चन्द्रयान–२ पृथ्वीको सीमानामा

चन्द्रयान–२  पृथ्वीको सीमानामा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण २२, २०७६

काठमाडौं, एजेन्सी । इसरोका वैज्ञानिकले हिजो चन्द्रयान–२ लाई पृथ्वीको सीमानामा पु्र्याएका छन् । यस अर्बिटमा आउँदो १४ अगस्टसम्म रही चन्द्रयान चन्द्रमाको यात्रामा अघि बढ्नेछ । 

इसरोका वैज्ञानिकले पाँचौ पटक चन्द्रयान–२ को मुख्ययान अर्बिटरको इन्जिन बालेर यसलाई पृथ्वीको सबैभन्दा माथिल्लो अर्बिटमा पुर्याएका छन् । 

इसरोका अनुसार ६ अगस्टको दिन दिउँसो ३ बजेर ४ मिनेटमा चन्द्रयानको इन्जिन बालेर यसलाई पृथ्वीदेखि १४२९७५ किमि माथिल्लो अर्बिटमा सफलतापूर्वक स्थापित गरिएको छ । 

१४ अगस्टसम्म यान यसै अर्बिटमा रहने छ । १४ अगस्टमा पुनः यानको इंजिन प्रज्वलित गरेर यसलाई पृथ्वीको सीमाना कटाएर चन्द्र अर्बिटतिर पठाइनेछ ।
६ लामो यात्रा तय गरेर यान २० अगस्टमा चन्द्र अर्बिटमा प्रवेश गर्नेछ । चन्द्र अर्बिट प्रवेश गरेपछि आउँदो १५ दिनसम्म अर्थात ३ सेप्टेम्बरसम्म अर्बिटबाटै चन्द्र प्रदक्षिणा गरि रहनेछ ।

३ सेप्टेम्बरका दिन चन्द्र धरातलबाट १०० किमि माथिको अर्बिटमा परिक्रमारत अवस्थामै अर्बिटर भनिने मुख्य यानबाट चन्द्रमामा अवतरण अर्को यान ल्याण्डर बिक्रम बेग्लै भई स्वतन्त्र रुपमा चन्द्र धरातल स्पर्श गर्न अघि बढ्नेछ । अर्बिटर यान भने चन्द्र अर्बिटमै रही चन्द्र परिक्रमा गरि रहनेछ । 

अन्ततः ७ सेप्टेम्बरका दिन ल्याण्डर बिक्रम चन्द्रमामा ओर्लने छ । २२ जुलाईमा पृथ्वीबाट यात्रा शुरु गरेको चन्द्रयान –२ अभियानले ४८ औं दिनमा चन्द्र धरातल छुने छ । 
इसरोका वैज्ञानिक र विज्ञानमा अभिरुचि राख्ने मानिसहरु व्यग्रताका साथ ७ सेप्टेम्बरको प्रतिक्षा गरिरहेका छन् । हिजो यान प्रक्षेपण गरेको १६ औं दिन हो । अबको ३२ औं दिनमा चन्द्रयान –२ ले चन्द्रअवतरण गर्नेछ ।