन लाग्ने, बा–आमाको सास समेत गन्हाउने तर त्यही बा–आमाले कमाएको सम्पत्ति हरहर्ती बासना आउने हुन्छ अनि एउटा लठ्ठी पनि भाँची–भाँची अंशवण्डा गर्ने छोराहरू पनि यही समाजभित्र छन् । बोल्न नसक्ने, हिँड्न नसक्ने वृद्ध बा–आमालाई हात समाइ–समाइ औंठाछाप लाएर सम्पत्ति आफ्नो नाममा पार्ने छोरा नभएका कहाँ हुन् र ? आखिर यही पैत्रिक सम्पत्तिकै कारण दाजुभाइबीच पानी बाराबार हुनेगरी सम्बन्ध बिग्रिएका पनि छन् ।

अचम्मलाग्दो कुरा त के छ भने छोरा, बाबुको घरमा जन्मेपछि नमरुन्जेल ऊ बाबुकै सामीप्यतामा रहने गर्छ । कतिपय यस्ता अभिभावक पनि छन् छोरीलाई अर्काको घरमा विवाह गरेर पठाएपछि सम्पूर्ण जिम्मेवारीबाट मुक्त होइन्छ भन्ने सोच राख्नेहरू पनि छन् । यो सोच बिल्कुलै गलत हो । कतिपय छोरीचेलीलाई विवाहपछि एकदिन माइती गएर बस्नु पनि ठूलो चिज हुन जान्छ । चाडवाडमा छोरी–ज्वाइँलाई बोलाएर खुवाउँदैमा सम्पूर्ण जिम्मेवारी पूरा हुने होइन । कोही अभिभावकले अरुबेला त परै जाओस्, चाडवाडमा समेत छोरी–ज्वाइँ बोलाएर खुवाउनु पर्छ भन्ने आवश्यक ठान्दैनन् । दाजुभाइको त झनै के कुरा ? छोरीलाई दुःख, समस्या पर्दा साथ दिने माइती निकै कम मात्रामा भेटिन्छन् । मलाई दुःख पर्यो बा–आमा भनेर माइतीकहाँ भन्न गयो भने अँगालो हालेर नरोउ छोरी म साथ दिन्छु भनेर आँसु पुछिदिने कोही हुँदैनन् । 
कसैको मामलामा यो कुरा मेल नखान सक्छ । तर, छोरीलाई दुःख परेका बेला अाँसु पुछिदिने माइती नहुँदा छोरीलाई दुःख लाग्नु स्वाभाविक हुन जान्छ । जति नै अर्काको घरमा जाओस्,  जन्मदिने बा–आमालाई हेला र दुव्र्यवहार गरेको छोरीहरूले हेर्न सक्दैनन् । बाले कमाएको सम्पत्तिबाट आफूले एक टुक्रा लठ्ठी नपाए पनि, बा–आमाको दुःखमा साथ दिने छोरीहरू नै हुन् ! 

अबका दिनमा कानुनले दिएको अधिकारलाई प्रयोग गर्दै आफ्नो सम्पत्ति आफैसँग राख्ने र आफनो मृत्युपछि जस्लाई दिन मनलाग्छ उसैलाई दिन थाल्ने अभ्यास यदि वृद्ध बाआमाले शुरु गर्ने हो भने छोरा बुहारीको दुर्व्यवहारमा पर्ने संभावना कम रहन्छ । 

याे पनि

वृद्ध बा–आमाप्रति दुर्व्यवहार : जिम्मेदार छोरा कि बुहारी ?