भारतद्वारा वेस्ट इण्डिज विरुद्धको टि-२० क्रिकेट शृंखला ‘क्लिन स्विप’

भारतद्वारा वेस्ट इण्डिज विरुद्धको टि-२० क्रिकेट शृंखला ‘क्लिन स्विप’

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २२, २०७६

काठमाडौं । भारतले वेस्ट इण्डिज विरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय टि-२० क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ । 

मंगलबार राति तेस्रो अन्तर्राष्ट्रिय टि-२० खेल जितेसँगै भारतले वेस्ट इण्डिज विरुद्धको शृंखला ‘क्लिन स्विप’ गरेको हो । 

उक्त खेलमा भारतले वेस्ट इण्डिजमाथि ७ विकेटको जित दर्ता गर्याे । 

१४७ रनको मध्यम लक्ष्य भारतले ५ बलअगावै तीन विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि रिसभ पन्तले सर्वाधिक ६५ रनमा नटआउट रहे । उनले ४२ बलमा चार–चार चौका र छक्का प्रहार गरे । यस्तै, कप्तान विराट कोहलीले ४५ बलमा ५९ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको स्थानमा ओपनिङको जिम्मेवारी पाएका केएल राहुलले १८ बलमा २० रनको योगदान दिए । शिखर धवनले ३ रन मात्रै जोड्न सके । मनिष पाण्डेमा २ रनमा अभिजित रहे ।  

वेस्ट इण्डिजका ओसाने थोमसले २ तथा फाबियन ऐलेनले १ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार पारेको थियो । वेस्ट इण्डिजका लागि क्यारोन पोलार्डले सर्वाधिक ५८ रन जोडे । उनले ४५ बलमा १ चौका र ६ छक्का प्रहार गरे । यस्तै, निकोलस पुरनले १७ र इभन लुइस तथा कार्लाेस बे्रथवेटले समान १० अंक जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । रोभम्यान पावेलले ३२ रनमा अभिजित रहे । 

भारतका दीपक चहरले सर्वाधिक तीन विकेट लिए । उनले सुरुका तीन ब्याट्सम्यानको विकेट लिए । यस्तै, नवदीप सैनीले २ र राहुल चहरले १ विकेट लिए । 

खेलको प्लेअर अफ द म्याच दीपक चहर घोषित भए । 

यसअघि भारतले शृंखलाको पहिलो खेल चार विकेटले जितेको थियो भने दोस्रो खेल २२ रनले जितेको थियो । 

प्लेअर अफ द सिरिज भने कुर्णाल पाण्ड्या घोषित भए ।